+
+
Shares
एस्प्रेसो :

बालेनको समयमा लामा भाषण

भाषणलाई तिनको समयदूरीका आधारमा होइन, औचित्यका आधारमा मन पराउने र नपराउने, अर्थात् आलोचना र समर्थन दिने बानी बसालौं, है त । नबोलुँ भन्यो भनेर पुग्दैन । बोल्नु परिहाल्छ । किन कि बोल्न जरुरी छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ असार १६ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा भाषणलाई छोटो राख्ने चलन बढे पनि बौद्धिक विमर्श र गम्भीर विषयमा लामा भाषण तथा गहन छलफलको महत्व अझै कायम रहेको छ।
  • सन्जीव उप्रेतीले दिएको ‘संरचनात्मक लाभांश’ सम्बन्धी व्याख्यानले नेपाली समाजमा विद्यमान सामाजिक विभेद र संरचनात्मक समस्यालाई गहन रूपमा उजागर गरेको छ।
  • भाषणको मूल्याङ्कन समय वा लम्बाइभन्दा पनि त्यसको औचित्य, तर्क र सत्यतथ्यको आधारमा गर्ने परिपाटी बसाल्नुपर्ने आवश्यकता देखिएको छ।

नबोलुँ भन्यो, बोल्नु परिहाल्छ । अहिले नेपालमा सकेसम्म भाषण नै नगर्ने, गर्नैपरे पनि केही मिनेटमा खत्तम गरिदिने ट्रेन्ड आएको छ । राम्रै हो, लामा–लामा भाषण गर्दैमा देश बन्ने हो र ?

यदि त्यस्तो हुन्थ्यो भने यो देश उहिल्यै बनिसक्थ्यो । यसरी पनि सोच्न पाइयो । हुन त यो देश बन्ने, देश बनाउने भन्ने शब्दलाई पनि इन्जिनियरिङको ह्याङबाट हल्का बाहिर निकाल्नैपर्ने भएको छ ।

आज यता समय खर्च नगरुँ । यो समय बरु लामा भाषणकै महत्वबारे खर्चिदिउँ ।

त्यसअघि दुईवटा नमुना छोटा भाषणहरूको छोटै कुराकानी । हाम्रा प्रधानमन्त्री बालेन शाहले चुनाव प्रचारका बेला जम्माजम्मी २७ मिनेट बोलेको कुरो पनि चर्चाकै विषय बन्यो ।

अनि डिपी अर्याललाई सभामुख बनाइयोस् भन्ने रवि लामिछानेको प्रस्तावमा बालेनका साथी तथा हालका भौतिकमन्त्री सुनील लम्सालले जम्मा एक मिनेट बोलेर ‘मेरो समर्थन छ’ टाइपमा बोलेर चल्दिए ।

यी सब कुराहरू हेर्दा स्वादै परेका छन् । जब सत्य नै सामुन्नेमा छ भने शब्द किन खर्च गर्नुपर्‍यो भन्ने मनसुबा होला अहिले सत्तापक्षको ।

एकपल्ट मैले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पश्चिम नेपालको एक उद्घाटन र भाषणको प्रसंग कोट्याउँदै भनेको थिएँ, ‘कलिला स्कुले बच्चीहरूलाई बाटामा स्वागत गर्न उभ्याएर उद्घाटन, शिलान्यास गर्न जानैपर्ने, अनि लामा–लामा भाषण छाँट्नैपर्ने निरन्तरतामा क्रमभंग गर्न मिल्दैन ?’

प्रचण्डले त जवाफकै पो क्रमभंग गरिदिए । उनले भने, ‘त्यै त । दिउँसो उद्घाटन र भाषण गर्दा काम गर्ने समय खेर गयो भन्ने मलाई पनि पर्‍या छ । त्यसैले अबदेखि मैले दिउँसो काम गर्ने, उद्घाटन र लामा मन्तव्य चाहिँ रातिराति राख्ने विचार गरेको छु ।’

यो अचाहिँदो लामो भाषण दिने र उद्घाटनमा जानैपर्ने कुप्रथा तोडौं पो भनेको । प्रचण्डले अर्थोकै बुझेछन् । उनीपछि प्रधानमन्त्री बनेका केपी ओलीको त कुरै नगरुँ । संसदमा होस् कि अन्यत्र, उनी जहाँ पनि लामा भाषण गर्ने । सुरुसुरुमा त मान्छेलाई रमाइलो पनि लाग्यो होला । तर कुराले चिउरा नभिजेपछि मान्छेले उनीहरूलाई पनि वास्ता गर्न छाडे ।

अब म यो पनि निचोड ननिकालुँ कि  थोरै बोल्दैमा देउवा चाहिँ महान थिए !

