+
+
Shares

एक विवश आमा : छोराछोरी सिकिस्त छन्, अस्पताल लैजाने पैसा छैन

रोग, भोक र निराशाले थिचिएकी माया कहिले छोरीको निधार सुम्सुम्याउँछिन् त कहिले छोराको अनुहार एकटकले हेर्छिन् । आँखैअघि दुई सन्तान विस्तारै शिथिल हुँदै गएका छन् । तर उनीसँग छोराछोरीलाई अस्पताल पुर्‍याउने पैसासमेत छैन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असार १२ गते २२:००

१२ असार, काठमाडौं । टिनले छाएको साँघुरो टहरा । छाना तातेर उकुसमुकुस टहराको भुइँमा ओछ्याइएको छ, मटमैलो पातलो डसना । त्यही डसनामाथि लमतन्न छन् दुई सन्तान ।

ललितपुरको बुङमती बसपार्क नजिकैको टहरामा आफ्ना सिकिस्त बिरामी छोराछोरी कुरेर बसेकी छिन्, सर्लाहीकी माया माझिनी ।

रोग, भोक र निराशाले थिचिएकी माया कहिले छोरीको निधार सुम्सुम्याउँछिन् त कहिले छोराको अनुहार एकटकले हेर्छिन् । आँखैअघि दुई सन्तान विस्तारै मृत्युशैय्यातिर धकेलिँदै छन् । तर उनीसँग छोराछोरीलाई अस्पताल पुर्‍याउने पैसासमेत छैन ।

एउटा ओछ्यानमा २४ वर्षीया छोरी शर्मिला कुसुवार क्यान्सरसँग जुधिरहेकी छन् । अर्को कुनामा बोनम्यारोसम्बन्धी गम्भीर रोगले थलिएका १० वर्षीय छोरा संगीत कुसुवार छन् । दुवैलाई तत्काल उपचार आवश्यक छ । तर उनका लागि उपचारभन्दा ठूलो रोग गरिबी बनेको छ ।

हरेक बिहान माया अरूको घरमा भाँडा माझ्न, लुगा धुन र सरसफाइ गर्न निस्किन्छिन् । बेलुका थाकेको शरीर लिएर घर फर्किँदा उनको दिन सकिँदैन, बरु अर्को संघर्ष सुरु हुन्छ ।

फर्किँदा छोरीको अनुहार झन् मलिन भइसकेको हुन्छ । छोराको शरीर कमजोरीले गलेको हुन्छ । दिनभर कमाएको ज्यालाले पेट पाल्न पनि मुस्किल पर्छ । उपचारको खर्च जुटाउने कल्पना त टाढाको कुरा ।

मायाका श्रीमान् पनि ज्यालादारी गर्छन् । काम पाएको दिन मात्रै घरमा केही पैसा भित्रिन्छ । नत्र चुलो बल्ने/नबल्ने निश्चित हुँदैन ।

‘राति छोरी पोल्यो भनेर कराउँछे । निदाउनै सक्दिनँ । म आफैँ पनि रुन्छु । तर कसलाई सुनाउँ ? मनको पीडा कसैले बुझ्दैन,’ यति भन्दै गर्दा मायाको गला अवरुद्ध हुन्छ । शब्दहरू रोकिन्छन्, आँसु बरबर खस्छ ।

उपचार बीचमै रोकियो, क्यान्सर शरीरभरि फैलियो

शर्मिलाको पीडा तीन वर्षअघि सामान्य घुँडाको दुखाइबाट सुरु भएको थियो । सुरुमा विभिन्न अस्पतालमा जाँदा युरिक एसिड भएको भनियो । तर रोग बढ्दै गएपछि मात्रै वास्तविकता थाहा भयो– उनी क्यान्सरबाट ग्रस्त भइसकेकी रहिछिन् ।

त्यसपछि किमोथेरापी सुरु भयो । चिकित्सकले ८ चक्र किमोथेरापी गर्नुपर्ने बताएका थिए । परिवारले ऋण खोज्यो, आफन्तसँग हात फैलायो, सकेजति खर्च जुटायो । तर चार चक्रमै पैसा सकियो । उपचार रोकियो ।

