+
+
Shares

सुकुमवासीमाथिको अत्याचार अन्त्य गर्न मानवअधिकारकर्मीहरूको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १६:२७
फाइल तस्वीर

२४ असार, काठमाडौं । मानवअधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठिबास पीडित सुकुमवासीहरूमाथि भइरहेको अत्याचार तत्काल अन्त्य गर्न, उनीहरूको व्यवस्थापन तथा पुनर्स्थापनाको वाचा पूरा गर्न र जिम्मेवारमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

बुधबार जारी संयुक्त अपिलमा विगत ७० दिनभन्दा बढी समयदेखि होल्डिङ सेन्टरमा राखिएका उठिबास पीडितहरूलाई त्यहाँबाट हट्न अल्टिमेटम दिने, धाकधम्की दिने तथा भोकमरीको जोखिममा धकेल्ने कार्य अमानवीय, निन्दनीय र गम्भीर मानवअधिकार उल्लङ्घन भएको उल्लेख गरिएको छ।

जबर्जस्ती उठिबास गराई बासस्थान तथा जीविकोपार्जनको आधार खोसेपछि राज्यकै संरक्षणमा रहेका पीडितहरूलाई खाद्य असुरक्षा र भोकमरीतर्फ धकेल्नु गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई नेपालको प्रचलित कानुनअनुसार कसुरजन्य कार्य भएको उनीहरूको दाबी छ ।

उनीहरूले घटनाको तत्काल फौजदारी अनुसन्धान गरी जिम्मेवार पदाधिकारीमाथि कानुनबमोजिम मुद्दा चलाउन तथा पीडितहरूलाई नेपालको संविधानको धारा २१ (२) बमोजिम परिपुरणीय न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५ को दफा ४० अनुसार अत्यावश्यक खाद्यको पहुँचबाट वञ्चित गरी भोकमरीको अवस्था सिर्जना गर्ने तथा जीविकोपार्जनको आधारबाट विमुख हुने गरी बासस्थानविहीन बनाउने कार्यलाई कानुनले कसुरका रूपमा परिभाषित गरेको स्मरण गराउँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

अपिलमा राज्यले आफ्नै संरक्षणमा रहेका विस्थापित नागरिकहरूको आवास, खाद्य सुरक्षा र आधारभूत सेवाको सुनिश्चितता गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै होल्डिङ सेन्टरमा रहेका सबै पीडितका लागि तत्काल आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।

घटनाको प्रभावकारी अनुगमन, छानबिन र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार तथा सामाजिक न्यायसँग सम्बन्धित संसदीय समिति तथा संघीय संसद्का जनप्रतिनिधिहरूलाई समेत सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

अपिल गर्नेहरूमा अनिता न्यौपाने थपलिया, अनुपा अर्याल, अस्मिता सापकोटा, ओजस्वी केसी, ओजस्वी भट्टराई, कपिल अर्याल, कमला पन्थी, कुन्दन राज शर्मा, खगेन्द्र वली, गोबिन्द छन्त्याल, चरण प्रसाईं, जगत देउजा, जगत बस्नेत, जस्मिन वझा, तनुजा बस्नेत, निराजन थपिलया, बर्षा साह, विजय गौतम, मन्दिरा शर्मा, मरिसा टेलर, मोनिशा चौधरी, मोहना अन्सारी, भगवती अधिकारी, राजुप्रसाद चापागाईं, रूकमणी महर्जन, रूपा बस्नेत, रेश्मा थापा, रियाब बानिया, विकास बस्नेत, विश्वास नेपाली, विष्णु पोखरेल, सुसान्त नेपाली, सुष्मा न्यौपाने, सोम निरौला, सरिता लामा, सुमन अधिकारी र शाङ्केन राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?