२२ साउन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट प्रक्रियालाई कुनै पनि निहित स्वार्थ भएका व्यक्ति वा समूहले प्रभावित पार्न नहुने बताएका छन् ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएकाहरुमध्ये अल्पसूचीमा परेका उम्मेदवारहरुको आज अन्तर्वार्ता सुरु हुनुअघि डा. केसीले विज्ञप्ति जारी गरी सो कुरा बताएका हुन् ।
अल्पसूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने छन् । यीमध्ये निरञ्जन पराजुलीले अन्तर्वार्तामा सहभागी नहुने घोषणा गरेका छन् ।
हाल दार्चुलाको व्यास गाउँपालिकास्थित छांग्रुमा नि:शुल्क स्वास्थ्य शिविर चलाइरहेका डा. केसीले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दल वा निजी क्षेत्रसँग आबद्ध तथा स्वार्थ बाझिने व्यक्तिलाई पदाधिकारीमा नियुक्त गरिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
डा. केसीले गत साउन ११ गते २४औं सत्याग्रहका क्रममा सरकारसँग भएका सहमतिहरू अक्षरश: कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा सरकारले माफियाको दबाबमा परेर सहमतिका बुँदाहरू उल्लङ्घन गरे, निजी मेडिकल कलेजमा हुने श्रम शोषण, ठगी, आर्थिक अनियमितता तथा अपराधको छानबिन र कारबाही नगरे वा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता घटाए स्थगित गरिएको २४औं सत्याग्रहसहितको आन्दोलन पुन: सुरु गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
प्रतिक्रिया 4