News Summary
Generated by OK AI. Editorially reviewed.- केन पार्सन्सले १७ वर्षको उमेरमा द ब्याकरुम्स सर्ट फिल्मबाट हलिउड स्टुडियो ए २४ सँग सम्झौता गरी इतिहासकै कान्छा निर्देशक बनेका छन् ।
- उनको पहिलो फिचर फिल्मले विश्वभरबाट ३०७ मिलियन डलरभन्दा बढी कमाइ गर्दै बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
कुरा २०१९ मे तिरको हो ।
त्यो महिना ‘फोर च्यान’ भन्ने वेबसाइटमा कसैले पहेँलो रित्तो कोठाको फोटो पोस्ट गर्यो । र, त्यसमाथि अर्कोले कमेन्ट गर्दै लेख्यो – यदि तिमी झुक्किएर वास्तविक संसारदेखि बाहिर पुग्यौ भने यस्तै पहेँलो र डरलाग्दो ब्याकरुम्स भन्ने कोठामा फस्नेछौं ।
त्यसको केही समयमा नै ‘ब्याकरुम्स’ को कन्सेप्ट इन्टरनेटमा भाइरल भयो । सबैले त्यही फोटो र कमेन्ट कपी पेस्ट गर्दै गइरहे । त्यस वेबसाइटमा जो कोहीले पनि आफ्नो नाम लुकाएर जे पनि पोस्ट गर्न सक्छन् । त्यहाँ पोस्ट गर्नेको परिचय खुल्दैन । र, त्यही प्लेफर्ममा अपलोड भएको त्यो पहेँलो रित्तो कोठाको फोटो केही वर्ष पछि एक जनाले देख्नेवाला थियो । जसले हलिउडमा तरङ्ग पैदा गर्नेवाला थियो ।
000
१६ वर्षको उमेरमा तपाईं के गर्दै हुनुहुन्थ्यो ?
केन पार्सन्स भने विषयवस्तुका आधारमा अनौठो लाग्ने सर्ट फिल्म बनाउँदै थिए । उनको फिल्मको विषय पहेँलो र बिल्कुलै सुनसान लाग्ने भूलभुलैया जस्तो कोठा थियो । जसमा फसेका मान्छे बाहिर निस्कने प्रयास गरिरहेका हुन्थे ।

केन उनी व्यक्ति थिए, जसले फोर च्यानमा अपलोड भएको फोटो हेरेर त्यस सर्ट फिल्म बनाउन लाग्दै थिए । सोही वर्ष उनले ‘द ब्याकरुम्स’ नामक ९ मिनेटको आफ्नो सर्ट फिल्म बनाइ सके । र, युट्युबमा अपलोड गरिदिए । नतिजामा उनका लागि त्यो सर्टफिल्म जिन्दगीको ब्रेकथ्रू बनेर निस्कियो ।
किनकि हलिउड स्टुडियो ए २४ ले उनलाई १७ वर्षकै उमेरमा सम्पर्क गर्यो । त्यससँगै उनी त्यस स्टुडियोको इतिहासकै सबैभन्दा कान्छा निर्देशक बने । र, सोही नाममा फिचर फिल्म बनाउने सम्झौतामा हस्ताक्षर गरे ।
त्यस फिल्मका लागि ओस्कार मनोनित कलाकारहरू रेनाटे रेइन्सभे र चिविटेल एजियोफोरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दा उनी १९ वर्षका मात्र थिए । र, अहिले फिल्म रिलिज हुँदा उनी २१ वर्षका छन् ।
अहिले उनको त्यस फिचर फिल्मले बक्स अफिसमा धमका फिटिरहेको छ । अर्कोतिर समीक्षक तथा यस क्षेत्रका दिग्गजहरूमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
तर, केही समयअघिसम्म यति कम उमेरमा हलिउड नै थर्कमान हुने फिल्म बनाइरहँदा उनलाई एउटा चिन्ता थियो । उमेरकै कारण कतै मान्छेहरूले फिचर फिल्मको निर्देशकको रूपमा लिँदैनन् !
