१९ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति बोल्दाबोल्दै ढले ।
हिजो साँझ ७ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बोलाइएका थपलियालाई मध्य रातसम्म राजीनामा गर्न दबाब दिइएको थियो । ‘पार्टीका अध्यक्ष, प्रदेश इन्चार्ज र अरु सांसदहरूले तपाईंले सक्नु हुन्न, छोड्नुस भनेपछि उहाँ (थपलिया) बढी नै भावुक हुनुभयो,’ एक नेताले घटनाबारे जानकारी दिँदै भने, ‘५० वर्ष बढी योगदान गरेको पार्टीमा आज म कसरी अयोग्य भएँ भनेर बोल्दाबोल्दै बेहोस हुनुभयो ।’ उनी बोल्दा बोल्दै स्वास्थ्य समस्याका कारण लडेका थिए ।
त्यसपछि थपलियालाई सांसदहरू केशव पोखरेल, दावा दोर्जे लामा लगायतले मध्यपुर ठिमी अस्पताल ल्याएका थिए । यसपछि पनि गुन्डुको छलफल चलिरह्यो ।
स्रोतका अनुसार, ओलीले थपलियाले मुख्यमन्त्री चलाउन सक्दैन भन्ने पुष्टि भएको तर्क गरेका थिए । ‘यति सहन नसकेर ढल्नुभयो । कसरी नेतृत्व गर्नुहुन्छ,’ ओलीले भनेका थिए, ‘राप्रपाको समर्थन भोलिसम्म जसले ल्याउँछ, उसैले नेतृत्व गर्ने हो ।’
हिजो गुन्डुमा भएको छलफलमा १७ जना सांसद सहभागी थिए । तीमध्ये १४ जनाले गत साता नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउनेगरी हस्ताक्षर गरिसकेका थिए ।
तर गत शुक्रबार ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने वचन दिएका थिए । किरण थापामगर सहितको छलफल राखेर ओलीले भनेपछि थपलिया मुख्यमन्त्री बन्नेमा ढुक्क थिए ।
‘अचानक प्रदेश इन्चार्ज मार्फत गुन्डु बोलावट भयो,’ थपलिया निकट स्रोत भन्छ, ‘त्यहाँ प्रदेशका अरु सांसदहरू पनि बोलाइएको रहेछ ।’ छलफलको प्रवेश सिधै सरकार निर्माणको कुराबाट भयो ।
प्रदेश सांसदहरूले थपलियाको योग्यतामाथि प्रश्न उठाए । राप्रपाका सांसदहरूलाई मनाउने काम थपलियाबाट हुन नसक्ने तर्क उनीहरूको थियो ।
‘बोल्ने सांसदले जेएन (जगन्नाथ) ले सक्नुहुन्न भन्ने तरिकाले तर्क गर्ने अनि केपी ओलीले बीचबीचमा थप्ने काम गरिरहनुभयो,’ स्रोत भन्छ, ‘यो क्रम मध्यरातसम्मै पुग्यो ।’
छलफल लामै चलेपछि बागमती इन्चार्ज रहेका महेश बस्नेतले अध्यक्षको निर्देशन पालना हुने बताए । महशले यसो भनेपछि थपलियाले ‘म पनि पार्टीकै मान्छे भएको’ तर्क गरेका थिए ।
यसक्रममा ओलीले सांसदहरूको हस्ताक्षरको प्रसंग उठाए । ‘हस्ताक्षर पनि गरिसकेको भन्ने सुनेको थिएँ । के भएको हो ?,’ ओलीले भनेका थिए ।
जवाफ भने बस्नेतले दिएका थिए । ‘हस्ताक्षर किन चाहियो र सांसदहरूको कुराबाटै प्रष्ट छैन र ?’ महेश बस्नेतलाई बल पुग्नेगरी भारती पाठक, दिनेशचन्द्र देवकोटा लगायतले कुरा राखे ।
प्रतिक्रिया 4