+
+
Shares

सभामुखले रास्वपालाई दिए ‘संसद्‌मा जारी विपक्षीको विरोध’ हटाउने जिम्मा

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले यो विषय कहिलेसम्म लम्बिने हो ? भनेर प्रश्न गरेका थिए । त्यसपछि सभामुख अर्यालले यो विषयमा निकास निकाल्ने गरी भूमिका खेल्न सत्तारुढ दल रास्वपालाई भनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते २०:१८

२३ असार, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले ‘संसद्‌मा जारी विपक्षीको विरोध’ हटाउने जिम्मा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिएका छन् ।

संसद्मा हरेक दिन विपक्षीले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सीमा विवादबारेको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दैआएका हुन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

यो विषयमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत छलफल भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले यो विषय कहिलेसम्म लम्बिने हो ? भनेर प्रश्न गरे । सरकारले जवाफ दिएर निकास दिनुपर्ने आग्रह गरे ।

त्यसपछि सभामुख अर्यालले यो विषयमा निकास निकाल्ने गरी भूमिका खेल्न सत्तारुढ दल रास्वपालाई भनेका हुन् ।

२७ जेठमा प्रधानमन्त्रीको अभिव्यक्तिउपर संसद्मै परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका थिए ।

त्यसदिन परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भनेर उनले बचाउ गरेका थिए । सीमा विवादका विषय कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको पनि उनले बताएका थिए ।

साथै, नेपाल र भारत सीमाको विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको पनि प्रष्टीकरण दिए । प्रमाण संकलन गर्ने क्रममा अर्को देशसँग समेत संवाद गरेको विषय प्रधानमन्त्रीले राखेको पनि उनले बताएका थिए ।

तर, विपक्षीहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीबाट आएको जवाफमा चित्त बुझाएका छैनन् ।

प्रधानमन्त्रीले नै आफ्नो बोली सच्याउनुपर्ने उनीहरूको माग छ ।

यो विषयमा सभामुखले रुलिङ गर्नुपर्ने विपक्षीको माग छ । यो विषय कार्यव्यवस्था परामर्श समितिमा पनि उठेपछि सभामुखले समाधान गर्ने जिम्मा सत्तारुढ रास्वपालाई दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?