+
+
Shares
फेसनमा मितव्यायी पुस्ता :

जेनजीको रोजाइमा किन पर्दैछ सेकेन्डह्यान्ड कपडा ?

अहिलेको पुस्ताले फेसनलाई प्रतिस्पर्धाको विषयभन्दा सिर्जनात्मक अभिव्यक्तिको माध्यमका रूपमा लिन थालेको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ असार १२ गते १३:०६

फेसनले दुई पुस्तालाई दुई कित्तामा बाँडेको छ । मिलेनियल्स र जेनजी । अघिल्लो पुस्ताले फेसनलाई जसरी विलासी उपभोग गरे, जेनजीमा त्यो आशक्ति देखिँदैन ।

यिनीहरू बरू स्वच्छन्द छन् र मितव्यायी पनि । यसलाई मापन गर्ने तीन कुरा छन् । एक, सेकेन्ड ह्यान्ड पहिरनमा उनीहरूको रुचि । दुई, युनिसेक्स पहिरनको प्रयोग । तीन, ओभरसाइज र सादा ।

तपाईं काठमाडौंका पसल चाहर्नुहोस् न, यहाँ थ्रिफ्ट कपडा पसलको लोकप्रियता ह्वात्तै बढेको छ ।

सामाजिक सञ्जालको प्रभाव, बदलिँदो उपभोग संस्कृति र वातावरणीय चेतनासँगै थ्रिफ्टिङ अर्थात् सेकेन्डह्यान्ड कपडाको खरिद–बिक्री जेनजी पुस्तामाझ फेसनको महत्वपूर्ण हिस्सा बनेको छ ।

आजका युवाहरू फेसनमा केवल महँगो ब्रान्ड खोजिरहेका छैनन् । उनीहरू आफ्नै पहिचान, सहजता, किफायतीपन र दिगोपनलाई महत्व दिन थालेका छन् । यही कारण अहिले नेपालमा पनि थ्रिफ्ट स्टोरहरूको संख्या बढ्दो छ र सेकेन्डह्यान्ड कपडाको बजार विस्तार हुँदै गएको छ ।

फेसनको अर्थ फेरिँदै

पहिले फेसनलाई नयाँ कपडा, महँगा ब्रान्ड र चम्किलो देखावटसँग जोडेर हेरिन्थ्यो । अहिलेको जेनजी पुस्ताले भने फेसनलाई आत्मअभिव्यक्तिको माध्यमका रूपमा बुझ्न थालेको छ ।

काठमाडौं बाँसबारीस्थित विश्व शान्ति चिरण मिलन क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत छात्र गौरव पोखरेलका अनुसार अहिलेका युवाहरू अरूले के लगाइरहेका छन् भन्नेभन्दा आफूलाई के सुहाउँछ भन्नेमा बढी केन्द्रित छन् ।

उनका अनुसार अहिलेको पुस्ताले फेसनलाई केवल ट्रेन्ड पछ्याउने विषयका रूपमा नभई आफ्नै व्यक्तित्व प्रस्तुत गर्ने माध्यमका रूपमा लिएको छ । त्यसैले उनीहरू एउटै ब्रान्ड वा शैलीमा सीमित नबसी विभिन्न प्रयोग गर्न रुचाउँछन् ।

सामाजिक सञ्जालमा विश्वभरका फेसन ट्रेन्ड सहजै देख्न पाइने भएकाले नेपाली युवाहरू पनि अन्तर्राष्ट्रिय फेसनसँग जोडिएका छन् । तर उनीहरू अन्धाधुन्ध ट्रेन्ड पछ्याउनु भन्दा त्यसलाई आफ्नै शैलीमा ढाल्न चाहन्छन् ।

थ्रिफ्टिङ : कम खर्चमा फरक पहिचान

नेपालमा थ्रिफ्टिङ संस्कृतिलाई स्थापित गर्नेमध्येकी एक प्रथा बस्नेतले थ्रिफ्ट स्टोर सुरु गर्दा यो अवधारणा निकै सीमित थियो । अहिले भने थ्रिफ्टिङ फेसन संस्कृतिको हिस्सा बनिसकेको छ ।

बस्नेतका अनुसार ग्राहकहरू विशेषगरी राम्रो गुणस्तरका, कम प्रयोग भएका ब्रान्डेड कपडा र भिन्टेज शैलीका वस्तु खोज्दै थ्रिफ्ट पसलमा आउने गर्छन्।

