News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार आत्महत्याको समाचार प्रसारण भएको तीन–चार दिनभित्रै आत्महानीको जोखिम उच्च हुने गरेको पाइएको छ।
- सञ्चारमाध्यमले घटनाको विधि र स्थानको विस्तृत वर्णन नगरी मनोसामाजिक परामर्श तथा सहयोग सेवाबारे जानकारी दिनुपर्ने विशेषज्ञहरूको सुझाव छ।
पछिल्लो केही समययता काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा घटनाको विधि एउटै छ– आत्मदाह । यी घटनाले संसददेखि सडकसम्म बहस सिर्जना गरे भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाए ।
फेसबुक, टिकटक, युट्युब र अनलाइन समाचार प्लेटफर्ममा यस्ता सामग्री केही मिनेटमै हजारौं मानिससम्म पुग्छन् । सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको जिम्मेवारी हो, तर आत्महत्या जस्तो संवेदनशील विषयमा के सूचना दिने मात्र होइन, कसरी दिने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
मनोचिकित्सकका रूपमा हेर्दा पछिल्ला घटनाको प्रस्तुति, त्यसमा प्रयोग भएका भाषा, शीर्षक, तस्वीर र विवरणले जोखिममा रहेका व्यक्तिहरूमा पार्न सक्ने प्रभावप्रति चिन्ता छ । एउटा व्यक्तिले लिएको कठोर निर्णयलाई अत्यधिक प्रचार, नाटकीय प्रस्तुति वा अनुकरण गर्न सकिने ढाँचामा प्रस्तुत गरियो भने त्यसले अर्को जोखिममा रहेको व्यक्तिको सोचलाई प्रभावित गर्न सक्छ ।
विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार आत्महत्याको समाचार प्रसारण भएको ३–४ दिनभित्रै आत्महानीको जोखिम उच्च हुन्छ ।
विश्वभर देखिएको ‘देखासिकी’ को प्रभाव
सन् १७७४ मा जर्मन लेखक योहान वोल्फगाङ भोन गोथे को उपन्यास द सरोज अफ योङ वेरथर प्रकाशित भएपछि त्यससँग जोडेर आत्महत्याको नक्कल गर्ने घटनाबारे चर्चा सुरु भयो । यही घटनाबाट मनोविज्ञानमा ‘वेर्थर इफेक्ट’ भन्ने अवधारणा विकास भयो ।
पछि भएका धेरै अध्ययनहरूले पनि देखाए अनुसार आत्महत्याको समाचारलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा त्यसले केही व्यक्तिमा नक्कल गर्ने जोखिम बढाउन सक्छ । विशेषगरी एउटै विधि, स्थान वा परिस्थितिलाई बारम्बार प्रस्तुत गर्दा जोखिममा रहेका व्यक्तिहरू प्रभावित हुन सक्छन् ।
त्यसको विपरीत, कठिन परिस्थितिबाट बाहिर आएका, सहयोग लिएर जीवनमा फर्किएका र समस्या समाधानका बाटा खोजेका व्यक्तिका कथा प्रस्तुत गर्दा सकारात्मक प्रभाव पर्न सक्छ । यसलाई ‘पापागेनो इफेक्ट’ भनिन्छ ।
एक घटनाले अर्को घटना निम्त्याउन सक्छ
त्रिपुरेश्वरको व्यस्त क्षेत्रमा असार २५ गते भएको एउटा घटनाले समाजलाई गम्भीर प्रश्नतर्फ धकेल्यो । मुगुका गणेश नेपालीले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए ।
राजधानीमा पठाओ चलाउँदै संघर्षपूर्ण जीवन बिताइरहेका उनी यस्तो चरम निर्णयमा पुगेपछि घटनास्थलको वातावरण नै स्तब्ध बनेको थियो ।
घटनापछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइयो, चिकित्सकको प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्था सुधार हुन सकेन र उपचारकै क्रममा उनको मृत्यु भयो ।
एउटा नागरिक सार्वजनिक स्थानमै यस्तो पीडादायी निर्णयमा पुग्नुले उनको व्यक्तिगत पीडामात्र होइन, समाजका धेरै तहमा रहेका दबाब र निराशातर्फ पनि प्रश्न उठाएको छ ।
तर यो घटना सेलाउन नपाउँदै अर्को दिन फेरि आत्मदाहका दुई घटना सार्वजनिक भए । रौतहट र काठमाडौंको बुद्धनगरमा भएका ती घटनाले आत्मदाहका घटनाको बढ्दो क्रमप्रति थप चिन्ता बढाएको छ । दुवै घटनामा संलग्न व्यक्तिको उपचारकै क्रममा मृत्यु भयो ।
पछिल्ला दुई–तीन सातायता देशका विभिन्न भागमा आत्मदाहका प्रयासका धेरै वटा घटना सार्वजनिक भइसकेका छन् । तीमध्ये चार जनाको मृत्यु भइसकेको छ भने अन्य घाइतेको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
एकपछि अर्को गरी सार्वजनिक भइरहेका यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ– एउटा व्यक्ति आफ्नै शरीर जलाउने जस्तो चरम र पीडादायी निर्णयसम्म कसरी पुग्छ ?
के यी घटना केवल व्यक्तिगत मानसिक अवस्थासँग मात्र जोडिएका छन्, वा यसभित्र सामाजिक, आर्थिक, पारिवारिक र राज्य व्यवस्थासँग सम्बन्धित गहिरा कारणहरू पनि छन् ?
एउटै विधिबाट भएका आत्महत्याका घटनाहरूलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्दा त्यसले जोखिममा रहेका अन्य व्यक्तिहरूमा ‘कपीक्याट’ (नक्कल) आत्महत्या गर्न प्रेरित गर्न सक्छ ।
पहिलो घटनाको सनसनीपूर्ण रिपोर्टिङको दोस्रो र तेस्रो घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेलेको हुनसक्छ । समाचारले आत्मदाहको विधि, स्थान, र पीडितको पीडालाई नाटकीय रूपमा प्रस्तुत गर्दा जोखिममा रहेका व्यक्तिहरूले पनि त्यसै विधि अपनाउने सम्भावना बढ्छ ।
असंवेदनशील रिपोर्टिङका हानिकारक प्रभावहरू
असंवेदनशील रिपोर्टिङले आत्महत्याको व्यवहारमा नकारात्मक प्रभाव पार्छ । यसलाई ‘वेर्थर इफेक्ट’ पनि भनिन्छ । विशेषगरी आत्महत्याको समाचारमा स्थानसनसनीपूर्ण शीर्षक प्रयोग गर्ने, मृतकको जीवनी र विधिको विस्तृत वर्णन गर्ने र प्रख्यात व्यक्तिको आत्महत्यालाई महत्व दिने गरिएमा यसले ‘कपीक्याट’ आत्महत्या गर्न प्रोत्साहित गर्छ ।
यस्तो रिपोर्टिङले आत्महत्या गर्ने सोच भएका, मानसिक समस्या भएका, र आत्महत्याबाट परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई विशेषगरी प्रभावित पार्छ । गलत धारणा (जस्तैः आत्महत्या एक मात्र समाधान हो ) फैलाउने र विधि स्पष्ट पार्ने रिपोर्टिङले पनि जोखिम बढाउँछ ।
संवेदनशील रिपोर्टिङ सकारात्मक प्रभाव
जिम्मेवार र संवेदनशील रिपोर्टिङले ‘पापागेनो इफेक्ट’ पैदा गर्न सक्छ, जसले आत्महत्या रोकथाममा सहयोग पुर्याउँछ । यसले जीवनको तनावलाई सकारात्मक रूपमा सामना गरेको, आत्महत्याको सोचलाई जितेर अघि बढेका व्यक्तिहरूको कथा प्रस्तुत गर्दछ । यस्ता समाचारले जोखिममा रहेका पाठक÷दर्शकलाई सकारात्मक ऊर्जा र समस्या समाधानको बाटो देखाउँछ ।
अष्ट्रियाको भियना शहरमा गरिएको एक अध्ययन अनुसार सञ्चार माध्यम निर्देशिका पालना गर्न थालेपछि त्यो शहरको आत्महत्या ७५ प्रतिशतले घटेको थियो भने समग्र आत्महत्याको दर २० प्रतिशतले कम भएको थियो । यो सञ्चार माध्यमको जिम्मेवार प्रस्तुतिले कसरी जीवन बचाउन सक्छ भन्ने स्पष्ट प्रमाण हो ।
जिम्मेवार रिपोर्टिङ कसरी हुनसक्छ ?
