+
+
Shares

झुक्काउन सक्छ सरकारी उद्धार पोर्टलले, कसरी थाहा पाउने आधिकारिक विवरण ?

विवरण हेर्दा सरकारको यो उद्धार पोर्टल गञ्जागोल देखिन्छ । यसले गर्दा अधिकांश मानिसहरूमा भ्रम सिर्जना भइरहेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ भदौ १४ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढी प्रभावितलाई लक्षित गर्दै सरकारले खोज, उद्धार र राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उद्धार अनुरोध पोर्टल बनाएको छ।
  • पोर्टलमा हराएका १७ हजार ९८ र अझै हराइरहेका १२ हजार ८१९ देखिएपछि सामाजिक सञ्जालमा आधिकारिक तथ्यांक भन्दै भ्रम र संशय फैलिएको छ।
  • प्रधानमन्त्री सचिवालयका अधिकारीले यो पोर्टल सार्वजनिक सहभागितामा आधारित भएकाले एउटै व्यक्तिको विवरण दोहोरिन सक्ने र आधिकारिक तथ्यांकका लागि प्राधिकरणकै सूचनामा भर पर्न आग्रह गरे।

१४ भदौ, काठमाडौं । रसुवा बाढी प्रभावितलाई ध्यानमा राख्दै नेपाल सरकारले उद्धार अनुरोध पोर्टल बनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयको समन्वयमा बनाइएको यो पोर्टल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्छ । यसमा बाढीमा हराएका मानिसहरूको विवरण टिपाउन सकिन्छ ।

सरकारले उद्धारलाई सहज हुनै भन्दै यस्तो पोर्टल ल्याएको छ । पोर्टलमा नेपाल प्रहरी, एम्बुलेन्स, दमकल सेवा, विपद् प्राधिकरण, रेडक्रस लगायतका सहयोगी संस्थाको सम्पर्क नम्बर राखिएको छ । नम्बरसँगै राखिएको कल बटनमा थिचेपछि सिधै (मोबाइल प्रयोगकर्ताका लागि) फोन डायल हुन्छ ।

त्यसको तल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर राखिएको छ, जसबाट सहयोग रकम पठाउन सकिन्छ । त्यसपछि बाढी पीडितका विवरण राखिएको छ । उक्त विवरण हेर्दा सरकारको यो उद्धार पोर्टल गञ्जागोल देखिन्छ । यसले गर्दा अधिकांश मानिसहरूमा भ्रम सिर्जना भइरहेको छ । सामाजिक सञ्जालमा यसकै तथ्यांकलाई लिएर पोस्टहरू आइरहेका छन् । यहाँ उल्लेखित संख्या सामाजिक सञ्जालमा जाँदा अत्याशलाग्दो अवस्था सिर्जना भएको देखिन्छ ।

यो रिपोर्ट तयार पारुन्जेलसम्म पोर्टलमा हराएका मानिसको संख्याको रिपोर्ट १७ हजार ९८ देखिन्छ । यसमा अझै हराइरहेको भनेर १२ हजार ८१९ संख्या देखिन्छ । यो तथ्यांकलाई मानिसहरूले आधिकारिक तथ्यांक भन्दै सेयर गरिरहेका छन् ।

अझै यसमा हराएका मानिसको रिपोर्ट भन्दै राखिएका तथ्यांक र अझै हराइरहेको मानिसको तथ्यांकले अलमल सिर्जना गरिरहेको बुझ्न सकिन्छ । यसरी यस पोर्टलमा आएको तथ्यांक सरकारले आधिकारिक रुपमा विपद् प्राधिकरणमार्फत दिइरहेको तथ्यांकसँग मेल खाँदैन ।

यसमा हराएका मानिसबाहेक फेला परेका मानिसको रिपोर्ट, परिवारको प्रतिक्षामा रहेकाको संख्या र समाधान भएको (भेट भएको) तथ्यांक पनि राखिएको छ । त्यसबाहेक पछिल्लो २४ घण्टामा रिपोर्ट भन्दै ६ हजार ६३७ संख्या लेखिएको छ, जसले कुन रिपोर्टलाई संकेत गरेको हो बुझ्न सकिँदैन । भेटेको, उद्धार भएको वा के को रिपोर्ट हो सहजै बुझिँदैन ।

यसबाहेक हराएका बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि यसमा देखिन्छ । यी तथ्यांकलाई लिएर मानिसहरूले आधिकारीक भन्दै सेयर गरिरहेका छन् भने कतिपयले अपत्यारिलो तथ्यांकलाई लिएर संशय व्यक्त गरिरहेका छन् ।

यद्यपि, पोर्टलमा राखिएको तथ्यांक विवरणकै मुनि उक्त विवरण वास्तविकता भन्दा फरक हुनसक्ने भन्दै सचेत गराइएको छ । ‘यी तथ्यांक सार्वजनिक गुनासो र प्रतिवेदनका आधारमा संकलित हुन् । एउटै व्यक्ति फरकफरक सन्दर्भमा एकभन्दा बढीपटक रिपोर्ट हुनसक्ने भएकाले वास्तविक व्यक्ति संख्या देखाइएभन्दा कम हुनसक्छ,’ विवरणको तल सचेत गराइएको छ ।

यो पोर्टलमा हरेक व्यक्तिले हराएका व्यक्तिका विवरण आफैँ अपलोड गर्न सक्छन् । त्यसबाहेक भेटिएका वा आफूले अलपत्र कतै भेटाएका व्यक्तिको विवरण पनि हरेक व्यक्तिले हाल्न सक्छ । यसले गर्दा पनि यो पोर्टलमा अस्वभाविक तथ्यांक देखिएको हो ।

यसले कसरी गर्छ काम ?

