अण्डा धेरैको नियमित खानेकुरामा पर्छ । धेरैथरी पोषकतत्त्वले भरिपूर्ण अण्डा बालकदेखि वृद्धसम्मका लागि उपयोगी आहार हो । दिनदिनै १-२ वटा किन्नु भन्दा एकै पटक किन्दा सस्तो र सजिलो हुने भएकाले धेरैजसोले केही दिन वा एक महिनालाई नै पुग्ने गरी एक क्रेट वा त्यो भन्दा बढी अण्डा किनेर ल्याउने गर्छन् ।
अण्डा घरमा ल्याएर धेरै दिन राख्दा बिग्रिने सम्भावना हुन्छ । गर्मीको समयमा त झन् छिट्टै बिग्रिने जोखिम धेरै नै हुन्छ । बिग्रिएको अण्डा सेवन गर्दा त्यसबाट प्राप्त हुने पोषण पाइँदैन । त्यति मात्रै नभएर त्यस्तो अण्डा खाँदा विभिन्न स्वास्थ्य समस्या पनि निम्तिन सक्छ ।
अण्डा खानयोग्य छकि छैन भनेर प्रयोगशालामा लगेर गुणस्तर जाँच गर्न त सकिन्छ तर आम पहुँच हुने कुरा भएन । सधैं त्यसरी जाँच गर्न सम्भव पनि हुँदैन ।
त्यसो भए अण्डा बिग्रिएको छ कि छैन कसरी थाहा पाउने त ? यसलाई केही घरेलु उपाय प्रयोग गरी आफैँ जाँच गर्न पनि सकिन्छ ।
पानीको प्रयोग गर्ने
एउटा गिलास तथा अलि गहिरो कचौरामा पानी राख्नुहोस् । त्यसपछि अण्डालाई त्यसमा डुबाउनुहोस् । यदि अण्डा तेर्सो परेर बस्यो वा सुत्यो भने र यो ताजा छ भनेर बुझ्नुपर्छ । यदि अण्डा ठाडो गरी उभियो भने त्यो पूरानो भएको वा बिग्रिएको हुन सक्छ ।
हल्लाएर जाँच्ने
अण्डालाई कानको नजिक लगेर बिस्तारै हल्लाउनुहोस् । यदि भित्रबाट कुनै आवाज आएन भने, यो ताजा छ । यसरी हल्लाउँदा आवाज आयो भने केही खराबी छ भनेर जान्नुपर्छ । यो भयो अण्डा नफुटाइकन जाँच गर्ने तरिका । यसपछि अण्डा साँच्चै खराब हो कि होइन भनेर फुटाएपछि पनि जाँच गर्न सकिन्छ ।
यसको प्रकृति अवलोकन गर्ने
अण्डालाई फुटाएर कचौरा यसको भित्रको भाग खन्याउने । त्यसलाई राम्रोसँग नियाल्ने । अण्डाको सेतो भाग र पहेँलो भाग एकै ठाउँमा घोलिएको हुनु हुँदैन । अण्डाको सेतो भागको बीचमा पहेँलो भाग गोलो आकारमा स्पष्टसँग बसेको हुनुपर्छ । सेतो भाग र पहेँलो भाग छुट्टिएको स्पस्ट देखिनुपर्छ । यदि अण्डाको सेतो भाग धेरै पातलो भएको छ र पहेँलो भाग फैलिएको छ भने, अण्डा धेरै पुरानो हुन सक्छ।
गन्धबाट पहिचान गर्ने
बिग्रिएको अण्डाको गन्ध नराम्रो हुन्छ, र यदि सडेको खाना जस्तो गन्ध आउँछ भने त्यो अण्डा प्रयोग नगर्नुहोस् । गर्मीको समयमा अण्डालाई अलि दिनसम्म बिग्रिन नदिन फ्रिजमा राख्नुपर्छ ।
यदि अण्डालाई फ्रिजमा सही तापक्रममा राखिएको छ भने सामान्यतया ३ देखि ५ हप्तासम्म टिक्न सक्छन् ।
यसबाट पाउने उचित पोषणका लागि सकेसम्म छिटो प्रयोग गर्नु राम्रो हुन्छ ।
प्रतिक्रिया 4