उपचार रोकिएसँगै रोग बढ्यो । क्यान्सरका कारण पाटन अस्पतालमा उनको देब्रे खुट्टा काटियो । अहिले क्यान्सर टाउको, छाती र शरीरका विभिन्न भागमा फैलिएको छ । गाँठागुठी बढिरहेका छन् । रातभर शरीर पोल्ने पीडाले उनी निदाउन सक्दिनन् । एक सातादेखि राम्रोसँग खानासमेत खान सकेकी छैनन् । कहिलेकाहीँ एक गिलास दूध वा केही टुक्रा फल नै उनको दिनभरको आहार बन्ने गरेको छ ।

‘डाक्टरले ८ पटक किमोथेरापी गर्नुपर्छ भन्नुभएको थियो । चार पटकसम्म गरायौँ । त्यसपछि पैसा सकियो । उपचार पनि रोकियो । अहिले छोरीको अवस्था दिनदिनै बिग्रिँदै गएको छ,’ मायाले सुस्केरा हालिन् ।

मायाकी छोरी शर्मिलाको विवाह १५ वर्षको उमेरमै भएको थियो । शर्मिलाका श्रीमान् गलैँचा बुन्ने काम गर्छन् । उनका ८ वर्षकी छोरी र ६ वर्षका छोरा छन् । पीडा आफ्नो शरीरको मात्रै छैन । उनलाई आफ्नोभन्दा सन्तानको चिन्ता बढी छ ।

‘मलाई निको हुन मन छ । मेरा छोराछोरी अझै साना छन् । मलाई केही भए उनीहरूको बिचल्ली हुन्छ,’ शर्मिला भक्कानिन्छिन् ।

       

दुई वर्षदेखि अस्पताल पुग्नै सकेनन् संगीत

मायाका १० वर्षीय छोरा संगीत पनि आफ्नै पीडासँग लडिरहेका छन् । पाँच वर्षको उमेरसम्म राम्रोसँग हिँड्न नसकेपछि उनलाई परिवारले कान्ति बाल अस्पताल पुर्‍याइयो । परीक्षणपछि चिकित्सकले बोनम्यारोसँग सम्बन्धित गम्भीर समस्या रहेको बताए ।

उनलाई विशेष उपचार आवश्यक छ । तर दुई वर्ष यता उनी अस्पताल पुग्नै सकेका छैनन् ।

अहिले संगीतलाई हिँडडुल गर्न कठिन छ । बसेको ठाउँबाट उठ्न सक्दैनन् । केही पाइला हिँड्दा नै सास फेर्न गाह्रो हुन्छ । रोगले विद्यालयबाट समेत टाढा बनाएको छ ।

‘भर्‍याङ उक्लिन सक्दैन । हिँड्दा सास फेर्नै गाह्रो हुन्छ । रोग बढिरहेको छ । गरिबले उपचार पाउँदा रहेनछन्,’ माया भन्छिन् ।

त्यति भन्दै गर्दा उनको स्वर फेरि रोकिन्छ । केहीबेर मौन बस्छिन् । आँखा रसाउँछन् । अनि फेरि आफैँलाई सम्हाल्दै भन्छिन्, ‘भित्र मन कति दुखेको छ भन्ने त मलाई नै थाहा छ । रुँदै हिँड्छु । तर कतिलाई देखाउनु ? कसैले मनको कुरा बुझ्दैन ।’

मायाको जीवनमा यो नै पहिलो पीडा होइन । केही वर्ष अगाडि उनले १७ वर्षीया छोरी पनि गुमाइसकेकी छन् । उपचारमा करिब पाँच लाख रुपैयाँ खर्च भयो । ऋण लाग्यो । तर अन्ततः छोरीलाई बचाउन सकिएन ।

त्यो घाउ अझै निको भएको छैन । अहिले फेरि मायाका दुई सन्तान असाध्य रोगसँग संघर्ष गरिरहेका छन् । ‘एउटा सन्तान गुमाइसकेँ । अब यी दुईलाई पनि आँखाअघि यसरी तड्पिरहेको हेर्नुपर्दा मुटु चुँडिन्छ,’ उनी भन्छिन् ।

