२२ असार, काठमाडौं । वर्तमान विश्व फुटबलकै उत्कृष्ट स्ट्राइकरको रुपमा रहेका एर्लिङ हालान्ड आफ्नो डेब्यु विश्वकपमा अहिले खुबै रमाइरहेका छन् ।
उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा हालान्डकै शानदार प्रदर्शनमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेलाई पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेको छ ।
क्लब फुटबल र राष्ट्रिय टिम दुवैमा ‘गोल मेसिन’को छवि बनाइसकेका हालान्डले आफ्नो डेब्यु विश्वकपमै सोही लयलाई निरन्तरता दिएका हुन् ।
हालान्डकै दुई गोलमा नर्वेले अन्तिम १६ अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई अन्तिम १६ को खेलमा २-१ ले पराजित गरेको हो ।
चौथो पटक विश्वकप खेलिरहेको नर्वे इतिहास रच्दै पहिलो पटक क्वाटरफाइनलको यात्रा तय गर्दा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको हो । यस जितपछि नर्वेले ब्राजिलसँग अपराजित यात्रालाई ५ खेलसम्म पुर्याएको छ ।

ब्राजिलले पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न चुकेपछि हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । उनले ७९औ मिनेटमा हेडमार्फत पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने त्यसको १० मिनेटपछि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
इन्जुरी टाइममा नेमारले ब्राजिलका लागि पेनाल्टीमा एक गोल फर्काए ।
गोल्डेन बुटको दौडमा एमबाप्पे र मेसीसँग टक्कर
नर्वेको यो सुनौलो यात्राको नायकको रुपमा रहेका हालान्डले जारी विश्वकपमा संयुक्त रुपमा सर्वाधिक ७ गोल गरिसकेका छन् ।
उनले फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसमान ७ गोल गर्दै ‘गोल्डेन बुट’को होडमा आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएका छन् ।
२ असिस्ट समेत गरेका एमबाप्पे शीर्ष स्थानमा रहँदा हालान्ड भन्दा कम समय खेलेका मेसी दोस्रो स्थानमा छन् । मेसी र हालान्डको नाममा भने अहिलेसम्म कुनै असिस्ट छैन ।

यस विश्वकपमा नर्वेले अहिलेसम्म ५ खेल खेल्दा ४ खेल जितेको छ भने समुह चरणमा फ्रान्स विरुद्ध पराजित भएको थियो ।
रमाइलो संयोग के छ भने त्यस खेलमा हालान्ड खेलेका थिएनन् । उनलाई सो खेलमा आराम दिइएको थियो। हालान्डले विश्वकपमा आफूले खेलेको चारै खेलमा गोल गरेका छन् ।

उनले समूह चरणमा इराक र सेनेगल विरुद्ध २-२ गोल गरेका थिए भने फ्रान्स विरुद्धको खेलमा उनलाई आराम दिइएको थियो । यस्तै राउण्ड अफ ३२ मा आइभरी कोस्ट विरुद्ध १ गोल गरेका हालान्डले अन्तिम १६ मा ब्राजिल विरुद्ध २ गोल गरेका छन् ।
नर्वेले अब क्वाटरफाइनलमा सहआयोजक मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँगग खेल्नेछ र हालान्ड सामु गोल संख्या अझै बढाउने अवसर समेत छ ।
पाँच पटकको कीर्तिमानी विश्व विजेता ब्राजिललाई नै हराएपछि अब हालान्ड विपक्षी टिमका लागि सबैभन्दा खतराको रुपमा देखिएका छन् ।
विश्व फुटबलमै अहिले हालान्ड सबेभ्नदा घातक स्ट्राइकरका रुपमा छन् भने उनको गोल औषत पनि गज्जबको छ । विश्वकपमा ४ खेलमै ७ गोल गरिसकेका उनले नर्वेको राष्ट्रिय टिमका लागि ५४ खेलमै ६२ गोल गरिसकेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा ६० भन्दा बढी गोल गर्ने खेलाडीहरुमा हालान्डको गोल औषत सबैभन्दा उत्कृष्ट (१:१५) छ । हालान्ड अहिले गज्जबको लयमा छन् ।उनले नर्वेका लागि पछिल्लो १४ प्रतिस्पर्धात्मक खेलमा २७ गोल गरिसकेका छन् । क्लब फुटबलमा म्यानचेस्टर सिटीका लागि गोल मेसिन बनिरहेका हालान्ड रास्ट्रिय टिम र विश्वकपका लागि पनि त्यही लयमा छन् ।

प्रतिक्रिया 4