News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रीको प्रतिवेदनअनुसार जनवरी २०२६ सम्ममा चीनसँग करिब ६२० वटा परमाणु वारहेड पुगेका छन्।
- पछिल्लो एक वर्षमा चीनले परमाणु हतियार थप्ने गति घटेर वार्षिक करिब २० मा सीमित भएको छ।
- चीनले 'नो फर्स्ट युज' नीति अपनाएको दाबी गर्दै अमेरिका र रुससँगको त्रिपक्षीय परमाणु वार्ता अस्वीकार गर्दै आएको छ।
१५ असार, काठमाडौं । चीन आफ्नो परमाणु हतियारको भण्डार र रणनीतिका बारेमा सधैँ अपारदर्शी रहँदै आएको छ। उसले यस विषयमा कुनै पनि कुरा स्पष्ट रूपमा बाहिर ल्याएको छैन।
चीनको आधिकारिक भनाइअनुसार उसको परमाणु नीति मुख्य रूपले आत्मरक्षाका लागि मात्रै हो। उसले ‘पहिले परमाणु आक्रमण नगर्ने’ (नो फर्स्ट युज) नीतिमा लगातार जोड दिँदै आएको छ।
अर्कोतर्फ चीनले अमेरिका र रुससँगको त्रिपक्षीय परमाणु हतियार नियन्त्रण वार्तामा बस्न अस्वीकार गर्दै आएको छ। वार्तामा सामेल हुने पश्चिमा देशहरूको मागलाई चीनले बारम्बार अस्वीकार गरेको छ।
पश्चिमा देशका विज्ञहरूका अनुसार हालैका वर्षहरूमा चीनले आफ्नो परमाणु क्षमतालाई तीव्र गतिमा आधुनिक बनाएको छ। उनीहरूको अनुमानअनुसार सन् २०२३ देखि २०२५ को बीचमा चीनले हरेक वर्ष करिब १०० वटा नयाँ वारहेड थपेको थियो। तर पछिल्लो एक वर्षमा भने हतियार थप्ने यो गति घटेर करिब २० मा सीमित भएको छ।
पश्चिमा सञ्चारमाध्यमहरूका अनुसार चीनले आफ्नो मिसाइल मिलिटरी साइलो प्रणालीलाई पनि निकै बलियो बनाएको छ। यसको मुख्य उद्देश्य चीनको ‘सेकेन्ड स्ट्राइक’ क्षमतालाई थप प्रभावकारी बनाउनु हो।
मिसाइल मिलिटरी साइलो भन्नाले जमिनमुनि बनाइएको मिसाइल प्रक्षेपण संरचनालाई बुझिन्छ। यसको प्रयोग अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम), मध्यम दूरीका ब्यालिस्टिक मिसाइलहरूको भण्डारण र प्रक्षेपणका लागि गरिन्छ।
बेइजिङले आफ्नो परमाणु शक्ति प्रदर्शन गर्न पनि कुनै हिच्किचाहट देखाएको छैन। सन् २०२४ मा चीनले हतियारविहीन एउटा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रशान्त महासागरमा प्रहार गरेको थियो।
यस बाहेक, सन् २०२५ मा द्वितीय विश्वयुद्ध विजयको वार्षिकोत्सवका अवसरमा आयोजित परेडमा उसले पहिलो पटक आफ्नो ‘न्युक्लियर ट्रायड’ प्रदर्शन गरेको थियो। यस प्रणालीमा जमिन, समुद्र र हावा गरी तीनै मार्गबाट परमाणु हतियार प्रहार गर्न सक्ने सैन्य क्षमता समावेश हुन्छ।
चीनको न्यूनतम भण्डारण र ‘नो फर्स्ट युज’ को अडान
बेइजिङले आफ्नो परमाणु हतियारको भण्डारका बारेमा धेरै जानकारी सार्वजनिक नगरे पनि आफ्नो परमाणु नीति ‘स्थिर, सुसंगत र व्यावहारिक’ रहेको आधिकारिक रूपमा बताउँदै आएको छ। चीन यस नीतिलाई मुख्य रूपमा आत्मरक्षाका लागि मात्र आवश्यक रहेको दाबी गर्छ।
चीनको भनाइअनुसार उसले आफ्ना परमाणु हतियारहरूलाई सधैँ न्यूनतम स्तरमा राखेको छ, अर्थात् त्यति मात्र उसको राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य छ। आफू कहिल्यै पनि परमाणु हतियारको होडबाजीमा सामेल नभएको र वैश्विक रणनीतिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको दाबी बेइजिङको छ। उसले तीव्र गतिमा परमाणु हतियार बढाइरहेको भन्ने पश्चिमा आरोपहरूलाई ‘निराधार अड्कलबाजी र प्रचार’ भन्दै खारेज गर्ने गरेको छ।
