+

‘फुटसल मेनिया’मा ४८ विद्यालय, विजेताले २ लाख रुपैयाँ पाउने

२०८३ असार  १७ गते १८:५४ २०८३ असार १७ गते १८:५४

प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनिया नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।
  • तारकेश्वरस्थित टिपटप स्पोर्ट्स हबमा हुने उक्त प्रतियोगितामा देशभरका ४८ विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
  • प्रतियोगिताको कूल पुरस्कार राशी ३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने विजेता टोलीले २ लाख रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गर्नेछन् ।

१७ असार, काठमाडौं । ‘प्लस टु’ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनिया नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बढीमा २० वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीसमेत सहभागी हुन पाउने व्यवस्था गरिएको छ । त्यस्तै एउटा विद्यालयबाट दुईवटा टोलीसम्म सहभागी हुन पाउनेछन् ।

आयोजक बिहानी इभेन्ट्सकी इभेन्ट्स डाइरेक्टर अस्मिता घिमिरेका अनुसार विश्वकपको माहोलबीच विद्यार्थीलाई खेलकुदसँग जोड्ने, खेलभावना, टिम स्पिरिट र नेतृत्व क्षमता विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘विश्वकपको रौनक चलिरहेका बेला प्लस टुका विद्यार्थीले पनि त्यसको उत्साह अनुभूत गर्दै प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सकून भन्ने हाम्रो उद्धेश्य हो,’ घिमिरेले भनिन्, ‘खेलमार्फत उनीहरुमा स्पोर्ट्सम्यानसिप, टिमवर्क र नेतृत्व क्षमताको विकास होस् भन्ने अपेक्षा गरेका छौं ।’

सहभागी ४८ टोलीलाई १६ समूहमा विभाजन गरिनेछ । राउन्ड रोविन लिगपछि प्रत्येक समूहको विजेता टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछ । खेल प्रति–हाफ सात मिनेटको हुनेछ ।

प्रतियोगिताको कूल पुरस्कार राशी ३ लाख ७५ हजार रुपैयाँ छ । विजेता टोलीले ट्रफी र मेडलसहित २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेताले रनिङ शिल्ड पनि जित्नेछ । बिहानी इभेन्ट्सले यसलाई वार्षिक प्रतियोगिताका रुपमा निरन्तरता दिने योजना पनि सार्वजनिक गरेको छ ।

प्रतियोगितामा टोली दर्ता ‘फस्ट कम, फस्ट सर्भ’ आधारमा गरिनेछ । प्रति टोलीको दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । दर्ताका लागि सहभागीले युनिगो एपमार्फत आवेदन दिन सक्नेछन् । प्रत्येक टोलीमा न्यूनतम पाँच र अधिकतम आठ खेलाडी राख्न पाइनेछ ।

यस ‘फुटसल मेनियाः नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ ले विद्यालयस्तरको फुटसललाई थप प्रतिस्पर्धात्मक बनाउने विश्वास लिइएको छ ।

फुटसल मेनिया

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय