११ असार, अर्घाखाँची । र्घाखाँचीका सबै ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन्।
६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन्। बजेटमा कृषि पशुपालन पर्यटन सुशासन जस्ता विषय प्राथमिकतामा राखेका छन्।
शिक्षा र स्वास्थ्य र रोजगारीका कारण धेरै मानिसहरु बसाईसराई गरेको भन्दै यसलाई रोक्न कृषि पशुपालन पर्यटन तथा विभिन्न स्वरोजगारबाट आयार्जन वृद्धि गरी युवाहरुलाई स्वदेशमै अर्थात् आफ्नै ठाउँमा केही गर्न सहज हुने खालका बजेट विनियोजन गरेका छन्।
सन्धिखर्क नगरपालिकाको ८६ करोड ४५ लाख २५ हजारको बजेट
अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले ८६ करोड ४५ लाख २५ हजारको बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा उपप्रमुख मिश्रा आचार्यले आगामी वर्षको लागि ८६ करोड ४५ लाख २५ हजारको बजेट प्रस्तुत गरेकी छिन् ।
राजश्व र व्ययको वार्षिक अनुमान (बजेट), विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ सभामा पेश भई त्यसमाथि विस्तृत छलफल सम्पन्न भएको छ ।
नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण तथा सुशासनलाई केन्द्रमा राखेर वजेट विनियोजन गरेको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।
वित्तीय अनुशासन, पारदर्शिता, करदाता मैत्री राजस्व प्रशासन र शून्य बेरुजु अभियानलाई उच्च प्राथमिकता दिइएको छ। राजस्व प्रणालीलाई पूर्ण रूपमा सूचना प्रविधिमा आबद्ध गर्दै कर प्रशासनलाई अझ सरल, पारदर्शी र प्रभावकारी बनाइने नगरपालिकाको योजना छ।
सन्धिखर्कका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई आर्थिक विकाससँग जोड्ने लक्ष्यसहित पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ। सुपादेउराली, खाँची दरबार, अर्घा भगवती, मथुराधाम, जालकाँडा रक गार्डेन लगायतका गन्तव्यलाई जोडेर ‘पर्यटन सर्किट’ निर्माण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत प्रमाेद खनालले जानकारी दिए ।
सुपादेउराली मन्दिर क्षेत्रको सौन्दर्यीकरण, पार्किङ व्यवस्थापन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। साथै, पोखेडाँडा होमस्टे लगायत समुदायमा आधारित पर्यटन प्रवर्द्धन, ट्रेकिङ रुटको पहिचान, जीपीएस ट्र्याकिङ तथा गुगल म्यापमा आबद्ध गर्ने योजना समेत समावेश गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
शीतगंगाको ९६ करोड बढी बजेट प्रस्तुत
अर्घाखाँचीको शितगंगा नगरपालिका ले आगामी आर्थिक वर्षका लागि ९६ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख गीता भाटले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
नगर प्रमुख छविलाल पाैडेलले बजेटमार्फत सडक स्तरोन्नति, कृषि उत्पादन वृद्धि, सामाजिक सुरक्षा तथा युवा लक्षित कार्यक्रम सञ्चालन गरिने बताए ।
नगरपालिकाले समावेशी विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
भूमिकास्थानको ८५ करोड ९६ लाख ७ हजार रुपैयाँको बजेट
भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८५ करोड ९६ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार सम्पन्न १९औं नगरसभाबाट पारित बजेटमा संघीय सरकारको सशर्त अनुदानतर्फ ३५ करोड २५ लाख, प्रदेश सरकारको सशर्त अनुदानतर्फ १ करोड १० लाख र प्रशासनिक खर्चतर्फ १२ करोड ५२ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बताएका छन् ।
कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य, महिला तथा लक्षित वर्ग, उद्योग-पर्यटन लगायत विभिन्न शाखाका कार्यक्रमका लागि पनि बजेट छुट्याइएको पालिकाले जनाएको छ। नगर योजना तथा कार्यक्रमतर्फ १० करोड १० लाख १० हजार, वडा योजना तथा कार्यक्रमतर्फ १ करोड ८० लाख तथा सामाजिक सुरक्षा र ज्येष्ठ नागरिक सेवा कार्यक्रमका लागि १८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले बताए ।
छत्रदेवले सार्वजनिक गर्यो ५३ करोड ६६ लाखको बजेट
छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशनमा उपाध्यक्ष मनि पन्थीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताइन्।
प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ११ लाख रुपैयाँ, सशर्त अनुदान २७ करोड रुपैयाँ, समपूरक अनुदान ७० लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ तथा राजस्व बाँडफाँटबाट ८ करोड ६७ लाख ३४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी संघीय सरकारबाट प्राप्त हुने कुल अनुदान ४७ करोड ४८ लाख ३४ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख रुपैयाँ, सशर्त अनुदान १५ लाख रुपैयाँ, विशेष अनुदान २१ लाख रुपैयाँ, समपूरक अनुदान ७५ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख ८७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट प्राप्त हुने कुल अनुदान ३ करोड ४६ लाख ८७ हजार रुपैयाँ रहेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।
उपाध्यक्ष पन्थीले प्रस्तुत गर्नुभएको बजेटमा स्थानीय उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। साथै सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई बजेटको मुख्य आधार बनाइएको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताएका छन् ।
पाणिनीको ७१ करोड ३७ लाख २४ हजार
पाणिनी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७१ करोड ३७ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेकाे उपाध्यक्ष नर्मदा पौडेलले बताइन् ।
बजेटमा बहुप्रतीक्षित १५ शैय्याको अस्पताल सञ्चालनलाई विशेष प्राथमिकता दिइएको छ। यसबाट स्थानीय नागरिकले गाउँपालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यस्तै, कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने कार्यक्रमहरू पनि बजेटमा समेटिएका छन्।
पाणिनीलाई दुग्ध तथा दुग्धजन्य उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ‘दूध र दुग्धजन्य हब’ निर्माण कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। यसले स्थानीय पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए ।
शिक्षा क्षेत्रतर्फ विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘बिग स्कुल’ अवधारणा र स्मार्ट कक्षा सञ्चालनलाई बजेटमा समावेश गरिएको छ। आधुनिक प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाणिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा पर्यटकीय गन्तव्य विकासका कार्यक्रमहरू पनि बजेटमा समेटिएको अध्यक्ष टेकराज न्यौपानेले बताए ।
मालारानीको ६२ करोड २२ लाख २२ हजार बजेट
मालारानी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३।०८४ को लागी ६२ करोड २२ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।
गाउँसभामा उपाध्यक्ष दीपा पोखरेलले ८२ करोड ६२ करोड २२ लाख २२ हजारको बजेट प्रस्तुत गरिन् । कृषि पशुपालन पर्यटन लाई मुख्य केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया 4