घरमा कमाउने मुख्य जिम्मेवारी मायाकै काँधमा छ । उनी दुई घरमा सरसफाइको काम गर्छिन् । श्रीमान्‌ले कहिलेकाहीँ ज्यालादारी पाउँछन् । दुई दिन काम पाएपछि पाँच दिन बेरोजगार बस्नुपर्ने अवस्था छ ।

एक महिनाअघि वीर अस्पतालका चिकित्सकले छोरी शर्मिलालाई किमोथेरापीका लागि बोलाएका थिए । तर उनी जान सकिनन् ।

‘एकपटक अस्पताल जाँदा २५ देखि ३० हजार रुपैयाँ लाग्छ । बिहान–बेलुका खानै मुस्किल भइरहेको बेला यतिको पैसा कहाँबाट ल्याउने ? पैसा नभई सरकारी अस्पतालले पनि उपचार गर्दैन,’ माया भन्छिन् ।

आगामी सोमबार चिकित्सकले सिटी स्क्यान गर्न बोलाएका छन् । टाउकोमा तत्काल शल्यक्रिया गर्नुपर्ने बताएका छन् । तर अस्पतालसम्म पुग्ने भाडा र उपचार खर्च जुटाउने अवस्था छैन ।

‘गरिब हुनुको सबैभन्दा ठूलो पीडा उपचार गर्न नसकेर मृत्यु कुरेर बस्नुपर्ने रहेछ,’ उनी भन्छिन् ।

रातभर पीडाले कराउँछिन्

शर्मिला अहिले माइतमै बस्दै आएकी छिन् । माया र उनका श्रीमान् काममा जाँदा बिरामी छोरा–छोरीलाई त्यही कोठामा छोडेर निस्किन बाध्य हुन्छन् ।

बेलुका फर्किएपछि मायाको अर्को ड्युटी सुरु हुन्छ । रातभर छोरी पीडाले कराउँछिन् । छोरा कमजोर शरीर लिएर आमातिर टुलुटुलु हेर्छन् । उनीहरूको पीडा कम गरिदिने कुनै औषधि, उपाय मायासँग छैन ।

‘म काम गरेर फर्किँदा धेरै थाकेको हुन्छु । तर छोरी राति २ बजेसम्म पनि सुत्दिनँ । शरीरभरि पोल्छ भनेर कराइरहन्छे । केही गर्न सक्दिनँ । उसको पीडा हेरेर मात्रै बस्नुपर्छ,’ उनी भन्छिन् ।

माया केहीबेर मौन हुन्छिन् । आँखा पुछ्छिन् । अनि फेरि एउटै वाक्य दोहोर्‍याउँछिन्, ‘पैसा भएको भए छोरीको खुट्टा काट्नुपर्ने थिएन । छोराछोरी मृत्यु शय्यामा छटपटाउनु पर्ने थिएन ।’

बुङमतीको त्यो टहरामा चार जना बस्छन्– बुबा, आमा र दुई बिरामी सन्तान । बिहान–बेलुकाको छाक टार्नै मुस्किल छ । कहिलेकाहीँ पूरै परिवार भोकै रात कटाएको छ ।

‘कहिलेकाहीँ पानी मात्रै पिएर सुतेका छौँ,’ माया दुखेसो पोख्छिन् ।

यतिबेला माया आफ्ना सन्तानलाई अस्पतालसम्म पुयाउने आधार खोजिरहेकी छन् । उपचार सुरु गर्न सकियो भने अझै केही समय छोराछोरी बचाउन सकिन्छ भन्ने विश्वास अझै त्यागेकी छैनन् ।

‘पैसा नभएर उपचार रोकिएको हो । यदि सहयोग जुट्यो भने छोराछोरी बाँच्न सक्छन् भन्ने आशा छ,’ माया भावुक हुँदै भन्छिन् ।

शर्मिला र संगीतलाई उपचारका लागि सहयोग गर्न चाहनुहुन्छ भने– सम्पर्क नम्बर ९७०६००४७३५ (माया माझिनी) 

खाता नम्बर – 05-076-05407979-01-0

फोटो र भिडियो : चन्द्र आले ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?