News Summary
Generated by OK AI. Editorially reviewed.- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमै पतन भइसकेको दाबी गरे ।
- काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनको मूल शक्ति विघटन भएकाले नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याए।
- नेता शर्माले भने, \'मलाई लाग्दैन यहाँ अहिले कम्युनिष्ट आन्दोलन जीवित छ, आन्दोलनमा लागेका नेताहरू र हामीलाई समर्थन गरेका जनता मात्रै जीवित छौँ।\'
१५ असार, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन भइसकेको दाबी गरेका छन्। उनले अहिले कम्युनिष्ट आन्दोलन जीवित नरहेको बरु आन्दोलनमा लागेका नेता र समर्थकहरू मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमै पतन भएको बताए। आन्दोलनको मूल शक्ति विघटन भइसकेको भन्दै उनले यसलाई पुनर्जीवित गर्न नयाँ अभियान र व्यापक पुनर्गठन अपरिहार्य रहेको औँल्याए।
‘अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलियो। वैचारिक रूपले अल्मलियो, राजनीतिक रूपमा गन्जागोलमा गयो र साङ्गठनिक रूपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो,’ शर्माले कार्यक्रममा भने, ‘मलाई लाग्दैन यहाँ अहिले कम्युनिष्ट आन्दोलन जीवित छ। आन्दोलनमा लागेका नेताहरू र हामीलाई समर्थन गरेका जनता मात्रै जीवित हौँ। आन्दोलन विघटन भइसकेको छ।’
कुनै समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनमत रहेको स्मरण गर्दै शर्माले अहिले त्यो जनधार निकै खस्किएको बताए।
वामपन्थी जनमत घटेको अवस्थाले पनि आन्दोलन विघटन भएको स्पष्ट पार्ने भन्दै उनले यो विघटित अवस्थामा आन्दोलनलाई पुनर्जीवन दिन नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया 4