News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्रीले सांसदका प्रश्नको जवाफ नदिने भनी अभिव्यक्ति दिएपछि संघीय संसद्मा व्यापक प्रतिरोध भएको छ ।
- कांग्रेस नेतृ कमला देवी पन्तले मन्त्रीको जवाफ नदिने शैलीप्रति संसद्मै व्यङ्ग्य गर्दै विरोध जनाएकी छन् ।
- सांसद मदन कुमारी शाह गरिमाले संसद्मा प्रश्न सोध्नु सांसदको अधिकार र सरकारको कर्तव्य रहेको बताउँदै मन्त्रीको व्यवहारको आलोचना गरिन् ।
२१ साउन, काठमाडौं । गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्मै प्रतिरोध भएको छ ।
प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् ।
मनसुनजन्य विपद्मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । यति ढिलो प्रस्ताव किन ल्याएको ? भनेर भनिदिनुहोला भन्ने डर लाग्यो ।’
नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदन कुमारी शाह गरिमाले गृहमन्त्री गुरुङको शैली शोभनीय नरहेको बताइन् ।
उनले भनेकी छन्, ‘प्रश्नको उत्तर दिने क्रममा माननीय गृहमन्त्रीज्यूले जुन शैलीमा, जुन भाषामा आफूलाई यहाँ प्रकट गर्नुभयो । यसप्रति म साह्रै दुःख प्रकट गर्न चाहन्छु, असहमति जनाउन चाहन्छु ।’
शाहका अनुसार सोध्ने, प्रश्न गर्ने सांसदको अधिकार हो । त्यसप्रति जवाफदेही हुने सरकारको कर्तव्य हो ।
‘संसद्मा छलफल गर्दा फेरि भन्न सक्नुहुन्छ तिमीहरूले हिजोका दिनमा के गर्यौ ? भनेर । यस्तो प्रश्न आउन पनि सक्छ’ उनले थपिन् ।
विगतमा सरकारले गरेका कामका आधारमा अहिले सुविधा र प्रविधिको प्रयोग भइराखेकामा ख्याल गर्न आग्रह गरिन् । विगतका सरकारले जति गर्नुपर्ने थियो त्यति गर्न नसकेको हुन सक्ने भन्दै उनले फरक र नयाँ ढंगले काम गर्नका लागि निर्वाचनमार्फत रास्वपालाई बलियो बनाएर पठाएको स्मरण गराइन् ।
मन्त्रीलाई संसद्मा सत्तारुढ पार्टीका सांसदले समेत प्रश्न गर्ने गरेको ख्याल गर्न पनि उनले आग्रह गरिन् ।
‘विगतमा हाम्रो पार्टीको सरकार हुँदा पनि हामीले यसै गरी प्रश्न सोध्ने गरेका थियौं’ उनले भनिन्, ‘सरकार जसको भए पनि हामी सांसद्को हैसियतले प्रश्न सोधिरहने छौं ।’
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल जुन मानसिकताका साथ संसद्मा आफू उपस्थित भएको हो त्यो खलबलिएको र आफू परिवर्तन हुन पुगेको बताउँछन् ।
सांसद पोर्तेल थप्छन्, ‘मन्त्री ज्यूले फेरि भनिहाल्नुहुन्छ, गत वर्ष तिमीहरूको सरकार थियो, त्यो बेला पनि यस्तै विपद् भएको थियो । अघिल्लो वर्ष पनि यस्तो भएको थियो ।’
प्रतिक्रिया 4