+

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

२०८३ साउन  ६ गते ११:२७ २०८३ साउन ६ गते ११:२७

बाहिरबाट रगत ल्याउनु पर्दा समय, श्रम र पैसा बढी खर्च हुन्छ। साथै बिरामी र परिवारले अनिश्चितताको मनोवैज्ञानिक पीडा भोग्नुपर्छ ।

Shares
प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा अंग प्रत्यारोपण सेवा विस्तार भइरहे तापनि अधिकांश अस्पतालमा आधुनिक रक्त बैंक तथा ट्रान्सफ्युजन मेडिसिन सेवाको अभाव हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

नेपालमा पछिल्लो दशकमा स्वास्थ्य सेवाले उल्लेखनीय फड्को मारेको छ । आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा अंग प्रत्यारोपण एउटा अत्यन्त जटिल तर जीवनरक्षक प्रक्रिया हो । मिर्गौला, कलेजो र बोन म्यारो प्रत्यारोपण जस्ता जटिल उपचार नेपालमै भइरहेको छ ।

यसले हजारौं बिरामीलाई नयाँ जीवन दिएको छ । यो हाम्रो स्वास्थ्य प्रणालीका लागि गर्वको विषय हो ।

प्रत्यारोपण सेवा सफल हुनु केवल दक्ष शल्यचिकित्सक, अत्याधुनिक अप्रेसन थिएटर वा महँगा औषधिमा मात्रै निर्भर हुँदैन । यसको सफलताको सबैभन्दा महत्वपूर्ण आधार भनेको सुरक्षित, गुणस्तरीय तथा समयमै उपलब्ध हुने रक्त तथा रक्ततत्व सेवा हो  ।

विकसित राष्ट्रहरूमा प्रत्यारोपण केन्द्रसँगै अत्याधुनिक ट्रान्सफ्युजन मेडिसिन विभाग अनिवार्य रूपमा सञ्चालन गरिन्छ । नेपालमा भने धेरै अस्पतालले प्रत्यारोपण सेवा त सञ्चालन गरेका छन्, तर रक्त बैंक तथा ट्रान्सफ्युजन सेवाको विकासलाई प्राथमिकतामा राख्न सकेका छैनन् ।

एउटा गम्भीर विडम्बना के छ भने, अधिकांश प्रत्यारोपण सेवा सञ्चालन गर्ने अस्पतालहरूमा आधुनिक रक्त बैंक तथा ट्रान्सफ्युजन मेडिसिन सेवा आवश्यक स्तरमा विकास भएको छैन । रक्त बैंकलाई केवल सहायक विभागको रूपमा हेर्ने प्रवृत्तिले बिरामीको जीवनलाई गम्भीर जोखिममा पारिरहेको छ ।

रक्त बैंक : केवल रगत राख्ने ठाउँ होइन

आधुनिक रक्त बैंक भनेको रगत संकलन, परीक्षण र भण्डारण मात्र होइन । यो एउटा विशिष्टीकृत चिकित्सा केन्द्र हो जसमा इम्युनोहेमाटोलोजी परीक्षण, जटिल रक्त मिलान, एन्टिबडी पहिचान, दुर्लभ रक्तसमूह व्यवस्थापन, गुणस्तर नियन्त्रण र बिरामी सुरक्षासम्मका सम्पूर्ण सेवाहरू समावेश छन्।

प्रत्यारोपणका बिरामीमा सामान्य शल्यक्रिया गर्ने बिरामीको तुलनामा धेरै जटिल रक्तसम्बन्धी आवश्यकता हुन्छ, जुन साधारण रक्त बैंकले मात्र पूरा गर्न सक्दैन ।

ट्रान्सफ्युजन मेडिसिन एउटा स्वतन्त्र चिकित्सा विशेषज्ञताको क्षेत्र हो । प्रशिक्षित चिकित्सक तथा प्राविधिकहरूले बिरामीको रगत समूह निर्धारण, क्रस म्याचिङ, एन्टिबडी स्क्रिनिङ र रक्ततत्वको उचित छनोट गर्छन् ।

प्रत्यारोपणका बिरामीमा एबीओ र आरएच रगत समूहको सटिक मिलान अत्यन्त आवश्यक हुन्छ । गलत समूहको रगत प्राणघातक हुन सक्छ । मानव ल्युकोसाइट एन्टिजेन ( एचएलए) टाइपिङ प्रत्यारोपणको सफलतामा निर्णायक भूमिका खेल्छ भने प्यानल रियाक्टिभ (पीआरए) परीक्षणले अंग अस्वीकृतिको जोखिम पहिल्यै पत्ता लगाउन मद्दत गर्छ ।

