+
+
Shares

च्यासलमा ओलीसँग सुरेन्द्र मानन्धरको नोकझोक

‘जुन शैली मिलेन भनेर आज यहाँ हामी उपस्थित छौं,’ मानन्धरले तर्क गरे, ‘त्यही शैलीलाई निरन्तरता दिइँदैछ । यो गलत हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १९:२५

२३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय सल्लाहकार सदस्यहरूको नोकझोंक परेको छ ।

निर्वाचन समीक्षा एवं पुनर्गठन कार्यदलले सल्लाहकारहरूसँग सुझाव लिन च्यासलमा राखेको कार्यक्रममा ओलीसँग सवाल–जवाफको स्थिति बनेको हो ।

स्रोतका अनुसार, अमृतकुमार बोहोरा, युवराज ज्ञवाली, केशव बडाल लगायत १० जनाले सुझाव राखिसकेपछि ओली च्यासल पुगेका थिए । ओली पुग्नासाथ सुझाव संकलन कार्यक्रम चलाइरहेका निरज आचार्यले आसन ग्रहण गराए । लगत्तै, बोल्नलाई समय दिए ।

सल्लाहकारहरूको सुझाव नसुनी ओली बोल्न थालेपछि डा.सुरेन्द्र मानन्धरले आपत्ति जनाए । ‘हामी यहाँ सुझाव राखिरहेका छौं । तर तपाईं आउनासाथ कसैको कुरा नसुनी बोल्न थाल्नुभयो,’ मानन्धरले भने, ‘नसच्चिने भनेको यही हो ।’

सुझाव नसुन्ने, तर आफ्नो कुरा एकोहोरो राख्ने शैलीकै कारण एमाले आजको स्थितिमा आएको तर्क मानन्धरले गरे । ‘जुन शैली मिलेन भनेर आज यहाँ हामी उपस्थित छौं,’ मानन्धरले तर्क गरे, ‘त्यही शैलीलाई निरन्तरता दिइँदैछ । यो गलत हो ।’

पूर्व केन्द्रीय सदस्य मानन्धरले सल्लाहकारहरूको सुझाव सुनेर मात्र ओलीले आफ्नो कुरा राख्नुपर्ने अडान लिएका थिए । तर ओलीले मानन्धरको कुरा मानेनन् । उल्टै अनुशासनको प्रसंग ल्याए ।

‘अनुशासन के हो ? विधि र पद्दति के हो ?,’ ओलीले भने, ‘जसरी चल्न खोजिँदैछ, त्यसरी जान सकिँदैन ।’

ओली बोलिरहेपछि अरु सल्लाहकारहरूले पनि आपत्ति जनाए । ‘तपाईंको कुरा हामीले वर्षौंदेखि सुन्दै आएका हौं । आज हाम्रो कुरा सुनेर जानुस् भनेर हामीले भन्यौं,’ एक नेताले भने, ‘तर पाठ पढाउन छोड्नु भएन ।’

सुझाव सुन्न आग्रह गरेकी पूर्व केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई त ओलीले ‘नानी’ सम्बोधन गरेर ‘चुप’ लाग्न भनेका थिए ।

‘जिद्दि नगर्नुस्, पहिले हाम्रो कुरा सुन्नुस् भनेर उषाकिरण तिम्सेनाले भन्नुभएको थियो,’ स्रोत भन्छ, ‘केपी ओलीले नानी तिमी चुप लाग् नै भन्नुभयो ।’

नोकझोक बढ्दै गएपछि कार्यक्रम सञ्चालक आचार्यले मिलाउन खोजेका थिए । सवाल–जवाफ गरिरहेका मानन्धरलाई उनले रोक्न खोजेका थिए ।

‘तपाईंले आफ्नो सुझाव राखिसक्नुभयो भनेर निरज आचार्यले रोक्न खोज्नुभएको थियो,’ स्रोत भन्छ ।

तर आचार्यलाई मानन्धरले प्रतिप्रश्न गरे । ‘मैले पनि १३ वर्षको उमेरदेखि यो पार्टीमा रगत पसिना बगाएको छु,’ मानन्धरले भनेका थिए, ‘तपाई ठालु प्रवृत्तिलाई प्रोत्साहन गर्ने काम नगर्नुस् ।’

अरु नेताले भन्दा पनि नरोकिएका ओली आफ्नो कुरा सकेर घर फर्किए । बाँकी सल्लाहकारहरूको सुझाव उपाध्यक्ष रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सुने, र टिपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?