१० असार, काठमाडौं । संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेसन (आईएमओ) ले स्ट्रेट अफ होर्मुज समुद्री क्षेत्रमा फसेका करिब ११ हजार सीफेयरर्स अर्थात् नाविकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने काम सुरु गरिएको जनाएको छ ।
यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र शिपिङ कम्पनीहरूको सहयोगमा सञ्चालन गरिनेछ । यस क्रममा जहाजहरू स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिनेछ ।
कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्वीटजरल्याण्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि स्ट्रेट अफ होर्मुजको बाटो खुला भएको छ ।
स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउनुका साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ । अमेरिकाका यी निर्णयबाट दुई देशबीचको तनाव केही कम भएको संकेत देखिएको छ ।
अमेरिकी विदेशमन्त्री खाडी देशको भ्रमणमा
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो खाडी देशहरूको भ्रमणमा पुगेका छन् । अमेरिका–इरान सम्झौता कार्यान्वयन हुनेमा शंका व्यक्त गरिरहेका देशहरुलाई स्पष्ट पार्ने उद्देश्यले उनी खाडी देशहरुको भ्रमणमा गएका हुन् ।
रिपोर्टअनुसार यूएई, बहराइन र कुवेतलाई उक्त सम्झौताका केही बुँदामा चिन्ता छ । सम्झौताले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानको प्रभाव अझ बढाउन सक्ने आशंका छ । साथै, सम्झौतामा इरानको मिसाइल कार्यक्रमबारे कुनै स्पष्ट शर्त नराखिएकोमा पनि उनीहरूको चासो छ ।
यसका साथै इरानको पुनर्निर्माणका लागि प्रस्ताव गरिएको ३०० अर्ब अमेरिकी डलर (करिब २८ लाख करोड रुपैयाँ) को कोषमा खाडी देशहरूको सहयोग मागिने सम्भावना रहेको छ । यस्तो अवस्थामा अमेरिका ती देशहरूलाई विश्वास दिलाउन र सम्झौताको समर्थनमा सहमत गराउन प्रयासरत छ ।
प्रतिक्रिया 4