चीनले आफ्नो ‘नो फर्स्ट युज’ अर्थात् एनएफयू नीतिको पनि लगातार प्रचार गरिरहेको छ। सन् २०२४ मा उसले एनएफयूसँग सम्बन्धित एक पहल अघि सार्दै यसलाई परमाणु अप्रसार सन्धि (एनपीटी) कार्यान्वयनको दिशामा एउटा व्यावहारिक कदम भएको बताएको थियो।
चीनले अन्य परमाणु शक्ति सम्पन्न राष्ट्रहरूलाई पनि एनएफयू नीति अपनाउन अपिल गरेको छ। साथै, परमाणु हतियार नभएका देशहरू विरुद्ध यस्ता हतियारको प्रयोग नगर्ने र धम्की पनि नदिने गरी सम्झौता गर्न प्रस्ताव गरेको छ।
यसका बाबजुद बेइजिङले वासिङ्टन र मस्कोसँग त्रिपक्षीय हतियार नियन्त्रण वार्तामा सामेल हुन अमेरिकाले राखेको प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै आएको छ। अमेरिका र रुसबीचको नयाँ ‘स्ट्रेटेजिक आर्म्स रिडक्सन ट्रीटी’ (स्टार्ट) गत फेब्रुअरीमा समाप्त भएपछि चीनलाई वार्तामा ल्याउनुपर्ने माग अझ बढेको थियो।
तर, चिनियाँ अधिकारीहरूले यी मागहरूलाई ‘अनुचित, गैरजरुरी र अव्यावहारिक’ भन्दै पन्छाएका छन्। उनीहरूको तर्कअनुसार विश्वका अधिकांश परमाणु हतियार अमेरिका र रुससँगै भएकाले निःशस्त्रीकरणको मुख्य जिम्मेवारी पनि उनै दुई देशको हो।
पश्चिमा देशको रिपोर्ट
चीनले गोपनीयता कायम राखे पनि हालैका वर्षहरूमा उसको परमाणु क्षमतामा तीव्र आधुनिकीकरण भएको पश्चिमा विज्ञहरूले औँल्याएका छन्।
अन्तर्राष्ट्रिय सुरक्षा संगठन ‘सिप्री’ को सन् २०२६ को प्रतिवेदनअनुसार जनवरी २०२६ सम्ममा चीनसँग करिब ६२० वटा परमाणु वारहेड रहेका छन् । जुन अघिल्लो वर्ष ६०० को सङ्ख्यामा थियो।
सिप्रीका अनुसार चीनले सन् २०२३ देखि २०२४ को बीचमा आफ्नो भण्डारमा ९० वटा वारहेड थपेको थियो । सन् २०२४ देखि २०२५ को बीचमा १०० वटा हतियार बढाएको थियो। यो वृद्धि पछिल्लो १० वर्षकै सबैभन्दा तीव्र गतिमा भएको पाइए पनि अहिले यसको रफ्तार केही सुस्त बनेको छ।
अमेरिकी रक्षा मन्त्रालयको सन् २०२४ को प्रतिवेदनले सन् २०३० सम्ममा चीनको परमाणु वारहेडको सङ्ख्या १ हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरेको थियो। यसअघि सन् २०२२ को प्रतिवेदनले सन् २०३५ सम्ममा यो सङ्ख्या १५ सय पुग्ने आकलन गरे पनि सन् २०२४ को प्रतिवेदनमा उक्त अनुमानलाई समावेश गरिएको थिएन।
सिप्रीले के कुरा पनि प्रष्ट पारेको छ भने, यदि सन् २०३० सम्ममा चीनसँग १ हजारभन्दा बढी वारहेड पुगे पनि त्यो सङ्ख्या अमेरिका र रुसको वर्तमान परमाणु भण्डारको करिब एक चौथाइ मात्र हुनेछ।
यति हुँदाहुँदै पनि सिप्रीले चीनले देशको उत्तरी क्षेत्रमा रहेका तीनवटा ठूला मिलिटरी साइलो इलाकामा सयौँ मिसाइलहरू तैनाथ गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। साथै, चीनको पूर्वी पहाडी भूभागमा करिब ३० वटा नयाँ मिलिटरी साइलो निर्माण कार्य जारी रहेको छ।