प्रत्यारोपण र रगतको अविभाज्य सम्बन्ध

प्रत्यारोपण शल्यक्रिया विश्वकै सबभन्दा जटिल र दीर्घकालीन उपचार प्रक्रियाहरूमध्ये पर्छ । यस्तो शल्यक्रियाका क्रममा र शल्यक्रिया पछि बिरामीलाई ठूलो परिमाणमा रगत तथा रगतका अवयवहरू — जस्तै रातो रक्त कोशिक, प्लेटलेट, ताजा फ्रोजन प्लाज्मा र क्रायोप्रेसिपिटेट आवश्यक पर्छ।

मिर्गौला प्रत्यारोपण र रक्त बैंकको आवश्यकता

मिर्गौला प्रत्यारोपण नेपालमा सबैभन्दा बढी हुने प्रत्यारोपण हो । यस्ता बिरामीहरू प्रायः लामो समयसम्म डायलाइसिसमा बसेका हुन्छन् । पटक-पटक रगत चढाएका हुन्छन् । बारम्बार रक्तसञ्चार हुँदा शरीरमा विभिन्न रातो रक्तकोषविरुद्ध एन्टिबडी बन्न सक्छ । त्यसैले मिर्गौला प्रत्यारोपण गरिने बिरामामा सामान्य क्रस म्याच पर्याप्त हुँदैन ।

यस्ता बिरामीहरूका लागि एन्टिबडी स्क्रिनिङ, एन्टिबडी आइडेन्टिफिकेसन, एक्टेन्डेड फेनोटाइिपङ, कोम्ब्स टेस्टिङ र एडभान्स क्रस म्याचिङ जस्ता परीक्षणहरू अनिवार्य हुन्छन् । यी परीक्षण नगरी रक्तसञ्चार गर्दा गम्भीर हेमोलाइटिक ट्रान्सफुजन रियाक्सन हुन सक्छ । यसले प्रत्यारोपित मिर्गौलाको कार्य प्रभावित गर्न सक्छ । शल्यक्रियाका क्रममा र पछि औसत ५- ७ युनिट रगत आवश्यक पर्न सक्छ ।

कलेजो प्रत्यारोपण : सबैभन्दा बढी रगत चाहिने शल्यक्रिया

कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा धेरै रक्तसञ्चार आवश्यक पर्ने शल्यक्रियामध्ये एक हो । एउटा जटिल कलेजो प्रत्यारोपण शल्यक्रियामा २० देखि ५० युनिटसम्म विभिन्न थरीका रक्त तत्व आवश्यक पर्न सक्छ । यदि अस्पतालमा रगतका घटक विभाजन गर्ने सुविधा छैन भने यस्तो प्रत्यारोपण अत्यन्त जोखिमपूर्ण हुन्छ ।

कलेजो रोगका बिरामीहरूमा रक्त जम्मा नहुने समस्या सामान्य हुन्छ । प्लेटेलेट्स र प्लाज्माको अभावमा बिरामीको मृत्युदर बढ्छ । त्यसैले उच्च रूपमा ट्रान्सफ्युजन प्रोटोकल सञ्चालन गर्न सक्ने, २४ घण्टा चल्ने रक्त बैंक कलेजो प्रत्यारोपण अस्पतालका लागि अनिवार्य छ।

बोन म्यारो प्रत्यारोपण : सबैभन्दा जटिल ट्रान्सफ्युजन आवश्यकता

बोन म्यारो प्रत्यारोपण ट्रान्सफ्युजन मेडिसिनसँग सबैभन्दा बढी सम्बन्ध राख्ने सेवा हो । रक्तक्यान्सर, एप्लास्टिक एनिमिया, थालासिमिया जस्ता रोगहरूमा यो उपचार गरिन्छ । यस उपचारमा बिरामीको आफ्नै रोगप्रतिरोधी क्षमता पूर्णतः नष्ट गरिन्छ । यस अवस्थामा हप्तौंसम्म बिरामी पूर्णतः ट्रान्सफ्युजनमा निर्भर रहन्छ ।

यस्ता बिरामीहरूका लागि ल्युकोरेड्युस्ड र इराडियटेड रक्त घटकहरू अनिवार्य हुन्छन् । इरेडिएशन सुविधाबिना दिइएको रगतले रतगसम्बन्धी गम्भीर रोग निम्त्याउन सक्छ ।

सीएमभी-सेफ ब्लड, एचएलए सम्बन्धित परीक्षण र नियमित प्लेटेलेट सपोर्ट पनि उत्तिकै आवश्यक हुन्छ । यसर्थ बोन म्यारो प्रत्यारोपण गर्ने अस्पतालमा बल्ड इराडियटर तथा विशेषज्ञ ट्रान्सफ्युजन सेवा अनिवार्य मानिन्छ ।

