काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ मञ्चन गरिएको छ ।
नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते)नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक मञ्चन गरिएको हो ।
विशेषगरी नेपाली समाजमा अझैपनि चुनौतीको रूपमा रहेका बालविवाह, लागूपदार्थ दुव्र्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको थियो ।
सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिएको यस नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नाटक हेरिसकेपछि आफ्नो प्रतिक्रिया राख्दै जनक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिहर अधिकारीले नाटक अत्यन्तै समयसापेक्ष रहेको बताए ।

उनले भने, ‘नाटक ‘सहीछाप’ एकदमै जनचेतनामूलक र समयसान्दर्भिक छ। अहिले हाम्रो समाजमा व्याप्त रहेको बालविवाह र सामाजिक घटनालाई यसमा उत्कृष्ट ढङ्गले समेटिएको छ। नाटक अभिभावक, विद्यार्थी र शिक्षकहरू सबैले हेर्नैपर्ने खालको बनेको छ ।’
नाटकको औचित्यमाथि प्रकाश पार्दै नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नाटक प्रदर्शन गर्नुको मुख्य कारण प्रष्ट्याए ।
‘अझै पनि नमोबुद्ध नगरपालिकाभित्र बालविवाह व्याप्त छ, अभिभावकको हालत नाटकमा देखाइएजस्तै छ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग र यसले निम्त्याउन सक्ने दुर्घटनाहरूका बारेमा जनचेतना जगाउन आवश्यक रहेकाले हामीले यो नाटक देखाएका हौँ,’ उनले भने ।
‘आदिइत्यादि’ को प्रस्तुति रहेको यस नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’ का रूपमा परिचित चर्चित कलाकार कमलमणि नेपाल, ‘गौरी’ का रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल र अञ्जु खड्का लगायतका कलाकारहरूले अभिनय प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया 4