News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटी मर्मत सम्भार गर्ने कार्यको लुम्बिनी प्रादेशिक कार्यालयबाट सुरुवात गरेको छ।
- ‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले भने।
- प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रभावकारिताको आधारमा यस कार्यलाई सहरी क्षेत्रमा नियमित मर्मतका लागि प्रयोग गरिने जानकारी दिनुभयो।
१४ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । नेपाल विद्युत् प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आइतबारबाट चालु अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले भने ।
विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेगरी नमुना कार्यको रुपमा सुरुवात भएको उनको भनाइ छ ।

नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेसँगै विभिन्न वितरणका केन्द्र प्रमुखहरू, आयोजना प्रमुखहरुको उपस्थितिमा तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको प्रयोग गरि चालु लाइनको मर्मत कार्य गरेका थिए ।
‘हाललाई नमुनाको रुपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरि सहरी क्षेत्रको नियमित मर्मत सम्भारको कार्यमा प्रयोग गर्ने कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।
भविष्यमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरि मर्मत सम्भार कार्यको प्रयोग गरी लाइन मर्मत सम्भार गर्न सकेको खण्डमा मर्मत कार्यमा गर्नुपर्ने अनिवार्य लाइन कटौतीमा कमी आई उपभोक्ताहरुले नियमित र थप भरपर्दो विद्युत सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।
प्रतिक्रिया 4