‘अहिले युवा पुस्तामा थ्रिफ्टिङ निकै लोकप्रिय बनेको छ,’ उनी भन्छिन्, ‘धेरै ग्राहकहरू अनलाइनमार्फत आउँछन् र उनीहरू फरक तथा युनिक डिजाइन खोजिरहेका हुन्छन् ।’

उनका अनुसार पार्टी वेयर र क्याजुअल कपडाको बिक्री सबैभन्दा बढी हुन्छ । यसबाहेक साडी, डिजाइनर पहिरन तथा ब्रान्डेड ब्यागहरूको थ्रिफ्टिङ पनि लोकप्रिय बन्दै गएको छ ।

थ्रिफ्टिङले युवाहरूलाई सीमित बजेटमा पनि आफूले चाहेको शैली अपनाउने अवसर दिएको छ । यही कारण जेनजी पुस्ताले यसलाई फेसनको महत्वपूर्ण विकल्पका रूपमा स्वीकार गर्न थालेको छ ।

‘एक पटक लगाउने, फोटो खिच्ने र बेच्ने’ नयाँ संस्कृति

सामाजिक सञ्जालले फेसनको उपभोग शैलीलाई पनि परिवर्तन गरेको छ । विशेषगरी इन्स्टाग्राम, टिकटक र फेसबुकका कारण युवाहरूमा नयाँ पहिरन प्रदर्शन गर्ने चाहना बढेको छ ।

तर हरेक कार्यक्रममा नयाँ कपडा किनिरहनु आर्थिक रूपमा सम्भव हुँदैन । यही कारण अहिले धेरै युवतीहरूले विशेष अवसरका लागि कपडा किन्ने, फोटो वा भिडियो खिच्ने र त्यसपछि पुनः बिक्री गर्ने अभ्यास अपनाउन थालेका छन् ।

प्रथा बस्नेतका अनुसार अहिले थ्रिफ्ट स्टोरमा किन्न र बेच्न दुवैका लागि जेनजी पुस्ताको उपस्थिति उल्लेख्य छ । यसले एउटै कपडाको आयु बढाउनुका साथै खर्च कम गर्न पनि मद्दत गरिरहेको छ ।

जेनजी फेसनमा सहजता र कम्फर्ट पहिलो रोजाइ

न्यू मिलेनियम कलेज, सुकेधारामा कक्षा १२ मा पढ्दै गरेकी मेलिना थापाका अनुसार अहिलेको पुस्ताले सुन्दर देखिनुभन्दा पहिले सहज महसुस गर्न सकिने कपडा रोज्छ । उनका अनुसार ओभरसाइज्ड टिसर्ट, ब्यागी जिन्स, कार्गो पाइन्ट, लुज फिटिङका पहिरन, स्निकर्स तथा मिनिमल डिजाइनका कपडा जेनजी पुस्तामाझ लोकप्रिय छन् ।

‘पहिले फेसनका लागि असहज कपडा पनि लगाउने चलन थियो,’ उनी भन्छिन्, ‘तर अहिलेको पुस्ता कम्फर्टलाई पहिलो प्राथमिकता दिन्छ ।’

मेलिनाका अनुसार अहिले युवाहरूले एउटै कपडालाई विभिन्न तरिकाले प्रयोग गर्न सकिने बहुउपयोगी शैली रुचाउँछन् । उनीहरू ट्रेन्डभन्दा पनि आफूलाई सहज लाग्ने फेसनमा विश्वास गर्छन् ।

सामाजिक सञ्जालले बदल्यो धारणा

‘थ्रिफ्ट बाइ कुस’ की सञ्चालक कुसुम केसीका अनुसार केही वर्षअघिसम्म थ्रिफ्ट स्टोरबाट सामान किनेको कुरा सार्वजनिक गर्न मानिसहरू हिच्किचाउँथे।

‘पहिले सेकेन्डह्यान्ड सामान प्रयोग गर्नु नकारात्मक रूपमा हेरिन्थ्यो,’ उनी भन्छिन्, ‘तर अहिले सामाजिक सञ्जालले थ्रिफ्टिङलाई ‘कुल’ बनाइदिएको छ।’