नेपालमा अहिले जसरी पुराना र नयाँ भन्ने शब्दमा प्रष्टै समस्या देखिन थालेको छ, त्यसैगरी लामा र छोटा भाषणको लम्बाईकै आधारमा राम्रो र नराम्रो भन्ने भाष्य बन्न थालेको छ । त्यो भाष्य नै संकटग्रस्त छ ।

म यो किन भन्दैछु भने, खासमा यति बेला हामीलाई अकस्मात् लामा भाषणहरूको खाँचो पर्न गएको छ । हामीलाई लामा बहस, छलफल र विमर्शहरूको तिर्खा बढेर जानुपर्छ ।

र, पार्टीका नेताहरूले यो नठानुन्, ती लामा भाषण हामीले नै दिनुपर्छ । ती भाषण अब सन्जीव उप्रेती, चैतन्य मिश्र, प्रत्युष वन्त, सीके लाल, हरि शर्मा, सुचेता प्याकुरेल, दोभान राई, उज्ज्वल प्रसाईं, सुमना श्रेष्ठ, दीपा नेपाली, उत्तमबाबु श्रेष्ठ, जेबी विश्वकर्मा वा जोकोहीले दिए पनि हुन्छ । वक्तासँग बोल्नका लागि चाहिँदो कुरो हुनुपर्‍यो, हामीसँग सुन्नका लागि धुमधाम धैर्य हुनुपर्‍यो ।

असार १४ गते डा देवेन्द्रराज पाण्डे लेक्चर सिरिजको पहिलो व्याख्यानस्वरूप प्राध्यापक लेखक सन्जीव उप्रेतीले संरचनात्मक लाभांशबारे ललितपुरमा एउटा लामो भाषण गरे । उनले हामी नेपाली समाजमा बसेर कसरी थाहै नपाई सामाजिक फाइदा लिने वर्ग बनिरहेका छौं, अनि कोही अर्को व्यक्ति चाहिँ किन त्यस्तो फाइदाबाट बन्चित भइरहेको छ भन्नेबारे विस्तारमा कुरा गरे ।

जानेर अर्को कसैलाई हामीले हेपेको नहोउँला, तर पनि समाजमा कसरी हेपायतीको संस्कार संगठित रूपमै निर्माण भयो त ? सन्जीव उप्रेतीको व्याख्यानमा यो तितो तथ्य अटाएको छ ।

उनको भाषण हामीले अनलाइनखबरमा छाप्यौं । पढ्नुभएको छैन भने, पढ्न अनुरोध पनि छ ।

र, यो पनि याद गरौं । काठमाडौं शहरमात्रै नभई नेपालका विभिन्न ठाउँमा यस्ता भाषण शृंखलाहरूको परम्परा राम्रैसँग बसिसकेको छ । मार्टिन चौतारीले वार्षिक लेक्चर सिरिज चलाउँछ । सोसल साइन्स बहाःले महेशचन्द्र लेक्चर सिरिज चलाउँछ । काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले यस्ता भाषण सत्र चलाउने गरेका छन्, जहाँ स्वदेशी विदेशी धेरैको पाइला परिसकेको छ । भर्खरै परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल लेक्चर सिरिजमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई वक्ता बनायो । विराटनगरमा केही समयअघिसम्म नर्थ साउथ कलेक्टिभ्सले यस्तै भाषण सत्र चलाउने गर्थ्यो । मदन पुरस्कार पुस्तकालय, बीपी कोइराला नेपाल भारत फाउन्डेसन लगायतले भाषण सत्र बेलाबखत गरिरहेकै हुन्छन् ।

पोखरामा नेपाल लिटरेचर फेस्टिभलको सुरुवात नै एउटा लामो भाषणबाट हुन्थ्यो । इलाम–काँकरभिट्टादेखि धनगढी–टीकापुरसम्म यस्ता भाषणहरू चलिरहन्छन्, जसमा वक्ताले बोलेका विषय राष्ट्रिय समाचार नै बन्छन् । नेपाल इकनोमिक फोरम यस्तै अर्को भाषणको मन्च हो ।