समाचार एजेन्सी रोयटर्सको गत मे महिनाको एउटा रिपोर्टअनुसार चीनको उत्तर-पश्चिमी क्षेत्र सिनजियाङको मरुभूमिमा ठूलो मात्रामा सैन्य संरचना तयार गरिएको छ। त्यहाँ ८० भन्दा बढी लन्च प्याड, मजबुत बङ्कर र अष्टकोण आकारका कमान्ड सेन्टरहरू बनाइएका छन्।
यी सबै तयारीहरूको उद्देश्य मिलिटरी साइलोमा आधारित र मोबाइल (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने) दुवै प्रकारका मिसाइलहरूलाई सहयोग पुर्याउनु हो। यसले चीनको जवाफी परमाणु हमला अर्थात् ‘सेकेन्ड स्ट्राइक’ क्षमतालाई निकै बलियो बनाउँदै लगेको सङ्केत गर्छ।
प्रशान्त महासागरमा मिसाइल प्रहारदेखि ‘न्युक्लियर ट्रायड’ सम्म
चीनको सरकारी सञ्चारमाध्यमले पश्चिमा देशहरूले सार्वजनिक गर्ने तथ्याङ्कमाथि प्रायः कुनै टिप्पणी गर्दैनन्। तर हालैका वर्षहरूमा बेइजिङले आफ्नो परमाणु क्षमतालाई विश्वसामु खुला रूपमा प्रदर्शन गर्न थालेको छ।
यसको एउटा उदाहरण सन् २०२४ मा देखियो, जब चीनले हतियारविहीन एउटा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रशान्त महासागरमा प्रहार गर्यो। सन् १९८० पछि चीनले पहिलो पटक यस्तो परीक्षण गरेको हो।
यस परीक्षणका बारेमा चीनको रक्षा मन्त्रालयले निकै कम जानकारी दिए पनि चिनियाँ सञ्चारमाध्यमहरूले ‘डीएफ-३१एजी’ मिसाइलले हवाई टापुबाट दक्षिण-पूर्वमा २ हजार किलोमिटर टाढा रहेको पूर्वनिर्धारित निसानालाई सफलतापूर्वक ढालेको बताएका थिए। यो मिसाइलले कूल १२ हजार किलोमिटरको दूरी तय गरेको थियो। यसको मारक क्षमता यति उच्च छ कि यसले दक्षिणी ध्रुव, सम्पूर्ण युरोप र अमेरिकाको पश्चिमी तटमा रहेका ठूला शहरहरूलाई सजिलै आफ्नो निसाना बनाउन सक्छ।
चिनियाँ सैन्य विज्ञ दु वेनलोङका अनुसार यो परीक्षण एक रणनीतिक सन्देश दिनका लागि गरिएको थियो । जसको उद्देश्य चीनसँग मजबुत लजिस्टिक र म्यापिङ क्षमता छ भनी देखाउनु थियो। चीनका मिसाइलहरूले जुनसुकै हवाई रक्षा र एन्टि-मिसाइल प्रणालीलाई पनि भेद्न सक्छन् भन्ने कुरामा बेइजिङ विश्वस्त रहेको उनले बताए।
अर्कोतर्फ, ताइवानका सैन्य विश्लेषकहरूले भने यस परीक्षणलाई फरक कोणबाट नियालेका छन्। चिनियाँ जनमुक्ति सेना (पीएलए) भित्र भ्रष्टाचारविरुद्ध ठूलो अभियान चलिरहेको र रकेट फोर्सका धेरै वरिष्ठ अधिकारीहरूलाई पदबाट हटाइँदै गरेको समयमा यो परीक्षण भएको उनीहरूको भनाइ छ।
यसैगरी, सन् २०२५ मा जापानमाथि विजय प्राप्त गरेको ८०औँ वर्षगाँठका अवसरमा आयोजित सैन्य परेडमा चीनले पहिलो पटक आफ्नो ‘न्युक्लियर ट्रायड’ (परमाणु त्रिशूल) प्रदर्शन गर्यो। सरकारी समाचार पत्र ‘ग्लोबल टाइम्स’ लगायत चिनियाँ सञ्चारमाध्यमहरूले यसलाई चीनको ‘रणनीतिक शक्तिको सबैभन्दा ठूलो हतियार’ भनेका छन्।
यस प्रणालीमा हावा, समुद्र र जमिन तीनै ठाउँबाट प्रहार गर्न सकिने परमाणु मिसाइलहरू समावेश छन्। परेडमा पनडुब्बीबाट छोडिने ‘जेएल’ सिरिजका अन्तरमहादेशीय मिसाइल र जमिनमा आधारित ‘डीएफ-३१’ र ‘डीएफ-६१’ जस्ता मिसाइलहरू देखाइएका थिए।
यसका साथै, तरल इन्धनबाट चल्ने ‘डीएफ-५ सी’ नामक नयाँ अन्तरमहादेशीय परमाणु मिसाइल पनि पहिलो पटक प्रदर्शन गरिएको थियो । जसको प्रहार गर्ने क्षमताले विश्वको जुनसुकै कुनालाई भेट्न सक्ने दाबी गरिएको छ।
प्रतिक्रिया 4