News Summary
Generated by OK AI. Editorially reviewed.- श्रवण मुकारुङको उपन्यास ‘सलह’ ले नायुमामार्फत वर्ग, पहिचान, बसाइँसराइ र महिलामाथिको हिंसाको कथा प्रस्तुत गरेको छ।
- कथामा नायुमाको प्रेमी कृष्ण दनुवार मारिन्छन्, ठेकेदारविरुद्धको प्रतिकारपछि उनी जेल पर्छिन् र १२ वर्षपछि बाहिर निस्कन्छिन्।
- समिक्षकले ‘सलह’ लाई नेपाली समाजको वर्तमान यथार्थको चित्रण भन्दै उपन्यास केही लामो भएको टिप्पणी गरेका छन्।
मलाई सोध्नुहुन्छ भने
राष्ट्रिय गौरवको आयोजना बन्नुपर्छ
श्रवण मुकारुङको चुलो
त्यसपछि
पिठ्युँमा भारी बोकेर हिंड्दाहिंड्दै
टक्क अडिनेछ कुनै भरिया
सिङ्गो जुनीमा पहिलो चोटि मुस्कुराउने छ दिल खोलेर
र,
बात मार्नेछ आफैंसँग
खोइ कसले हो
सोचेछ मेरो बारेमा पनि ।
–विनोदविक्रम केसी, श्रवण मुकारुङको चुलो
२०४८ सालको फागुनदेखि २०४९ पुस महिनासम्म म पर्वत जिल्लाको तिलाहारमा, डिमुवा भन्दा केही माथि पूर्वपश्चिम पसारिएको डाँडाको पश्चिम फर्केको पाखोमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा पढाउँथें । २०४४ मंसीरमा, पार्टीको आदेश अनुसार, विद्यार्थी राजनीति गर्र्नैका लागि गाउँको निमाविको शिक्षक जागिरबाट राजीनामा दिएर अर्थशास्त्रमा एमए भर्ना भएको म २०४८ को संसदीय चुनावपछि पूर्णकालीन पार्टी काम पूर्ण रूपमा छाडेर पहिलो र दोस्रो दुवै वर्षका परीक्षा तयारी गर्दै यता पढाउन पुगेको थिएँ । उपप्राध्यापक भन्दा तल के पद हुन्थ्यो त्यही दिइएको थियो ।
शहरमा मेरो एउटा नाम थियो, परिचय थियो र सम्भावनायुक्त राजनीतिक करिअर थियो । सबै छाडेर म उता पुगेको थिएँ । मलाई नियन्त्रण गरिबसेका सबै बन्धनहरूबाट, जसमा पार्टीको राजनीति र त्यसका भ्रमहरू पनि पर्थे, र सबैभन्दा ठूलो नियन्त्रण त भौतिक आवश्यकताहरूको थियो जसलाई अलिअलि खल्तीमा पैसा नभए पूरा गर्नै सकिन्नथ्यो, स्वतन्त्रताको खोजीमा निस्केको थिएँ । जीवनका आकांक्षा र जिजीविषा मिलेर लखेटेपछि भाग्दा भाग्दैकोे एउटा बिसौनी थियो यो । आफ्नै प्रतिबद्धता र पहल विनाका सपना देख्न छाडेको थिइनँ जुन कहिल्यै पूरा भएनन् । र मैले भाग्न पनि छाडेको छैन ।
क्याम्पसमा आईए तहको मात्र पढाइ हुन्थ्यो । क्याम्पस चिफ कतै खासाको व्यापार पनि गर्थे । आक्कलझुक्कल कलेज पनि आउँथे । मैले भने आफ्नो अर्थशास्त्रसँगै उनको भागको इतिहास र राजनीतिशास्त्र पनि पढाउने अवसर पाएँ । यसले अतिरिक्त आम्दानीको जोहो पनि हुन्थ्यो । बिहान कक्षा हुन्थ्यो । दिउँसो र राति त खाली नै भैगो । दिउँसो कलेज नजिकै चिया खाजा पसल सहितको घर भएका रिमालजीले भाडामा दिन बनाएको टिनको टहरामा खाटमा पल्टेर पढ्नुबाहेक केही काम थिएन । पछि फर्कने बाटो आफैंले भत्काएर हिंडेको र अगाडि के हुनेछ भन्ने कुनै निश्चित नभएको चञ्चल र अस्थिर मनलाई नियन्त्रणमा राख्न पुस्तक बाहेक के नै पो सहयोगी हुनसक्थे र ?