यस्तै भाषणहरू केही विश्वविद्यालय, क्याम्पसहरू तथा सामाजिक संस्थाहरूमा पनि हुने गर्छन् । यो एस्प्रेसोमा सबैको नाम लिन सम्भव भएन । तर लामा सम्भाषणहरूको महत्व अझै पनि छ भन्ने तिनलाई मज्जाले दर्शाउँछन् ।

त्यसैले चाहे संसदमा होस् या अन्यत्र लामा भाषण गरे हुन्छ । तर्कपूर्ण हुनुपर्‍यो, सत्यतथ्यको पैरवी गरेको महसुस स्रोतालाई पनि हुनुपर्‍यो । भाषणै गरेर कसैलाई हेप्दिनु भएन । बरु गहन, सघन विमर्श हुनुपर्‍यो । भाषणका नाममा सधैं आक्षेप लगाउनुपर्छ भन्ने छैन, तर आफ्नो विषयको गहिराई प्रकट हुने गरी लामै बोल्दा आखिर के बिग्रियो ?

मान्छेहरू भनिरहेका हून्छन्, जमाना फेसबुक रिल्सको हो, कहाँ टिकटकमै नअटाउने गरी लामो गन्थन गर्ने ? तर नअल्मलिउँ । अहिले पनि हामी युट्युब लगायत डिजिटल स्पेसमा जाने हो भने एक घन्टाभन्दा लामा धेरै भाषणहरू सुन्न पाउँछौं । पाँच सय पृष्ठभन्दा मोटा पुस्तक मग्न भएर पढ्नेहरूको संख्या कति रहेछ कति, मैले भर्खरै एउटा विदेशको यात्राका क्रममा ठाउँठाउँमा देख्न पाएँ । त्यसैले अब पाठकले लामो पढ्दैनन्, स्रोताले लामो सुन्दैनन् भन्ने सत्य होइन । राम्रो लेखिएन भने त ५ पेज पनि पढ्दैनन् नि । कहाँ यसको सम्बन्ध पृष्ठसँग मात्रै छ र ?

अघि सन्जीव उप्रेतीले दिएको लामो भाषणको महत्वबारे कुरा निकाल्दैगर्दा– अक्षर क्रियसन्सले छापेको उप्रेतीको पुस्तक ‘संरचनात्मक लाभांश’ मा नेपाली समाजले भोगिरहेको संकट र समस्याबारे अझै विस्तारमा पढ्न पनि सकिन्छ । अब नेपाली समाजमा यस्ता पुस्तकहरूको धुमधाम बिक्री, पठन, छलफल, थप लेखन सबै चल्नुपर्छ ।

अचेल खुब डेटा, मेट्रिक्स, चार्ट, पावरप्वाइन्ट प्रेजेन्टेशन इत्यादिको लहर छ नि त । यो पनि गर्न पाइयो । तर हाम्रो कग्निटिभ प्याटर्नलाई डेटा, मेट्रिक्सले मात्रै पूर्ण बनाउँदैनन् । हामीलाई चाहिन्छ, एकाग्र भएर गरिने गफ, गन्थन–मन्थनहरू, जसले बताइदिन्छ समग्र सत्यका अनेक रूपहरू ।

टर्किस लेखिका छिन्, एलिफ सफक नाम गरेकी । उनी लेख्दाखेरी के लेखियो भन्दा पनि के लेखिएन भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउँछिन् । पात्रहरूले के बोले भन्दा पनि के बोलेनन् भन्ने कुरामा जान खोज्छिन् । यी सबै कुरा प्राविधिक प्रस्तुतिमा आउन सक्दैनन् । यसका लागि चाहिन्छ लामा भाषण, संकथन, लेखनहरू ।

र हामी आशा गरौं, यस्ता भाषणहरूले हामी साँच्चिकै लाभान्वित हुन्छौं । कुनै बेला प्रदीप गिरिले संसदमा बोलेको चर्चा हुन्थ्यो । मदन भण्डारीदेखि गगन थापासम्मका मन्तव्यहरू, तिनले गरेका तयारीहरू यति बेला समाजमा मिस भइरहेका छन् ।

संसदमा मात्रै होइन, अन्यत्र पनि मिस भइरहेका छन् । भाषणलाई तिनको समयदूरीका आधारमा होइन, औचित्यका आधारमा मन पराउने र नपराउने, अर्थात् आलोचना र समर्थन दिने बानी बसालौं, है त । नबोलुँ भन्यो भनेर पुग्दैन । बोल्नु परिहाल्छ । किन कि बोल्न जरुरी छ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?