उनका अनुसार विदेशी इन्फ्लुएन्सर, फेसन कन्टेन्ट क्रिएटर र टिकटकका भिडियोहरूले युवाहरूमा थ्रिफ्टिङप्रति सकारात्मक धारणा विकास गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

युवाहरू कम बजेटमा स्टाइलिस देखिन सकिने, बजारमा सहजै नपाइने डिजाइन भेट्न सकिने तथा आफ्नै फेसन पहिचान बनाउन सकिने भएकाले थ्रिफ्टिङप्रति आकर्षित भएका छन् ।

फास्ट फेसनबाट दिगो फेसनतर्फ

फेसन डिजाइनर दिलमाया मगरका अनुसार अहिले विश्वव्यापी रूपमा फास्ट फेसनको असरबारे बहस बढिरहेको छ । उनका अनुसार अत्यधिक उत्पादन र अत्यधिक उपभोगले वातावरणमा ठूलो असर पुर्‍याइरहेको छ । त्यसैले नयाँ पुस्ता दिगो फेसनतर्फ आकर्षित हुन थालेको छ ।

मगर भन्छिन्, ‘अहिलेका युवाहरू केवल राम्रो देखिने कपडा मात्र खोजिरहेका छैनन् । कपडा कसरी बनेको हो, यसको वातावरणीय प्रभाव कस्तो छ र त्यसको पुनः प्रयोग सम्भव छ कि छैन भन्ने कुरामा पनि चासो दिन थालेका छन् ।’

उनका अनुसार थ्रिफ्टिङले कपडाको जीवनचक्र लम्ब्याउँछ, फोहोर घटाउँछ र नयाँ उत्पादनको आवश्यकता कम गराउँछ । यही कारण यसलाई दिगो फेसनको महत्वपूर्ण अभ्यासका रूपमा हेरिन्छ ।

उनी थप्छिन्, ‘भिन्टेज र सेकेन्डह्यान्ड कपडामा युनिकनेस हुन्छ । धेरै युवाहरू अरूले लगाएको जस्तै होइन, फरक देखिन चाहन्छन् । थ्रिफ्टिङले त्यो अवसर पनि दिन्छ ।’

कपडा होइन, सोचको परिवर्तन

थ्रिफ्टिङ केवल सेकेन्डह्यान्ड कपडा किन्ने विषय होइन । यो उपभोग गर्ने तरिकामा आएको परिवर्तनको संकेत पनि हो । थ्रीफ्ट बाइ कुसकी सञ्चालक कुसुम केसीका अनुसार थ्रिफ्टिङ कपडासम्म सीमित छैन । फर्निचर, ब्याग, गाडी वा अन्य प्रयोगयोग्य सामग्रीको पुनः प्रयोगसँग पनि यसको सम्बन्ध छ ।

‘प्रयोग गर्न मिल्ने वस्तु फाल्नु भन्दा पुनः प्रयोगमा ल्याउनु दिगो जीवनशैलीको हिस्सा हो,’ उनी भन्छिन् ।

ब्रान्ड होइन, व्यक्तित्वको खोजी

जेनजी पुस्ताको फेसन रोजाइ हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ उनीहरू ब्रान्ड प्रदर्शनभन्दा व्यक्तिगत पहिचान निर्माणमा बढी विश्वास गर्छन् । गौरव पोखरेलका अनुसार अहिलेका युवाहरू फेसनमार्फत आफू को हुँ भन्ने कुरा व्यक्त गर्न चाहन्छन् । त्यसैले उनीहरू एउटै ट्रेन्डको पछि दौडनुभन्दा आफ्नो रुचिअनुसार मिश्रित शैली अपनाउँछन् ।

मेलिना थापाका अनुसार पनि अहिलेको पुस्ताले फेसनलाई प्रतिस्पर्धाको विषयभन्दा सिर्जनात्मक अभिव्यक्तिको माध्यमका रूपमा लिन थालेको छ । नेपालमा थ्रिफ्टिङको बढ्दो लोकप्रियता केवल फेसन ट्रेन्डको परिवर्तन होइन, सोच र जीवनशैलीमा आएको परिवर्तनको संकेत हो ।

सामाजिक सञ्जालको प्रभाव, सीमित बजेट, वातावरणीय चेतना, व्यक्तिगत शैलीप्रतिको आकर्षण र सहजताको खोजीले जेनजी पुस्तालाई सेकेन्डह्यान्ड कपडातर्फ आकर्षित गरिरहेको छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?