+
+
Shares
जवाफ :

हामी असक्षम, दोष मार्क्सवादलाई ?

एउटा के कुरा सही हो भने नेपाली कम्युनिस्ट आन्दोलनको असफलताको कारण कोही नेता वा नेताहरुको कमजोरी मात्र चाहिँ पक्कै होइन । मुख्य रूपमा मार्क्सवादी दर्शन तथा सिद्धान्त बुझ्न र व्यवहारमा लागु गर्न नसक्दा नै कम्युनिस्ट आन्दोलनले सही दिशा पक्रन नसकेको हो । यसमा नेताहरू पनि दोषी नहुने भन्ने सवाल रहन्न । अज्ञानता र असक्षमता हाम्रो तर असफलताको दोष चाहिँ मार्क्सवादलाई दिनु ठिक होइन ।

तुल्सीदास महर्जन तुल्सीदास महर्जन
२०८३ असार १८ गते १७:०१

नेपालमा भर्खरै सम्पन्न आम चुनावमा ‘वामपन्थी वा कम्युनिस्टहरू’ को लज्जास्पद हार भएपछि त्यसको कारणको विश्लेषण गर्ने क्रममा मार्क्सवाद नै गलत र असान्दर्भिक भएकाले उनीहरुले त्यस्तो नतिजा बेहोर्नुपरेको हो भन्ने तर्क गर्दै अनलाइनखबर डटकमको असार ४ गतेको अङ्कमा एक लेख छापियो

सो लेखका लेखक मोहन तिम्सिना नेपाली वामपन्थी आन्दोलनकै एक कार्यकर्ता भएको बुझिन्छ । त्यस लेखको आधारमा उनी अब उप्रान्त मार्क्सवाद र कम्युनिस्ट आन्दोलनबाट अलग भएको पुष्टि मिल्छ ।

प्रस्तुत आलेखले मार्क्सवादका आधारभूत प्रस्थापनाहरू (द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग सङ्घर्ष, र साम्यवाद) माथि केही गम्भीर र परम्परागत गैर-मार्क्सवादी प्रश्नहरू उठाएको छ । लेखकले मार्क्सवादलाई ‘यान्त्रिक’, ‘विज्ञानद्वारा खण्डित’ र ‘मानव स्वभाव विपरीत’ ठहर गर्दै कम्युनिस्ट आन्दोलनको संकटको मुख्य दोषी मार्क्सवादी दर्शन नै रहेको दाबी गरेका छन् ।

यद्यपि, मार्क्सवादी दर्शन, आधुनिक विज्ञान र समकालीन राजनीतिक-आर्थिक यथार्थको कूटनीतिक एवं गम्भीर समीक्षा गर्ने हो भने उक्त आलेखमा मार्क्सवादको अति-सरलीकरण र यान्त्रिक बुझाइ रहेको देखिन्छ । त्यस आलेखको मार्क्सवादी दृष्टिकोणका आधारमा विश्लेषण गर्दा देखिएका विरोधाभासहरु यहाँ प्रस्तुत गरिन्छ ।

१. उनी तर्क गर्छन्- ‘मार्क्सवादले एकतर्फ ‘सङ्घर्ष स्थायी र निरपेक्ष हुन्छ’ भन्छ भने अर्कोतर्फ ‘साम्यवादमा वर्ग र वर्गसङ्घर्ष रहँदैन’ भन्दै समाजलाई सङ्घर्षहीन एकत्वमा पुर्‍याउँछ, जुन विरोधाभासपूर्ण छ” । उनको यो तर्कले मार्क्सवादी द्वन्द्ववादको ‘शत्रुतापूर्ण’ र ‘गैर-शत्रुतापूर्ण’ विरोधाभास बीचको भिन्नतालाई बुझ्न सकेको देखिंदैन । मार्क्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ (१८४४) मा “आजसम्मको मानव इतिहास वर्ग सङ्घर्षको इतिहास हो’ भन्दा लिखित इतिहास अर्थात् वर्गीय समाजको इतिहासलाई मात्र भनेका हुन् ।

साम्यवादमा वर्गहरू समाप्त हुनु भनेको ‘सङ्घर्ष’ वा ‘गतिशीलता’ समाप्त हुनु होइन, केवल वर्गीय उत्पीडन र मानिसद्वारा मानिसको शोषणको अन्त्य हुनु हो । माओ त्से तुङले आफ्नो दार्शनिक कृति ‘अन्तरविरोध बारे’ (१९३७) मा स्पष्ट गरेका छन् कि विरोधाभास सम्पूर्ण ब्रह्माण्डको सर्वव्यापी नियम हो । साम्यवादमा पनि पुरानो र नयाँ विचार, सही र गलत प्रविधि, तथा मानिस र प्रकृतिबीचको गैर-शत्रुतापूर्ण द्वन्द्व निरन्तर जारी रहन्छ र त्यसैले समाजलाई गति दिन्छ । तसर्थ, मार्क्सवादले समाजलाई जड वा गतिहीन एकत्वमा संकुचित गर्दैन ।

