+

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

२०८३ साउन  १७ गते १९:०० २०८३ साउन १७ गते १९:००

स्तनपान आमा र बच्चा दुवैका लागि स्वास्थ्य, भावनात्मक र आर्थिक दृष्टिले जीवनदायी वरदान हो ।

Shares
आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वभर अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाइँदैछ, जसको उद्देश्य शिशुको पोषण र स्वास्थ्यका लागि आमाको दूधको महत्त्वबारे जनचेतना जगाउनु हो।

विश्वभरि नै अगष्ट महिनाको पहिलो सातालाई स्तनपान सप्ताहका रूपमा मनाउने गरिन्छ । पछिल्ला वर्षमा नेपालमा पनि यसलाई औपचारिकतामा मात्र सीमित नराखी जनचेतना फैलाउने एउटा महत्त्वपूर्ण अवसरका रूपमा मनाउन थालिएको छ ।

सन् १९९० मा इटालीको फ्लोरेन्स शहरमा भएको एक ऐतिहासिक बैठकमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र युनिसेफले संयुक्तरुपमा ‘इन्नोसेन्टी घोषणापत्र’ पारित गरेका थिए ।

शिशुको पोषण, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न स्तनपानलाई प्रवर्धन गर्ने उद्देश्यका साथ त्यो घोषणापत्र जारी गरिएको थियो । त्यसै घोषणापत्रको सम्झनामा र विश्वभर स्तनपानको महत्त्वबारे जागरण ल्याउन सन् १९९२ देखि ‘वर्ल्ड एलायन्स फर ब्रेस्टफिडिङ एक्सन’ (डब्लूएबीए) को अगुवाइमा हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । अहिले यो अभियान विश्वका १२० भन्दा बढी देशहरूमा मनाइन्छ ।

नेपाली समाजमा स्तनपानलाई आमाको पहिलो दायित्व, कर्तव्य र प्राकृतिक धर्म मानिन्छ । ‘आमाको दूधभन्दा ठूलो कुरा केही हुँदैन’ भन्ने सामाजिक मान्यता यहाँ जीवित छ । यो हरेक आमाको दायित्व हो भनी बुझेका छन् र यो परम्परामा स्थापित छ । तर पछिल्लो समयमा आधुनिक जीवनशैली, व्यस्तता, कामको चाप र बजारमा पाइने बट्टाको दूधको भ्रामक विज्ञापनका कारण नेपालमा पनि पूर्णस्तनपान गराउने दरमा कमी देखिन थालेका छन्।

कामकाजी महिलाहरूका लागि कार्यस्थलमा स्तनपान वा दूध निचोरेर राख्ने व्यवस्था तथा साधन छैनन् । बट्टाको दूध आमाको दूध जस्तै पोष्टिक हुन्छ भन्ने गलत धारणा पनि धेरैमा छ ।

अझ कसैकसैमा त बट्टाको दूधलाई अझ राम्रो भन्ने धारणा पनि बनेको पाइन्छ । शिशु जन्मिएको पहिलो घण्टामै बिघौती दूध (कोलेस्ट्रम) खुवाउनुपर्छ र ६ महिनासम्म केवल आमाको दूध मात्रै (पानी पनि नदिई) खुवाउनुपर्छ भन्ने चेतनाको कमी छ । त्यसैले परम्परागत रूपमा दायित्व मानिए तापनि आधुनिक चुनौतीहरूसँग जुध्न र आमाहरूलाई स्तनपानका लागि नेपालमा यो सप्ताह मनाउनु अत्यन्तै जरुरी छ ।

स्तनपान केवल बच्चाको पेट भर्ने माध्यम मात्र होइन । यो आमा र बच्चा दुवैका लागि स्वास्थ्य, भावनात्मक र आर्थिक दृष्टिले जीवनदायी वरदान हो । शिशुका लागि आमाको पहिलो दूध प्राकृतिक खोपसरह हो । यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