विपद्को समयमा उद्धार, खोजी र राहत वितरणलाई प्रभावकारी बनाउन सञ्चालनमा ल्याइएको सरकारी डिजिटल पोर्टलले कतिपय अवस्थामा तथ्याङ्कगत दोहोरोपन र अन्योल सिर्जना गर्ने गरेको पाइएको छ । प्रधानमन्त्री सचिवालयका एक अधिकारीले बताए अनुसार, विपद् पोर्टलको प्राविधिक पाटो, डेटा सङ्कलनको शैलीले यसले देखाउने तथ्यमा फरक पर्न गएको हो ।

यो विपद् पोर्टलमा हरेक व्यक्तिले आफूलाई कोही हराएको थाहा पाए पनि सहजै अपलोड गर्न सक्छ । तर, यदि अपलोड गर्दा एकै किसिमको विवरण परेको अवस्थामा दोहोरिने सम्भावना एकदमै कम हुन्छ । तर, यसमा एउटै व्यक्तिको विवरण हाल्दा हिज्यमा वा अरु केहीमा सामान्य फरक पर्यो भने उक्त व्यक्तिको विवरण दोहोरिएर अपलोड हुनसक्छ । यसले सार्वजनिक रुपमा पटकपटक एउटै व्यक्तिको विवरण फरक तरिकाले अपलोड भयो भने तथ्यांक धेरै देखिन्छ ।

‘एउटै व्यक्तिको विवरण चिनेजानेकाहरूले आफ्नै सुरमा अपलोड गरियो भने उक्त व्यक्तिकै विवरण धेरै हुन्छ । त्यसैले त्यो धेरै देखिएको हो,’ ती अधिकारीले अनलाइनखबरसँग भने ।

त्यसबाहेक यसभित्र तथ्यांक आउने अर्को बाटो छ, त्यो हो सरकार मातहत नै रहेका विभिन्न ग्रुप । ती सचिवालय सदस्यका अनुसार सरकारले चारवटा ह्वाट्सएप ग्रुपहरू बनाएको छ । उक्त ग्रुपमा स्थानीय तहका जनप्रतिनिधिदेखि जिम्मेवार निकायका व्यक्तिहरू जोडिएका छन् । ती व्यक्तिले उक्त ग्रुपमा हराएका मान्छे, भेटिएका मान्छे लगायतका विषयमा विभिन्न विवरण पठाउँछन् ।

ग्रुपमा आएको विवरणलाई आफैँ तानेर उद्धार पोर्टलभित्र अद्यावधिक हुन्छ । सिस्टम आफैँले यो काम गर्छ । यसले गर्दा आएका विभिन्न तथ्यांकहरू दोहोरिने सम्भावना धेरै हुन्छ । ‘यो समयमा यसरी काम गर्दा पनि केही सहज होला भनेर भौतिक पूर्वाधार मन्त्रालयको अग्रसरतामा यो बनाइएको हो । यसको ड्यासबोर्डको पहुँच विपद् प्राधिकरणका अधिकारी लगायतसँग छ,’ उनले थप भने ।

पोर्टल सार्वजनिक सहभागितामा आधारित तथ्याङ्क भएकाले आधिकारिक निकायको प्रमाणित तथ्याङ्कभन्दा यसको प्रकृति बिल्कुलै फरक हुने उनले बताए । यसको ड्यासबोर्डमा प्रभावित क्षेत्रहरूको अवस्था रङ्गको संकेतबाट देखाइन्छ । यहाँ उद्धार गर्नुपर्नेलाई रातो र राहत दिनुपर्ने ठाउँहरूलाई पहेंलो रङ्गबाट देखाइन्छ ।

यद्यपि, पोर्टलमा देखिएको ठूलो संख्याले मात्रै वास्तविक क्षति र क्षेत्रको पुष्टि भने गर्दैन । उदाहरणका लागि, यदि तीन जनाले कुनै एक ठाउँमा ३० जना हराएको विवरण भरे भने प्रणालीमा ती तथ्यांक जोडिएर ३० को संख्या तीन गुणा बढेर देखा पर्न सक्छ । त्यसैले यसलाई सरकारले आपतकालिन सहजीकरणको लागि बनाएको हो भनेर मात्र बुझिदिन उनले अनुरोध गरे । यहाँ आएको तथ्यांकलाई पछि सरकारले छुट्टाएर आवश्यकता अनुसार एक्सनमा जाने पनि उनले सुनाए ।

त्यसैले तत्कालको विवरण चाहिए, आधिकारिक र प्रमाणित तथ्यांकका लागि विपद् प्राधिकरणको संयन्त्र र आधिकारिक माध्यमबाट आएका सूचनाहरूलाई मात्रै विश्वास गर्नुपर्ने हुन्छ ।

‘यसमा भएका विवरण भन्दा पनि विपद् प्राधिकरणले सार्वजनिक गरिरहेका तथ्यांकमा विश्वास गर्नुहोला । यसलाई अहिले सरकारले सहज हुन र छिटो तथ्यांक संकलन गरेर काम गर्ने उद्धेश्यले बनाएको हो,’ ती सदस्यले भने, ‘यसलाई सरकारले फिल्टर गरेर नै काम गर्छ ।’

रसुवा बाढी
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?