२२ असार, काठमाडौं । आफ्ना एपहरूमा एआईबाट उत्पन्न सामग्रीहरूको बढ्दो उपस्थितिलाई लिएर तीव्र विरोध भइरहे पनि मेटा कम्पनीले आफ्नो एआई सामग्रीहरूको निर्माणलाई अघि बधाइरहेको छ।
कम्पनीले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ एप सार्वजनिक गरेको छ । जसको मद्दतले एआई प्रयोग गरेर विभिन्न गेम र डिजिटल टूलहरू बनाउन तथा तिनलाई अरूमाझ सेयर गर्न सकिनेछ।
‘पकेट’ नाम दिइएको यस एपले प्रयोगकर्तालाई आफूले बनाउन चाहेको कुराको सामान्य प्रम्प्ट टाइप गरेरै नयाँ फङ्सन वा डिजिटल सामग्री तयार गर्ने सुविधा दिन्छ। यस एपको गुगल प्ले स्टोरमा राखिएको विवरण अनुसार, पकेट साना डिजिटल टूल वा गेम (गिज्मोस) बनाउने र सेयर गर्ने एउटा रचनात्मक प्लेटफर्म हो।
गिज्मो भनेको एउटा सानो इन्टररेक्टिभ सामग्री हो जसमा ट्याप गरेर खेल्न वा चलाउन सकिन्छ र प्रयोगकर्ताले यसको वर्णन गरेकै भरमा मात्र पनि यस्तो गिज्मो तयार पार्न सक्छन्।
उदाहरणका लागि यदि कुनै प्रयोगकर्तालाई अन्तरिक्षका एलियनहरूलाई हराएर ब्रह्माण्डमा प्रभुत्व जमाउने खालको गेम चाहिएको छ भने उसले त्यही कुरा प्रम्प्टको रूपमा टाइप गर्न सक्छ र मेटाको एआई-संचालित एपले सोही अनुसारको गेम तयार पारिदिनेछ।
यसका साथै प्रयोगकर्ताहरूले अन्य मानिसहरूले बनाएका विभिन्न प्रोजेक्ट वा गिज्मोहरूको फिड पनि स्क्रोल गरेर हेर्न सक्छन्। यस फिडमा सबैभन्दा उत्कृष्ट र आकर्षक गिज्मोहरूलाई अगाडि ल्याउनका लागि प्रयोगकर्ताले तिनमा लाइक र कमेन्ट गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
प्रतिक्रिया 4