११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्नेगरी तयारी अघि बढेको छ ।
नेता मनिष झाले दिएको जानकारी अनुसार, केहीबेर अघि पहिलो चरण अन्तर्गत केन्द्रीय सदस्यहरूको मतदान सकिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार, एउटा बुथबाट करिब ३१० मत खसेको छ । करिब ८० वटा बुथबाट ३१०० मत खसेको जानकारी आयोगबाट आएको उनले बताए ।
‘एउटा स्टेशनको आठ वटा सबस्टेशन गरेर ८० वटा बुथ बनाइएको थियो । औसतमा ३१० जति खसेको छ एउटा स्टेशनबाट । करिब ३१०० जति उहाँहरूले निकाल्नुभएको छ,’ झाले भने ।
जति उपस्थिति र उत्साह देखिएको छ त्यसलाई पार्टीले उत्साहजनक रुपमा लिएको पनि उनले बताए ।
साथै, पदाधिकारीका लागि दोस्रो चरणको तयारी अघि बढाउन सभापति रवि लामिछानेले निर्देशन दिएको उनले बताए । दिउँसो ४ बजेसम्म दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने उनले बताए ।
‘दोस्रो चरणको तयारी अघि बढाएका छौं । ४ बजेतिर हामीले त्यसलाई अघि सार्दैछौं,’ उनले भने ।
खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने उनले बताए ।
‘एक जनाले ४ देखि ५ मिनेटमा मतदान सकाउन सक्छौं भन्ने निर्वाचन आयोगको कुरा छ । त्यो अनुसार, दोस्रो चरणको निर्वाचनको प्रक्रियाको तयारी थाल्नुस् भनेर निर्देशन दिएर जानुभएको छ,’ झाले जानकारी दिए ।
प्रतिक्रिया 4