News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वविद्यालय अनुदान आयोगले ६ साउनदेखि उच्च शिक्षाका उपाधिहरूको समकक्षता निर्धारण गर्ने कार्य औपचारिक रूपमा सुरु गरेको छ ।
- आयोगका उपनिर्देशक दुलराज चिमोरियाका अनुसार विद्यार्थीले अब अनलाइनमार्फत नै आवेदन दिएर समकक्षताको प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
- समकक्षता निर्धारणका लागि ११ वटा क्लस्टर बनाई विज्ञको टोलीबाट प्रक्रिया अगाडि बढाइएको र विद्यार्थीले आफैं प्रमाणपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।
६ साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको काम सुरु गरेको छ । आयोगका उपनिर्देशक दुलराज चिमोरियाका अनुसार बुधबार (आज) देखि समकक्षता निर्धारणको काम सुरु गरिएको हो ।
यसअघि समकक्षता त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रबाट हुने गरेको थियो । केन्द्रले समकक्षताको आवेदन दिन बन्द गरिसकेको छ ।
र, १ साउनदेखि समकक्षता निर्धारणको जिम्मेवारी आयोगले पाएको हो । विश्वविद्यालय अनुदान आयोग ऐनलाई संशोधन गरी समकक्षताको काम आयोगलाई दिइएको हो । समकक्षताको लागि भौतिक रूपमा कार्यालयमा उपस्थित हुन पर्दैन ।
‘अनलाइनबाट हुन्छ । निवेदन हालेपछि ओटीपी मोबाइल, इमेलमा जान्छ । भौतिकरुपमा आउनु पर्दैन,’ उपनिर्देशक चिमोरियाले भने, ‘जहाँ बसेर पनि आवेदन दिन पाइयो ।’ हार्डकपीलाई निरुत्साहित गर्न अनलाइनलाई जोड दिइएको हो ।
समकक्षताका लागि कार्यालयमै पुगे पनि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । आयोगले संकाय अनुसारको ११ वटा क्लस्टर बनाएर विज्ञको टिमबाट समकक्षता निर्धारण गर्नेछ ।
‘प्रत्येक क्लस्टरमा ५ जना विज्ञ रहनु हुन्छ । समकक्षतामा विवाद नआओस् र सहिले मात्र पाओस् भनेर विज्ञ राखिएको हो । विज्ञले हेरेर दिन मिल्ने भनेपछि मात्र सर्टिफिकेट दिइन्छ,’ उनले भने, ‘समकक्षता निर्धारण भएपछि सर्टिफिकेट विद्यार्थीले आफैं प्रिन्ट गर्न मिल्छ ।’
त्रिविले हालसम्मको समकक्षताको डकुमेन्ट हस्तान्तरणको प्रक्रिया पनि अगाडि बढाएको छ ।
‘त्रिविले समकक्षताबारे सहयोग गरिरहेको छ । तथ्यांक दिने काम भएको छ । अन्य डकुमेन्ट हस्तान्तरणको प्रक्रिया पनि भइरहेको छ,’ चिमोरियाले भने, ‘त्रिवि र विश्वविद्यालय अनुदान आयोगबीच पहिले कसरी भएको थियो भनेर कार्यक्रम सञ्चालन गर्यौं ।’
प्रतिक्रिया 4