२. ‘प्रकृतिसँग सङ्घर्ष’ को सम्बन्धमा मार्क्सको भनाइलाई लिई लेखक तिम्सिना भन्छन्- ‘मार्क्सले साम्यवादमा ‘मानिस र प्रकृति बीच सङ्घर्ष हुन्छ’ भनेर अप्राकृतिक कुरा गरे, किनकि मानिस त प्रकृतिको अंग हो र उसले सहकार्य गर्छ ।’

यस भनाइको अन्तर्यलाई हेर्दा उनले ‘प्रकृतिसँगको सङ्घर्ष’ को कुरालाई मानिसले जंगल फँडानी गर्ने वा वातावरण विनाश गर्नेसँग जोडेर बुझेको देखिन्छ, जुन मार्क्सको आशय होइन । मार्क्सले ‘इकोनोमिक एण्ड फिलोसोफिकल मानुस्क्रिप्ट (१८४४) मा स्पष्ट रूपमा साम्यवादलाई ‘मानिस र प्रकृति तथा मानिस र मानिसबीचको विरोधाभासको साँचो समाधान’ भनेका छन् ।

मार्क्सका अनुसार पूँजीवादले प्रकृति र मानवबीचको ‘मेटाबोलिक सम्बन्ध’ लाई बिगार्छ । साम्यवादमा प्रकृतिसँगको ‘सङ्घर्ष’ भनेको प्रकृतिको अन्धो विनाश होइन, बरु प्रकृतिका नियमहरू (बाढी, अनिकाल, महामारी आदि) लाई विज्ञानको मद्दतले बुझ्ने र मानव हितमा सन्तुलित ढंगले प्रयोग गर्ने बौद्धिक एवं वैज्ञानिक सङ्घर्ष हो । मार्क्सवादले मानिसलाई प्रकृतिको मालिक होइन, बरु सचेत अंग मान्दछ ।

त्यस्तै गरी एङ्गेल्सले आफ्नो पुस्तक ‘डाइलेक्टिस अफ नेचर’ मा भनेका छन्- ‘हामीले प्रकृतिमाथि विजय प्राप्त गर्यौँ भनेर घमण्ड गर्नु हुँदैन । किनकि, प्रत्येक विजयको बदला प्रकृतिले हामीबाट लिन्छ । हामीले सोचेका परिणामहरू त आउँछन्, तर त्यसपछि यस्ता अप्रत्याशित समस्याहरू सिर्जना हुन्छन् जसले हाम्रो पहिलो सफलतालाई पनि समाप्त पारिदिन्छ ।’

एङ्गेल्सको तर्क थियो कि मानिस प्रकृतिभन्दा बाहिरको कुनै ‘विजेता’ होइन; मानिस प्रकृतिकै हिस्सा हो र प्रकृतिका नियमहरूलाई बुझेर मात्र हामी राम्रोसँग बाँच्न सक्छौँ ।

पुँजीवादी व्यवस्थामा पुँजीजिवी व्यवसायीहरूको ध्यान केवल छिटो नाफा कमाउनुमा हुन्छ । यसले गर्दा उनीहरूलाई त्यसको दीर्घकालीन असरबारे वास्ता हुँदैन ।

यस सम्बन्धमा एङ्गेल्स भन्छन्- ‘जबसम्म कुनै उत्पादक वा व्यापारीले नाफा कमाउँछन्, उनीहरू खुसी हुन्छन् । त्यसपछि वस्तुको वा वातावरणको के हुन्छ, त्यसको उनीहरूलाई कुनै चासो हुँदैन ।’

उदाहरणका लागि, मानिसले खेत बनाउनका लागि अन्धाधुन्ध जंगल फँडानी गरे । उनीहरूले कहिल्यै सोचेनन् कि ती जंगलहरूले वर्षाको पानी जोगाएर राख्ने काम गर्थे । जंगल नष्ट गरेपछि आज ती ठाउँहरू मरुभूमि बनेका छन् ।

त्यसकारण प्रकृति विनाशको कार्य नाफाका लागि पुँजीवादमा हुँदै गरेको छ, लेखक मोहन तिम्सिनाले संकेत गरेजस्तो साम्यवादमा हुने देखिँदैन । साम्यवाद सम्पूर्ण प्रकृतिको संरक्षण गर्ने समाज हुनेछ, किनकि त्यहाँ नाफाका लागि अन्धो रुपले प्रकृतिको दोहन गर्ने क्रियाकलाप हुने स्थिति नै हुन्न । साम्यवादमा उत्पादन क्रियाकलाप मानव आवश्यकता पूरा गर्नका लागि नै गरिने छ, नाफा कमाउनका लागि होइन ।

३. आधुनिक भौतिक विज्ञान र यान्त्रिक बिम्बको प्रश्नमा आलेखका लेखक तिम्सिना तर्क गर्छन्- ‘मार्क्सको समयको विज्ञान यान्त्रिक थियो र आजको आधुनिक विज्ञान (जस्तै: क्वांटम फिजिक्स) ले मार्क्सवादका दार्शनिक नियमहरूलाई खण्डन गरिसक्यो ।’

तर वास्तवमा यथार्थ यसको ठीक विपरीत छ । १७ औं शताव्दीको न्युटोनियन फिजिक्सको जगमा उभिएर १९ औं शताब्दीमा जन्मिएको यान्त्रिक भौतिकवादलाई खण्डन गरेर नै मार्क्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको विकास गरेका थिए । फ्रेडरिक एङ्गेल्सले आफ्नो कृति ‘डाइलेक्टिस अफ नेचर’ (१८७३-८२) र ‘एन्टी ड्युहरिङ’ (१८७८) मा तत्कालीन यान्त्रिक विज्ञानको सरलीकरणलाई आलोचना गर्दै प्रकृति गतिशील र परिवर्तनशील छ भन्ने विचार स्थापित गरेका थिए ।

आजको आधुनिक विज्ञान (क्वान्टम यान्त्रिकी र सापेक्षतावाद) ले के देखाउँछ भने पदार्थ स्थिर छैन; यो कण र तरंग दुवै स्वरूपमा रहन्छ (द्वैत स्वभाव) र यसमा अन्तर्निहित विरोधाभास हुन्छ । आधुनिक विज्ञानको यो निष्कर्ष मार्क्सवादी द्वन्द्ववाद (विपरीत तत्वहरूको एकता र सङ्घर्ष) सँग पूर्ण रूपमा मेल खान्छ, न कि यसको खण्डन हुने गर्छ ।

४. अतिरिक्त मूल्यको सिद्धान्त र डिजिटल अर्थतन्त्रबिच विरोधाभास देखाउन उनी तर्क गर्छन्- ‘आजको सफ्टवेयर क्रान्ति, डेटा इकोनोमी र कलाकार/खेलाडीको अत्यधिक कमाइले अतिरिक्त मूल्यको सिद्धान्तलाई असान्दर्भिक वा विवादास्पद बनाएको छ।’

लेखकको यो भनाइ अतिरिक्त मूल्यको सिद्धान्त सम्बन्धमा उनको सीमित बुझाइको परिचय हो । उनले केही हदसम्म ‘साझा अतिरिक्त मूल्य’ को अवधारणा स्वीकार गरे तापनि मार्क्सको सिद्धान्तलाई व्यक्तिगत आर्जनसँग जोडेर संकुचित बनाएका छन् । मार्क्सले ‘पुँजी’ (ग्रन्थ. १) मा स्पष्ट गरेका छन् कि मूल्यको सिर्जना केवल शारीरिक श्रमले मात्र गर्दैन, ‘सामाजिक रूपमा आवश्यक श्रम समय’ ले निर्धारण गर्छ ।

आजको डिजिटल वा डेटा इकोनोमीमा पनि माइक्रोसफ्ट वा गुगलजस्ता कम्पनीहरू आफैं मूल्य सिर्जना गर्दैनन् । तिनीहरूले संसारभरिका प्रयोगकर्ताहरूको निःशुल्क ‘डेटा’ (श्रम र समय) लाई कब्जा गरेर र आफ्ना प्राविधिक श्रमिकहरूलाई कम ज्याला दिएर नै खर्बौँको साम्राज्य खडा गरेका हुन् । यो त मार्क्सले भनेको ‘लुट’ वा अतिरिक्त मूल्यको शोषणको अझ उन्नत र क्रूर रूप मात्र होइन र ?

५. लेखक तिम्सिनाले व्यक्तिगत सम्पत्ति राख्नुलाई विरोध गरेर ‘मानव स्वभाव विपरीत’ को विचार राखेको भनेर मार्क्सवादको विरोध गरेका छन् । उनी तर्क गर्छन्- ‘व्यक्तिगत सम्पत्ति आर्जन गर्नु मानव स्वभाव हो । मार्क्सवादले निजी धन मास्नुपर्छ भन्छ, त्यसैले यो असफल भयो ।’

यो तर्क पनि लेखक तिम्सिनाको गलत बुझाइ हो । मार्क्सवादले मानिसको मेहनतबाट आर्जित ‘व्यक्तिगत सम्पत्ति’ ( जस्तै घर, कपडा, गाडी) को विरोध कहिल्यै गरेको छैन । मार्क्सले ‘कम्युनिस्ट घोषणापत्र’ (१८४८) मा स्पष्ट लेखेका छन्- ‘कम्युनिज्मको विशेषता व्यक्तिगत सम्पत्तिको उन्मूलन होइन, बरु बुर्जुवा (पूँजीवादी) सम्पत्तिको उन्मूलन हो ।’

बुर्जुवा सम्पत्ति (प्राइभेट प्रपर्टी) भन्नाले उत्पादनका साधन (कारखाना, जमिन, बैंक) बुझिन्छ, जसको जगमा बसेर पूँजीपतिले अरूको श्रम शोषण गर्छ । मानव स्वभाव स्थिर हुँदैन, यो सामाजिक र आर्थिक सम्बन्ध (मटेरियल कन्डिसन्स्) अनुसार बदलिन्छ । आदिम समाजमा निजी सम्पत्तिको अवधारणा नै थिएन । तसर्थ, पूँजीवादी स्वार्थ र लोभलाई “शाश्वत मानव स्वभाव” मान्नु नै एक भ्रम (इडियोलोजिकल इलुजन) हो ।

६. कम्युनिस्ट पार्टीहरूको संकट: विचारको दोष कि विचलन ?

लेखक तिम्सिना भन्छन्- ‘कम्युनिस्ट पार्टीहरू नेताहरूको कमजोरीले होइन, मार्क्सवादकै त्रुटिपूर्ण सिद्धान्तका कारण असफल वा फुटको सिकार भएका हुन् ।’

उनको यो भनाइ यथार्थपरक देखिन्न । एउटा के कुरा सही हो भने नेपाली कम्युनिस्ट आन्दोलनको असफलताको कारण कोही नेता वा नेताहरुको कमजोरी मात्र चाहिँ पक्कै होइन । मुख्य रूपमा मार्क्सवादी दर्शन तथा सिद्धान्त बुझ्न र व्यवहारमा लागु गर्न नसक्दा नै कम्युनिस्ट आन्दोलनले सही दिशा पक्रन नसकेको हो । यसमा नेताहरू पनि दोषी नहुने भन्ने सवाल रहन्न । अज्ञानता र असक्षमता हाम्रो तर असफलताको दोष चाहिँ मार्क्सवादलाई दिनु ठिक होइन ।

मार्क्सवाद कुनै जडसूत्र (डोग्मा) होइन, यो ‘कार्यको लागि मार्गदर्शक’ (अ गाइड टु एक्सन) हो । नेपाल वा विश्वका कम्युनिस्ट पार्टीहरूमा देखिएको टुटफुट, भ्रष्टता वा विचलन मार्क्सवाद सम्बन्धमा बुझाइको त्रुटि मात्र होइन, बरु संसदीय संसोधनवाद (रिभिजिनिज्म) र पूँजीवादी अवसरवाद सामु आत्मसमर्पण गर्नुको पनि परिणाम हो । लेनिनले ‘राज्य र क्रान्ति’ (१९१७) मा भनेझैं, जब क्रान्तिकारीहरूले सिद्धान्तलाई आफ्नो वर्गस्वार्थ अनुकूल बंग्याउँछन् वा संसद्‌वादमा डुब्छन्, तब आन्दोलनको विघटन सुरु हुन्छ । नेपालका सन्दर्भमा नेताहरूमा वैचारिक स्पष्टताको अभाव र राजनीतिलाई सत्ता प्राप्तिको साधन मात्र बनाउनाले यो संकट पैदा भएको हो ।

लेखक मोहन तिम्सिनाको आलेखले पूँजीवादका केही विकृतिहरू स्वीकार गरे तापनि यसको विकल्प खोज्ने क्रममा मार्क्सवादलाई यान्त्रिक ढाँचामा राखेर खारेज गर्ने प्रयास गरेको छ । मार्क्सवाद इतिहासको अन्त्य होइन, बरु यसले समाजलाई निरन्तर गति दिने वैज्ञानिक दृष्टिकोण (हिस्टोरिकल मटेरियलिज्म) प्रदान गर्दछ ।

आजको नव-उदारवादी संकट, वातावरणीय विनाश र बढ्दो आर्थिक असमानताका बेला मार्क्सवाद झन् बढी सान्दर्भिक साबित भएको छ, केवल यसलाई आजको प्रविधि र परिवेश अनुसार सिर्जनात्मक रूपमा लागु गर्न (क्रिएटिभ एप्लिकेसन) आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?