News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
- परराष्ट्रमन्त्री खनालले दुई मुलुकबीच व्यापार, स्वास्थ्य, शिक्षा र लगानीका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
- राजदूत पार्कले नेपालमा रहँदाको अनुभव स्मरण गर्दै नेपालको सांस्कृतिक विविधताको प्रशंसा गर्नुभएको छ।
२० साउन, काठमाडौं । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए ।
उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने बताए ।
उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ । अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ। अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ ।’
शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए ।
साथै, परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबीचको सम्बन्धको नमुना रहेको बताए ।
उनले ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको बताए ।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कले नेपालमा रहेर गरेको सेवाप्रति परराष्ट्रमन्त्री खनालले प्रशंसा गरे ।
राजदूत पार्कले आफू जहाँ गए पनि नेपाललाई कहिल्यै नबिर्सने बताए । उनले नेपालको सांस्कृतिक विविधताको समेत प्रशंसा गरे ।
प्रतिक्रिया 4