प्रत्यारोपण अस्पतालमा रक्त बैंकको अभाव

नेपालमा केही गिने-चुने अस्पतालहरूले मिर्गौला र कलेजो प्रत्यारोपण सेवा प्रदान गरिरहेका छन्, र बोन म्यारो प्रत्यारोपण पनि सुरु भइसकेको छ। तर यी अस्पतालहरूमध्ये धेरैले आफ्नो परिसरभित्र आवश्यकता अनुसारको रक्त बैंक स्थापना गरेका छैनन् ।

कतिपय अस्पतालमा प्रत्यारोपण सेवा सञ्चालन भइरहेको छ, तर आधुनिक इम्युनोहेमाटोलोजी प्रयोगशाला छैन, नियमित एन्टिबडी स्क्रिनिङ हुँदैन, अटोमेटेड क्रसम्याचिङ उपलब्ध छैन, ब्लड इराडियसन सेवा छैन, र ट्रान्सफ्युजन चिकित्सक विशेषज्ञ पनि छैन ।

अधिकांश अस्पतालहरू नेपाल रेड क्रस सोसाइटी वा बाहिरी रक्त बैंकसँगको अनौपचारिक सम्झौतामा निर्भर रहेका छन् । यो व्यवस्था सामान्य बिरामीका लागि केही हदसम्म उपयुक्त होला, तर प्रत्यारोपण पर्नुपर्ने बिरामीका लागि अत्यन्त जोखिमपूर्ण छ।

रगत दिने निर्णय सामान्यतया शल्यचिकित्सक वा एनेस्थेसियोलोजिस्टले गर्छन्, जो यस विशेष क्षेत्रमा पर्याप्त प्रशिक्षित नहुन सक्छन् । यसले अनावश्यक वा गलत ट्रान्सफ्युजनको जोखिम बढाउँछ ।

नेपाल सरकारले अस्पताल स्थापना तथा सञ्चालनका मापदण्डहरू तोकेको भए पनि, प्रत्यारोपण सेवाका लागि अनिवार्य रक्त बैंक सुविधाको स्पष्ट र कठोर नियम कार्यान्वयनमा अझै गम्भीर सुधारको आवश्यकता छ ।

प्रत्यारोपण अस्पतालमा निम्न सेवा हुनुपर्छ:

–२४ घण्टा सञ्चालन हुने रक्त बैंक

–कम्पोनेन्ट तयारी प्रयोगशाला

–स्वचालित इम्युनोहेमेटोलोजी एनालाइजर

– एन्टिबडी स्क्रिनिङ तथा पहिचान सेवा

– रक्त विकिरण सेवा

–चिकित्सीय एफेरेसिस

– विशाल ट्रान्सफ्युजन प्रोटोकल

–क्वालिटी इन्स्योरेन्स प्रोग्राम

–रक्तसञ्चार प्रणाली

–अनुभवी ट्रान्सफ्युजन विशेषज्ञ

यी सेवाबिना प्रत्यारोपण कार्यक्रम पूर्ण मानिँदैन। यसले प्रत्यारोपण सेवालाई सहज र प्रभावकारी बनाउँछ । सफलता दर पनि बढाउँछ ।

प्रत्यारोपण अस्पतालमा रक्त बैंक नहुँदा आपत्कालीन अवस्थामा रगतको अभाव हुन सक्छ । शल्यक्रियाका क्रममा अप्रत्याशित रक्तस्राव भएमा बाहिरी रक्त बैंकबाट समयमा रगत नपुगेर बिरामीको ज्यान जोखिममा पर्न सक्छ।

बाहिरबाट रगत ल्याउनु पर्दा समय, श्रम र पैसा बढी खर्च हुन्छ। साथै बिरामी र परिवारले अनिश्चितताको मनोवैज्ञानिक पीडा भोग्नुपर्छ ।

नेपालले प्रत्यारोपण सेवामा उल्लेखनीय सफलता हासिल गरिरहेको यस समयमा रक्त बैंक तथा ट्रान्सफ्युजन मेडिसिन सेवामा पनि समान लगानी गर्ने समय आएको छ ।

ट्रान्सफ्युजन मेडिसिन प्रत्यारोपण रक्त बैंक
डा. विपिन नेपाल
लेखक
डा. विपिन नेपाल
ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९५२० एमबीबीएस, एमएस इशरत उल इबाद खान संस्थानमा मेडिकल अफिसर तथा सिफ्ट इन्चार्ज डाउ सेफ ब्लड ट्रान्सफ्युजन परियोजनामा सहसंयोजक, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ट्रान्सफ्युजन मेडिसिन विभाग प्रमुख, त्रिवि लायन्स ट्रान्सफ्युजन सेवा तथा अनुसन्धान केन्द्रका निर्देशक तथा विराट मेडिकल कलेजका प्राध्यापक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम

कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम