News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वभर अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाइँदैछ, जसको उद्देश्य शिशुको पोषण र स्वास्थ्यका लागि आमाको दूधको महत्त्वबारे जनचेतना जगाउनु हो।
विश्वभरि नै अगष्ट महिनाको पहिलो सातालाई स्तनपान सप्ताहका रूपमा मनाउने गरिन्छ । पछिल्ला वर्षमा नेपालमा पनि यसलाई औपचारिकतामा मात्र सीमित नराखी जनचेतना फैलाउने एउटा महत्त्वपूर्ण अवसरका रूपमा मनाउन थालिएको छ ।
सन् १९९० मा इटालीको फ्लोरेन्स शहरमा भएको एक ऐतिहासिक बैठकमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र युनिसेफले संयुक्तरुपमा ‘इन्नोसेन्टी घोषणापत्र’ पारित गरेका थिए ।
शिशुको पोषण, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न स्तनपानलाई प्रवर्धन गर्ने उद्देश्यका साथ त्यो घोषणापत्र जारी गरिएको थियो । त्यसै घोषणापत्रको सम्झनामा र विश्वभर स्तनपानको महत्त्वबारे जागरण ल्याउन सन् १९९२ देखि ‘वर्ल्ड एलायन्स फर ब्रेस्टफिडिङ एक्सन’ (डब्लूएबीए) को अगुवाइमा हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । अहिले यो अभियान विश्वका १२० भन्दा बढी देशहरूमा मनाइन्छ ।
नेपाली समाजमा स्तनपानलाई आमाको पहिलो दायित्व, कर्तव्य र प्राकृतिक धर्म मानिन्छ । ‘आमाको दूधभन्दा ठूलो कुरा केही हुँदैन’ भन्ने सामाजिक मान्यता यहाँ जीवित छ । यो हरेक आमाको दायित्व हो भनी बुझेका छन् र यो परम्परामा स्थापित छ । तर पछिल्लो समयमा आधुनिक जीवनशैली, व्यस्तता, कामको चाप र बजारमा पाइने बट्टाको दूधको भ्रामक विज्ञापनका कारण नेपालमा पनि पूर्णस्तनपान गराउने दरमा कमी देखिन थालेका छन्।
कामकाजी महिलाहरूका लागि कार्यस्थलमा स्तनपान वा दूध निचोरेर राख्ने व्यवस्था तथा साधन छैनन् । बट्टाको दूध आमाको दूध जस्तै पोष्टिक हुन्छ भन्ने गलत धारणा पनि धेरैमा छ ।
अझ कसैकसैमा त बट्टाको दूधलाई अझ राम्रो भन्ने धारणा पनि बनेको पाइन्छ । शिशु जन्मिएको पहिलो घण्टामै बिघौती दूध (कोलेस्ट्रम) खुवाउनुपर्छ र ६ महिनासम्म केवल आमाको दूध मात्रै (पानी पनि नदिई) खुवाउनुपर्छ भन्ने चेतनाको कमी छ । त्यसैले परम्परागत रूपमा दायित्व मानिए तापनि आधुनिक चुनौतीहरूसँग जुध्न र आमाहरूलाई स्तनपानका लागि नेपालमा यो सप्ताह मनाउनु अत्यन्तै जरुरी छ ।
स्तनपान केवल बच्चाको पेट भर्ने माध्यम मात्र होइन । यो आमा र बच्चा दुवैका लागि स्वास्थ्य, भावनात्मक र आर्थिक दृष्टिले जीवनदायी वरदान हो । शिशुका लागि आमाको पहिलो दूध प्राकृतिक खोपसरह हो । यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
झाडापखाला, विभिन्न श्वासप्रश्वासको सङ्क्रमणहरू, कानको सङ्क्रमणका साथै कुपोषणबाट पनि बचाउँछ । अध्ययनहरूले स्तनपान गर्ने बच्चाहरूको बौद्धिक क्षमता (आईक्यू) र मानसिक विकास राम्रो हुने देखाएको छ । शिशुलाई मात्र नभई स्तनपानले आमाका लागि फाइदा पुग्ने हुन्छ । सुत्केरी भइसकेपछि पाठेघर सामान्य अवस्थामा ल्याउन यसले मद्दत गर्छ ।
त्यसैले अत्यधिक रक्तस्रावलाई कम गर्छ । यसका साथै स्तन क्यान्सर, अण्डासयको क्यान्सर, टाइप–२ मधुमेह र मुटुरोगको सम्भावना समेत कम गर्छ । शिशुलाई पूर्णस्तनपान गराउँदा सुरुवाती महिनाहरूमा प्राकृतिक रूपमा गर्भधारणको जोखिम समेत कम हुन्छ । त्यसैले स्तनपान शिशुका लागि अमृत त हो नै आमाका लागि पनि उत्तम हो ।
स्तनपानले आमा र शिशुबीच गहिरो माया र आत्मीयता निर्माण गर्छ । स्तनपानले शिशु रमाउने र आमाले फरक आनन्द महसुस गर्ने हुन्छ । शिशुले पाउने एक मात्र निःशुल्क दूध हो । अन्य सबै किसिमका दूधहरू किन्नु पर्छ, र तयार गर्नु पर्छ । स्तनपानले बट्टाको दूध, बोतल, इन्धन र औषधिको खर्च शून्य बनाउँछ । र परिवारको आर्थिक भार घटाउँछ । स्तनपानलाई कुनै प्याकेजिङ आवश्यक हुदैन, फोहोर वा प्रदूषण गराउदैन । यो पूर्ण रूपमा वातावरणमैत्री छ ।
धेरैलाई लाग्छ, स्तनपान गराउनु केवल आमाको मात्रै जिम्मेवारी हो । तर त्यसो होइन, यो सिंगो परिवार र समाजको साझा दायित्व हो । श्रीमान् र परिवारका सदस्यहरूले आमालाई पोषिलो खानेकुरा, आराम, र मानसिक तनावमुक्त वातावरण दिनुपर्छ । घरका कामहरूमा सहयोग गर्नुपर्छ र स्तनपानका लागि प्रोत्साहन गर्नुपर्छ ।
स्वास्थ्य संस्था÷स्वाथ्यकर्मीले सुत्केरी हुनासाथ पहिलो घण्टामै स्तनपान गराउन प्रोत्साहन गर्ने र सही तरिका सिकाउने गर्नुपर्छ । कामकाजी आमाहरूलाई कार्यालय÷कार्यस्थलमा स्तनपान कक्षको वा उचित व्यवस्था गर्ने तथा नियमानुसार सुत्केरी बिदा सुनिश्चित गर्नुपर्छ । सरकार र नीति निर्माताहरूले स्तनपान सुरक्षा सम्बन्धी कानुन बनाउने र नीतिगत सुधार गर्नुपर्छ । सार्वजनिक ठाउँहरूमा आमाहरूलाई सहज रूपमा स्तनपान गराउने वातावरण र सम्मानजनक दृष्टिकोण दिनु आवश्यक छ ।
स्तनपान आमा र शिशुको प्राकृतिक अधिकार हो । आमाको दूधले शिशुलाई स्वस्थ, प्रखर र बलियो बनाउँछ भने आमालाई दीर्घकालीन रूपमा निरोगी राख्न मद्दत गर्छ । आजैका दिनदेखि हामी सबैले आ–आफ्नो ठाउँबाट आमाहरूलाई स्तनपानका लागि सहज र अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाऔँ । ‘आमाको दूध शिशुको अधिकार, स्तनपानको संरक्षण र प्रवर्धन हाम्रो साझा सरोकार ।’
प्रतिक्रिया 4