त्यसै क्रममा सिस्टर क्यारी भन्ने उपन्यास हात पर्यो । त्यो शायद धेरैले पढेर पुरानो भएको र कभर समेत फाटेको पुस्तकका कथा अहिले पनि धमिलो धमिलो सम्झनामा छन् । अमेरिकी ड्रिमका कुरा खुबै सुनेको तर त्यसलाई नबुझेको मेरा लागि उक्त उपन्यास इतिहासको एक कालखण्डको अमेरिकी समाज बुझ्न सहयोगी नै भयो ।
थियोडर ड्रेइजर लिखित यो उपन्यासको मूल पात्र क्यारोलाइन निवर अर्थात् सिस्टर क्यारीे हो । ऊ सानो देहाती कस्वाको साँघुरो घेराबाट बाहिर निस्केर रेल चढ्छे र शिकागोतिर जाँदैछे । आफ्ना दिदी भिनाजुसँग बस्न जानुछ । पहिलो पटक गाउँ छाडेकी उसमा उत्सुकता र अनिश्चयको भय दुवैले लपेटेको निर्दोष गाउँले युवतीको अनुहार धपक्क बलेको छ । रेलमै शिकागोतिरै गइरहेको एउटा मोटे पैसावाल व्यापारीसँग परिचय हुन्छ । घरमा पत्नी भएको व्यापारी निश्छल गाउँले केटी देखेर आकर्षित हुन्छ र पट्याउने उपाय सोच्न थाल्छ । दिदी भिनाजु शहरमा संघर्ष गर्दै गरेका कामदार वर्गका परिवारका हुन्छन् । संघर्षरत श्रमिक वर्गले भाडामा लिनसक्ने अँध्यारो, ओस भएको उनीहरूको चिसो डेरामा सिस्टर क्यारी उकुसमुकुस अनुभव गर्छे र दिदी भिनाजुलाई छाडेर त्यही पैसावाल भुँडे व्यापारीकी रखैल भएर बस्न थाल्छे । अनि आफ्नो सपनाको पछि लाग्छे ।
व्यापारीकै सहयोगमा नाटकमा अभिनय गर्ने अवसर पाउँछे, उसको नाम फैलिन थाल्छ, मान्छेले चिन्न थाल्छन् । नाटककै क्रममा भेट भएको अर्को पुरुषको प्रेममा पर्छे । त्यो पुरुष पनि विवाहित हुन्छ । उनीहरू शिकागोबाट भागेर क्यानाडा जान्छन्, बिहे गर्छन् र पछि न्युयोर्क फर्केर सेटल हुन्छन् । क्यारीको करिअर अघि बढेकै छ । ऊ अभिनय गरेर कमाउन सक्ने भएकी छ । उता उसको पछिल्लो लोग्ने व्यवसायमा असफल हुन्छ । सफल हुँदै गएकी क्यारीले उसलाई छाडिदिन्छे । उसले छाडेपछि लोग्नेले आत्महत्या गर्छ । यता सिस्टर क्यारी सम्पन्न हुन्छे तर ऊ विस्तारै आफूभित्र खालिपन र शून्यता अनुभव गर्छे ।
यो कथा यहाँ भन्न खोजिनुको कारण सलहकी पात्र नायुमासँग दाँज्नु पनि हो र समाजको तुलना गर्नु पनि । सिस्टर क्यारी अमेरिकाको शिकागोका मजदूरहरूको १९८० र ९० को दशकमा भएका विशाल आन्दोलन र दमन पछिको कथा हो । अमेरिकामा साना तथा मझौला व्यापारीहरू टाट उल्टने र एकाधिकारी पूँजीवाद विस्तार हुँदै जाँदा ठूला पूँजीपतिको सेपमा परेको सानो व्यवसाय टाक्सिंदै गएको समयको कथा हो । त्यसले अमेरिकी सपना पछ्याउँदै हिंडेकी एउटी गाउँले सोझी केटीको उतारचढावपूर्ण जीवन, विघटन हुँदै गएको परिवार, आफ्नो सपना पछ्याउँदै स्वतन्त्रताको खोजीमा दौडिरहेका युवतीहरूको कथा भन्छ । अमेरिकी समाजको संक्रमणको कथा ।