झाडापखाला, विभिन्न श्वासप्रश्वासको सङ्क्रमणहरू, कानको सङ्क्रमणका साथै कुपोषणबाट पनि बचाउँछ । अध्ययनहरूले स्तनपान गर्ने बच्चाहरूको बौद्धिक क्षमता (आईक्यू) र मानसिक विकास राम्रो हुने देखाएको छ । शिशुलाई मात्र नभई स्तनपानले आमाका लागि फाइदा पुग्ने हुन्छ । सुत्केरी भइसकेपछि पाठेघर सामान्य अवस्थामा ल्याउन यसले मद्दत गर्छ ।

त्यसैले अत्यधिक रक्तस्रावलाई कम गर्छ । यसका साथै स्तन क्यान्सर, अण्डासयको क्यान्सर, टाइप–२ मधुमेह र मुटुरोगको सम्भावना समेत कम गर्छ । शिशुलाई पूर्णस्तनपान गराउँदा सुरुवाती महिनाहरूमा प्राकृतिक रूपमा गर्भधारणको जोखिम समेत कम हुन्छ । त्यसैले स्तनपान शिशुका लागि अमृत त हो नै आमाका लागि पनि उत्तम हो ।

स्तनपानले आमा र शिशुबीच गहिरो माया र आत्मीयता निर्माण गर्छ । स्तनपानले शिशु रमाउने र आमाले फरक आनन्द महसुस गर्ने हुन्छ । शिशुले पाउने एक मात्र निःशुल्क दूध हो । अन्य सबै किसिमका दूधहरू किन्नु पर्छ, र तयार गर्नु पर्छ । स्तनपानले बट्टाको दूध, बोतल, इन्धन र औषधिको खर्च शून्य बनाउँछ । र परिवारको आर्थिक भार घटाउँछ । स्तनपानलाई कुनै प्याकेजिङ आवश्यक हुदैन, फोहोर वा प्रदूषण गराउदैन । यो पूर्ण रूपमा वातावरणमैत्री छ ।

धेरैलाई लाग्छ, स्तनपान गराउनु केवल आमाको मात्रै जिम्मेवारी हो । तर त्यसो हो‍इन, यो सिंगो परिवार र समाजको साझा दायित्व हो । श्रीमान् र परिवारका सदस्यहरूले आमालाई पोषिलो खानेकुरा, आराम, र मानसिक तनावमुक्त वातावरण दिनुपर्छ । घरका कामहरूमा सहयोग गर्नुपर्छ र स्तनपानका लागि प्रोत्साहन गर्नुपर्छ ।

स्वास्थ्य संस्था÷स्वाथ्यकर्मीले सुत्केरी हुनासाथ पहिलो घण्टामै स्तनपान गराउन प्रोत्साहन गर्ने र सही तरिका सिकाउने गर्नुपर्छ । कामकाजी आमाहरूलाई कार्यालय÷कार्यस्थलमा स्तनपान कक्षको वा उचित व्यवस्था गर्ने तथा नियमानुसार सुत्केरी बिदा सुनिश्चित गर्नुपर्छ । सरकार र नीति निर्माताहरूले स्तनपान सुरक्षा सम्बन्धी कानुन बनाउने र नीतिगत सुधार गर्नुपर्छ । सार्वजनिक ठाउँहरूमा आमाहरूलाई सहज रूपमा स्तनपान गराउने वातावरण र सम्मानजनक दृष्टिकोण दिनु आवश्यक छ ।

स्तनपान आमा र शिशुको प्राकृतिक अधिकार हो । आमाको दूधले शिशुलाई स्वस्थ, प्रखर र बलियो बनाउँछ भने आमालाई दीर्घकालीन रूपमा निरोगी राख्न मद्दत गर्छ । आजैका दिनदेखि हामी सबैले आ–आफ्नो ठाउँबाट आमाहरूलाई स्तनपानका लागि सहज र अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाऔँ । ‘आमाको दूध शिशुको अधिकार, स्तनपानको संरक्षण र प्रवर्धन हाम्रो साझा सरोकार ।’

बाल स्वास्थ्य शिशु स्तनपान
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)