+
+
Shares

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन, हाम्रो पनि गरिमा बच्नु पर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १७:३२

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, ‘हामीले यस सदनलाई गरिमामय भनेर सम्बोधन गर्दै गर्दा यस सदनमा रहेका सांसदहरूको गरिमा रहेन भने अनि आत्मसम्मानमा चोट पुग्यो भने यो सदनको गरिमा रहँदैन ।’

चुनाव लगत्तै रास्वपा नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले भने, ‘हामी डेमोक्रेसीमा विश्वास गर्ने जनप्रतिनिधिहरू सरकार चलेको केही दिन त त्यही अनुसारले चल्दै छ भन्ने कल्पना गरेका थियौं । केही समय बित्दै जाँदा फेरि पनि ब्युरोक्रेसीहरू सल्बलाएको हामीले देखेका छौं ।’

यहाँनेर उनले २१ फागुनको निर्वाचन अगाडि जनताको बीचमा गरेको बाचा स्मरण गरे ।

उनले भने, ‘भोट माग्दै जाँदा हामीले नागरिकसँग भनेका थियौं, हरेक नागरिकको समस्याहरू हामी समाधान गर्न तत समस्याको समाधानको निम्ति तत् मन्त्रालय होस् कुनै पनि संस्थामा पुग्छौं भनेका थियौं ।’

यस्तो वाचा अनुसार आफूहरूले काम गर्नुपर्ने उनले बताए । यहाँनेर उनले दोलखाको एक जना महिलाको विषय सुनाए ।

‘सन्दर्भ दोलखाको एकजना चेलीले मलाई भन्नुहुन्छ, भौतिक पूर्वाधार मन्त्रालयमा मेरो आफन्त, आफ्नो मान्छे नभएबापत मेरो जागिर गयो  । म सोध्न बुझ्न गएँ, सचिवलाई भेटेँ । सचिवको एन्सर (उत्तर) एकजना जनप्रतिनिधि सांसदलाई आउँछ, तपाईं अख्तियार जानुस्, अदालत जानुस्’ सांसद खरेलले भने ।

यहाँनेर उनले थपेका छन्, ‘अख्तियार र अदालत जानका लागि मलाई सचिवले सिकाउनु पर्दैन ।’

यस्ता विषय अरू पनि रहेको भनेर उनले संसद्मा राखेका छन् ।

‘अर्को त्यस्तै सन्दर्भ छ । कर्णालीका महामन्त्रीले अख्तियारलाई फोन गर्नुहुन्छ, यो दसौं वर्षदेखि अड्किरहेको फाइल छ । त्यो फाइल हेर्दिनु पर्‍यो भनेर एउटा कर्मचारीलाई उहाँले अनुरोध गर्दा सकेको गर्नुस्, तपाईंको फाइल १० वर्षसम्म पल्टाइँदैन भनेर आज त्यो शब्द दिइन्छ,’ सांसद खरेलले भने ।

यी उदाहरणमा उनले कर्मचारीको प्रवृत्तिप्रति आलोचना गरेका छन् ।

‘फेरि के ब्युरोक्रेसी सल्बलाएको हो ? सल्बलाएको हो भने मैले उहाँहरूलाई एउटा संज्ञा दिएको छु, फादर अफ द पब्लिक हेल्थ । सुन्दा राम्रो सुनिएला यो राम्रो शब्द हैन सभामुख महोदय, यो शब्द भनेको हैजा हो । फेरि पनि महामारी फैलँदै छ,’ खरेलले भनेका छन्, ‘यो महामारी फैलियो भने पुराना शक्तिहरू आफैं आफैं मात्रै बिग्रिएर सकिएको हैन, यही शक्तिले सकाएको हामीलाई पनि त्यसरी नसकोस् ।’

यस्तो अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने उनको आग्रह छ ।

‘सरकारलाई म ध्यानाकर्षण गराउँछु, प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने वाला छैन हाम्रो पनि गरिमा बच्नु पर्छ,’खरेलले भनेका छन् ।

यसका निम्ति सरकारले के गर्नुपर्छ भनेर पनि उनले सुझाएका छन् ।

‘यस सदन मार्फत सरकारलाई म ध्यानाकर्षण गराउँछु आज सांसदको भूमिका यहाँ आएर ध्यापध्याप पार्ने मात्रै हो ?’ खरेल भन्छन्, ‘यतिमा हामी सन्तुष्ट हुने छैनौं र नागरिक पनि सन्तुष्ट हुने वाला छैनन् ।’

पुरानो नियुक्तिलाई ल्याएर राख्दा विगतमा मन्त्रीको पद लागेको उदाहरण रहेको भन्दै उनले सुशासनका निम्ति सबैतिर उस्तै र समान व्यवहार हुनुपर्ने बताए ।

‘मन्त्रालयमा आफन्त भए बापत सहसचिवको श्रीमतीले जागिर खान हुन्छ र अर्को एकजना कोही नभए बापत अर्को एकजनाको जागिर जान सक्छ, जागिर जान्छ भने सुशासन कहाँ छ ? कहिलेबाट हामी सुशासन तयार गर्छौं ?’ सांसद खरेलको प्रश्न छ ।

सांसद खरेलले जनप्रतिनिधिहरू हरेक नागरिकको आफन्त बन्न सक्नुपर्ने बताएका छन् ।

अन्यथा, सुशासन कायम नरहने भन्दै उनले दोहोर्‍याए, ‘त्यसकारण यस गरिमामय सदन सधैंभरि रहनका लागि हरेक सांसदको गरिमा बच्नुपर्छ, आत्मसम्मान रहनुपर्छ । म यही भन्दै यस सरकारलाई सबै नागरिक र जनप्रतिनिधिहरूको गरिमा बचाउनलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?