२३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले मन्त्रालय सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा सार्वजनिक गरेका कामको सूचीमा अघिल्ला सरकारहरुकै पालामा सुरु भएका कामले निरन्तरता पाएको देखिएको छ ।
मन्त्रालयले शासकीय सुधार अन्तर्गत १ सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक तथा नियामक निकायको रुपमा रुपान्तरण गर्न विधेयकको अन्तिम मस्यौदा तयार पारिएको उल्लेख छ । यो मस्यौदा अघिल्लो संसदकै कार्यकालमा तयार भई दर्ता समेत भइसकेको थियो ।
संसद विघटनपछि मन्त्रालय फिर्ता आएको यो विधेयक लगत्तै पुनः दर्ता गर्न सकिने अवस्थामा थियो । यस अवधिमा सबै वायुसेवा कम्पनीहरूको हवाई टिकट अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था मिलाइएको समेत मन्त्रालयले दाबी गरेको छ । जबकि विगत लामो समयदेखि वायुसेवा कम्पनीका टिकट अनलाइनबाटै खरिद गर्न सकिन्छ ।
१ सय दिनको काममा नेपाल पर्यटन बोर्डको पुनर्संरचना सम्बन्धी प्रारम्भिक खाका तयार पारिएको विषय समेत समेटिएको छ । मन्त्रालयले एक वर्ष अगाडि नै कार्यकारी समितिमा व्यापक परिवर्तनको प्रस्ताव गर्दै नेपाल पर्यटन बोर्ड ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको थियो ।
प्रदेश र स्थानीय तहमा पर्यटन तथा आतिथ्यता सम्बन्धी तालिम सञ्चालन गरिएकोलाई मन्त्रालयले नयाँ उपलब्धि मानेको छ । यस्तो कार्यक्रम नेपाल पर्यटन बोर्ड र पर्यटन विभागबाट नियमित गरिँदै आएको छ ।
प्रतिक्रिया 4