News Summary
Generated by OK AI. Editorially reviewed.- माइकल ज्याक्सनको जीवनीमा आधारित चलचित्र 'माइकल' ले ९७ करोड ७० लाख डलर कमाउँदै बायोपिक विधामा विश्वको सर्वाधिक कमाइ गर्ने नयाँ कीर्तिमान कायम गरेको छ।
- यसअघि ९७ करोड ५० लाख डलर कमाएको 'ओपेनहाइमर' लाई पछि पार्दै यो चलचित्रले सङ्गीतमूलक बायोपिकका रूपमा पनि इतिहास रचेको छ।
- एन्टोइन फुक्वा निर्देशित उक्त चलचित्रमा माइकल ज्याक्सनको भूमिकामा उनका भतिजा जाफार ज्याक्सनले अभिनय यात्रा सुरु गरेका छन्।
माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ ले विश्व बक्सअफिसमा ९७ करोड ७० लाख अमेरिकी डलर (९७७ मिलियन डलर) कमाउँदै जीवनीमा आधारित चलचित्र (बायोपिक)को नयाँ कीर्तिमान बनाएको छ ।
यो फिल्मले ‘ओपेनहाइमर’ लाई पछि पारेको छ । यसअघि निर्देशक क्रिस्टोफर नोलनको ‘ओपेनहाइमर’ ले वास्तविक व्यक्तिको जीवनमा आधारित चलचित्रमध्ये विश्वभरबाट ९७ करोड ५० लाख अमेरिकी डलर (९७५ मिलियन डलर) कमाएर कीर्तिमान बनाएको थियो ।
करिब तीन घण्टा लामो आर-रेटिङ प्राप्त ऐतिहासिक फिल्मको रूपमा त्यो उपलब्धि उल्लेखनीय मानिएको थियो । यसअघि नै ‘माइकल’ ले सन् २०१८ को ’बोहेमियन र्याप्सोडी’ (९११ मिलियन डलर) लाई उछिन्दै इतिहासकै सबैभन्दा धेरै कमाइ गर्ने सङ्गीतमूलक बायोपिकको कीर्तिमान बनाइसकेको थियो ।
अमेरिकामा लायन्सगेट र अन्तर्राष्ट्रिय बजारमा युनिभर्सलले वितरण गरेको ‘माइकल’ ले अप्रिलदेखि हालसम्म अन्तर्राष्ट्रिय बजारबाट ६० करोड ७२ लाख अमेरिकी डलर (६०७.२ मिलियन डलर) र अमेरिकी घरेलु बजारबाट ३७ करोड २ लाख अमेरिकी डलर (३७०.२ मिलियन डलर) कमाएको छ ।
यो फिल्मले अमेरिकामा प्रदर्शनको पहिलो सप्ताहन्तमै ९ करोड ७० लाख अमेरिकी डलर (९७ मिलियन डलर) तथा विश्वव्यापी रूपमा २१ करोड ७० लाख अमेरिकी डलर (२१७ मिलियन डलर) को ओपनिङ गर्दै सन् २०१५ को ‘स्ट्रेट आउट्टा कम्प्टन’ (६० मिलियन डलर) ले बनाएको सङ्गीतमूलक बायोपिकको ओपनिङ रेकर्ड तोडेको थियो ।
दर्शकको सकारात्मक प्रतिक्रिया र दोहोर्याएर हेर्ने प्रवृत्तिका कारण गर्मीयामको प्रतिस्पर्धात्मक चलचित्र सिजनभर पनि ’माइकल’ बक्स अफिसमा बलियो प्रदर्शन गर्न सफल भयो ।
एन्टोइन फुक्वा निर्देशित ’माइकल’ ले ज्याक्सन फाइभ बाट सुरु भएको ज्याक्सनको सांगीतिक यात्रादेखि उनलाई ‘किङ अफ पप’ का रूपमा स्थापित हुने चरणसम्मको कथा प्रस्तुत गर्छ । ज्याक्सनका वास्तविक जीवनका भतिजा जाफार ज्याक्सनले अभिनयमा डेब्यु गर्दै माइकलको भूमिका निर्वाह गरेका छन् ।
कोलम्यान डोमिङ्गो र निया लङले क्रमशः उनका पिता जो ज्याक्सन र आमा क्याथरिन ज्याक्सन को भूमिका निर्वाह गरेका छन् ।
यद्यपि, केही समीक्षकले ’माइकल’ले माइकल ज्याक्सनको जीवनलाई विवादरहित रूपमा प्रस्तुत गरेको टिप्पणी गरेका छन् । उनीहरूले फिल्ममा गायकको करिअरको उत्तरार्धमा उनीविरुद्ध लगाइएका बाल यौन दुव्र्यवहारसम्बन्धी आरोप समावेश नगरिएको भन्दै आलोचना गरेका छन् ।
फिल्मले माइकलको जीवनका सबैभन्दा विवादास्पद पक्षलाई समेटेको छैन । त्यसैले लायन्सगेटले यसको प्रचारप्रसारमा दर्शकलाई आकर्षित गर्ने पक्ष, विशेष गरी उनका चर्चित कन्सर्ट प्रस्तुति र म्युजिक भिडियोको सूक्ष्म पुनःनिर्माणलाई प्रमुख रूपमा प्रस्तुत गर्न सकेको थियो ।
प्रतिक्रिया 4