१. सहयोग सेवाको जानकारी दिने
समाचारको अन्त्यमा २४ घण्टा राष्ट्रिय हेल्पलाइन १९६६ को नम्बर अनिवार्य राख्ने । आत्महत्या रोकथाम केन्द्र, मानसिक स्वास्थ्य सेवा, र परामर्श सेवाको जानकारी दिनुपर्छ ।
२. गलत धारणा नबढाउने
आत्महत्यालाई समस्याको एकमात्र समाधान हो भन्ने सन्देश नदिने । बरू, उचित उपचार र परामर्शले आत्महत्या रोक्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ ।
३. सकारात्मक कथा प्रस्तुत गर्ने
तनाव व्यवस्थापन र आत्महत्याको सोचलाई जितेका व्यक्तिको कथा प्रस्तुत गर्ने । यसले जोखिममा रहेकालाई आशा र ऊर्जा दिन्छ ।
४. प्रख्यात व्यक्तिको रिपोर्टिङ
मृत्युको विधि होइन, जीवनयात्रा र समाजप्रतिको योगदानलाई केन्द्रित गर्ने । मृत्युको कारण पुष्टि नभएसम्म अड्कलबाजी नगर्ने ।
५. शोकाकुल परिवारको सम्मान
भर्खरै घटना भएकाको अन्तर्वार्ता लिँदा गोपनीयता र भावनालाई ध्यान दिने । उनीहरू पनि जोखिममा हुन सक्छन् भन्ने हेक्का राखेर मात्र विषयवस्तुमा केन्द्रित हुनुपर्छ ।
६. सञ्चारकर्मीको मानसिक स्वास्थ्य
आफैंमा पर्ने नकारात्मक असरबारे सचेत हुने । आवश्यक परेमा सहायता खोज्न हिचकिचाउनु हुँदैन ।
७. दोहोर्याउने प्रवृत्ति नगर्ने
आत्महत्याको खबरलाई बारम्बार प्रकाशन÷प्रसारण नगर्ने । यसले जोखिम बढाउँछ ।
८. सनसनीपूर्ण भाषा नप्रयोग गर्ने
‘आत्महत्याको महामारी’ भन्नुको सट्टा ‘आत्महत्याको बढ्दो संख्या’ भन्ने । ‘सफल’ वा ‘असफल’ आत्महत्या भन्नुहुँदैन; ‘आत्महत्याबाट मृत्यु’ भन्नु उपयुक्त हुन्छ ।
९. विधि र साधनको वर्णन नगर्ने
डोरी, विषको नाम, मात्रा, प्रयोग गरिएको साधन र प्रक्रियाको विवरण नदिने । कुनै नौलो विधि भए त्यसलाई केन्द्रित नगर्ने ।
१०. स्थानको विस्तृत जानकारी नदिने
आत्महत्या भएको ठाउँलाई ‘डेडली स्पट’ वा आत्महत्या क्षेत्रको रूपमा चित्रित नगर्ने ।
११. सनसनीपूर्ण शीर्षक नराख्ने
शीर्षकमा ‘आत्महत्या’ शब्दको प्रयोग न्यूनतम गर्ने र विधि÷स्थानको विवरण नराख्ने ।
१२. फोटो/भिडियो प्रयोग नगर्ने
मृतकको फोटो, सुसाइड नोट, साधनको तस्बिर, वा भिडियो क्लिप प्रकाशन÷प्रसारण नगर्ने । परिवारको सहमतिबिना फोटो प्रयोग नगर्ने ।
डिजिटल मिडियाका लागि थप सावधानी
सामाजिक सञ्जालको युगमा आत्महत्याको सामग्री हाइपरलिङ्क, भिडियो क्लिप र फोटोको रूपमा छिटो फैलिन्छ । नेपाली अनलाइन पोर्टलहरूमा अहिले पनि आत्महत्याको घटनालाई ‘ब्रेकिङ न्यूज’ बनाउने, शीर्षकमा सनसनीपूर्ण शब्द प्रयोग गर्ने र विधिको वर्णन गर्ने प्रवृत्ति कायमै छ ।
यसले देशको बढ्दो आत्महत्या दरलाई अझ बढावा दिइरहेको छ । अनलाइन मिडियामा सर्च इन्जिन अप्टिमाइजेशनका लागि राखिने शीर्षकहरूले पनि आत्महत्यासँग सम्बन्धित हानिकारक शब्दहरू प्रयोग गर्न नहुने सुझाव छ । सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्छ ।
आत्महत्याका बारेमा गलत धारणा र त्यसको वास्तविकता
गलत धारणा : आत्महत्या गर्ने दृढ संकल्प भएकालाई बचाउन सकिँदैन
वास्तविकता : उचित उपचार र परामर्शले आत्महत्या रोक्न सकिन्छ ।
गलत धारणा : आत्महत्याको कुरा खुलेर गर्दा झन् त्यसका लागि उक्साउँछ ।
वास्तविकता : खुलेर कुरा गर्दा समस्या समाधानका वैकल्पिक उपायबारे सोच्न मद्दत पुग्छ ।
गलत धारणा : आवेगमा मात्र आत्महत्या हुन्छ ।
वास्तविकता : अधिकांश केसमा मानसिक अवस्थाका कारण आत्महत्या हुन्छ ।
गलत धारणा : न्यून आर्थिक अवस्थामा आत्महत्या बढी हुन्छ
वास्तविकता : आत्महत्या कुनै सामाजिक–आर्थिक सीमाभित्र सीमित छैन ।
प्रतिक्रिया 4