त्यही समयमा उनलाई आफूले ठूलो मिहिनेतले कमाएका अनलाइन दर्शकहरू टाढिने हुन् कि भन्ने डर पनि थियो । किनकि युट्युबबाटै उनले राम्रो फ्यानबेस तयार पारेका थिए ।
अहिले उनको त्यो चिन्ता उडिसकेको छ ।
000
पार्सन्सको ‘द ब्याकरुम्स’मा क्लार्क नामका फर्निचर स्टोर मालिकको कथा देखाएको छ । ती पात्रमा रक्सीको लत छ । उनको वैवाहिक सम्बन्ध बिग्रँदै गएको छ । अर्कोतिर व्यवसायको असफलताले पनि उनलाई निकै तनाव दिइरहेको छ ।
एक रात आफ्नो स्टोरको बेसमेन्टमा अनौठो ढोका जस्तो प्वाल देखेर भित्र पस्दा उनी ‘ब्याकरुम्स’ नामको एउटा रहस्यमय संसारमा फस्न पुग्छन् । त्यहाँ पहेँला कोठाहरू, गनगन आवाज आउने बत्तीहरू र ओसिलो कार्पेट मात्र छन् । त्यहाँबाट बाहिर निस्कन नसकेर उनी हराएपछि उनकी थेरापिस्ट डा. मेरी उनलाई बचाउन आफैं त्यही अज्ञात र डरलाग्दो संसारभित्र पस्छिन् ।

त्यसपछि के हुन्छ ? उनीहरूलाई कस्तो हुन्छ? भन्ने कुरा बाँकी फिल्ममा देखाइएको छ ।
यो खालको फिल्म बनाउने उनको शैली हलिउडका पुराना फिल्मभन्दा भिडियो गेम र अनलाइन सिरिजबाट बढी प्रभावित छ । यो कुरा पार्सन्स स्वयंले नि स्विकारका छन् ।
अब पार्सन्सलाई अलि नजिकबाट नियालौं:
१८ जुन २००५ मा क्यालिफोर्नियाको पेटालुमामा जन्मेका पार्सन्सले सानो उमेरदेखि नै भिडियो गेममा लगाब देखाउन थालेका थिए । न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले आफूले फिल्मभन्दा बढी भिडियो गेम हेरेको बताएका थिए ।
उनका बुबा आफैं पनि भिडियो गेम प्रोग्रामर हुन् । अनि आमा थेरापिस्ट हुन् । यसो हुँदा सानै छँदा पनि पार्सन्स आफ्ना आमाबुबाको ट्याब्लेट र सेलफोनमा भिडियो खिच्ने गर्थे ।
यसले उनमा भिडियो निर्माणको रुचि बढाउँदै लगिरहेको थियो । पछि उनले नोभाटो हाई स्कूलको मारिन स्कूल अफ द आर्ट्समा फिल्म समेत अध्ययन गरेका थिए ।
त्यस्तै सानै छँदा उनलाई आमाबुबाले पुरानो डिजिटल क्यामेरा उपहारमा दिएका थिए । त्यो बोकेर उनी उत्तरी क्यालिफोर्निया डुलिहिँड्थे । अनि, अधिकांश समय सर्ट फिल्महरू बनाएर बिताइरहेका हुन्थे ।
यसरी भिडियोमा रुचि भएकै कारण उनले सन् २०१५ मा ‘केन पिक्सेल्स’ नामक युट्युब च्यानल सुरु गरे । जुन अहिले पनि सक्रिय नै छ ।
सुरुमा उनले त्यो च्यानलमा माइनक्राफ्ट भिडियो र इन्टरनेट मिमहरू पोस्ट गर्थे । अलि पछि थ्रीडी एनिमेसन सिक्दै भएपनि सोही खालका भिडियोहरू राख्न थाले ।
