+
+
Shares

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २१:०१

९ असार, काठमाडौं । गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएपछि भरतपुरस्थित एक होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ लाई नगद जरिवानासहित कारबाही गरेको हो ।

प्राप्त जनगुनासोका आधारमा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको निरीक्षण टोलीले उक्त होटलमा आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा होटलले गुणस्तरहीन खानेतेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको फेला परेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

गृहमन्त्री सुधन गुरुङले आज बिहानमात्रै उक्त होटलमा खाजा खानका लागि गएका थिए । सो क्रममा उनले खाएको अम्लेटमा माछाको काँडा भेटिएको थियो ।

होटलको यो लापरबाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) विपरीतको कसुर ठहरिएको प्रशासनले जनाएको छ ।

सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयानुसार होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको हो ।

कारबाहीका साथै अनुगमन टोलीले होटलबाट बरामद गरेका सम्पूर्ण अखाद्य सामग्रीहरू समेत तत्काल नष्ट गरेको प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिएका छन् ।

यही होटलबाट मंगलबार गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?