तर, १३ वर्षको उमेरमा पार्सन्सलाई बाथ रोग देखापर्यो । यसको कारण उनी राम्रोसँग हिँड्न नसक्ने भए । यद्यपि उनको फिल्म निर्माणमा भने उनलाई फाइदा नै भयो । किनकि उनी आफूलाई व्यस्त राख्न थ्रीडी र भीएफएक्स बनाउने गर्थे । जुन उनले युट्युबमा अपलोड गर्ने भिडियोहरूमा प्रयोग गर्थे।
त्यही क्रममा नै उनले ‘ब्याकरूम्स’बारे थाहा पाएका थिए । त्यो कुराबाट उनी यति धेरै प्रभावित भए कि १६ वर्षको हुँदा (सन् २०२२) मा यहीँ विचारमा रहेर सर्ट फिल्म नै बनाए ।
त्यतिमात्र नभएर २०२२ देखि २०२५ को बीचमा यसका अन्य श्रंखलाहरू पनि बनाए। ती सबैलाई उनले आफ्नै युट्युब च्यानलमै राखेका छन्।
त्यसैबीचमा पार्सन्सलाई ठूला फिल्म स्टुडियोबाट फिचर फिल्मका प्रस्ताव आउन थालेको थियो । किनकि उनले बनाएका ती सबै भिडियोहरू भाइरल भइसकेका थिए । यता उनले ती प्रस्तावहरूलाई नजरअन्दाज गरिरहेका थिए । र, अध्ययनमै ध्यान दिन खोजिरहेका थिए ।

कलेज भर्नाको क्रममा भने उनलाई ए २४ ले एउटा ठूलो अफर गर्यो । त्यो अफरपछि भने पार्सन्स दोधारमा परे– ‘ब्याकरुम्स’ मा काम गर्ने कि कलेज पढ्ने ।
अन्तमा उनले कलेजमा भर्ना गरेनन्, फिल्ममा नै काम गर्ने भए । त्यसपछि त उनको करियर नै सिफ्ट भएको अवस्था छ ।
000
अहिलेको युगमा सबैमा छटपटी र डर छ । संसार झन्-झन् विभाजित र एक्लो हुँदै गइरहेको छ । हामीले प्राप्त गरेका उपलब्धहरूको महत्त्व पनि दिनानुदिन घट्दै गइरहेको छ ।
हरर विधाको फिल्म भएता पनि ‘ब्याकरुम्स’ले यस प्रकारको अस्तित्ववादी बहस छेड्न सफल भएको छ । समीक्षकहरूले समेत पार्सन्सको यो पाटोलाई खुबै मन पराइरहेका छन् ।
त्यस्तै करिब १० मिलियन डलरमा बनेको यो फिल्मले विश्वभरबाट यो आलेख तयारपार्दासम्म ३०७ मिलियन डलर बढी कमाइसकेको छ । पुँजीको कुरा एक ठाउँमा छ, हरर विधाका दिग्गजहरू जेसन ब्लम र जेम्स वानले फिल्म र पार्सन्सको चर्चा गरिरहेका छन् । उनीहरूले इन्टरनेटका कारण हरर विधालाई उद्योग बचाउन मद्दत गरेको भन्दै प्रशंसा गरेका थिए ।
यसरी युट्युबबाट उदाएर हरर फिल्म बनाउने निर्देशकहरूको लहरमा पार्सन्स थपिन पुगेका छन् । यही लहरमा ३६ वर्षीय मार्क फिस्टब्याक छन् । उनको ‘आयरन लङ’ नामक फिल्म यो वर्षको सुरुमा अप्रत्याशित रूपमा सफल भएको थियो ।
त्यस्तै २६ वर्षीय करी बार्कर पनि छन् । उनको ‘अब्सेसन’ यो महिनाको हिट फिल्म बनिसकेको छ । पार्सन्स त्यही लहरका सबैभन्दा कान्छा सदस्य जस्तै हुन् । अर्को अर्थमा ठूलो पर्दामा प्रवेश गर्ने सबैभन्दा अप्रत्याशित व्यक्ति पनि हुन् ।
प्रतिक्रिया 4