अर्थात् साना गाउँहरूलाई ठूला शहरले विघटन गरिरहेका, साना र गरिब परिवारलाई पूँजीले विघटन गराइरहेको र मध्यम तथा श्रमिकवर्गीय परिवार उतिखेरै सुविधायुक्त सफल जीवन र उतिखेरै गरिबी र बेरोजगारीले निराश भएर आत्महत्या गर्नुपर्ने अर्थ–सामाजिक संरचना रहेको समयको कथा हो । सिस्टर क्यारी जीवनमा खोजेका सबै कुरा पाउँदै जान्छे । आफ्नै खुट्टामा उभिएकी स्वतन्त्र महिलाका रूपमा चित्रित गरिएकी छ । एउटा आफ्नो उमेरसँग पटक्कै नमिल्ने पुरुषको रखैल भएकी र अर्कोसँग बिहे गरेर पनि छाडेकी क्यारीले पछि कुनै पुरुषसँग अन्तरंग सम्बन्ध बनाउँदिन बरु एउटी आफूभन्दा जुनियर महिलासँग एउटै कोठामा बस्छे, होटलमा लिएर जान्छे । शायद यो नै अमेरिकी समाजमा महिलाहरू आफ्नो सपना पछ्याउँदै पुरुषहरूसँगको निर्भरता (संवेगात्मक, रोमान्टिक या आर्थिक)बाट मुक्त हुन थालेको समयको अर्थपूर्ण उपन्यास हो । स्वच्छन्द (लेसेजफेयर) पूँजीवादबाट एकाधिकारी तथा साम्राज्यवादी शक्तिमा बदलिंदै गरेको अमेरिकी पूँजीवादभित्रका मानवीय सम्बन्धहरूको जटिलताको कथा पनि हो ।
कथा संक्षेप
सलह एउटा विम्ब हो र सलह मार्फत कथालाई श्रवणले निकै मिहिनेत साथ मिहिन पाराले किराँत राईहरूको मुन्धुम जीवनदर्शनसँग जोडेका छन् । तर कथा चैं पूर्वी पहाडको राईगाउँ (माझकिराँतको कुनै पनि गाउँ हुनसक्छ) मा जन्मेकी नायुमाको हो । उसको आरम्भिक जीवनलाई लेखकले राईहरूको संस्कृति, लाहुरे र सम्पन्नता, गाउँमा विस्तारै आइरहेका परिवर्तनको सेरोफेरोमा राखेर हुर्काएका छन् ।
रैथाने सुगन्ध बोकेकी कलिली राई किशोरी नायुमा । सानोमै बाबु बितेकाले स्कूल शिक्षा पूरा गर्न पाउँदिन । आमाको काखमा सानो अपांगता भएको भाइ छ । नायुमाका बाबु राई साइँला, र आमा माइली पनि एउटा पति या एउटी पत्नीका रूपमा अनिश्चयको यात्रामा निस्केको बेला एउटा नि:सन्तान लाहुरेको आँगनमा पुग्छन् । उनीहरूको आश्रयमा बस्छन् । त्यहीं काम गर्दागर्दै पतिको निधन हुन्छ । माइलीले दु:खमसुखम सन्तान हुर्काउँदै छ । माओवादी र खम्बुवान युद्धको समय छ । छिमेकी ब्रिटिश लाहुरेले आफ्नी पत्नीको सहयोगी बनाउन नायुमालाई गाउँबाट काठमाडौं ल्याउँछ । पढाइदिन्छ पनि ।
नायुमालाई लिएर आएका देवादेमा बस्ने बैकुण्ठ कोलोनी मध्यम वर्गीय परिवारहरूको बसोबास रहेको समग्र शहरिया जीवनको प्रतिनिधित्व गर्ने मिश्रित समाज हो । लाहुरेको छिमेकमा एउटा बाहुनको घरमा ल्याइएकी बर्दियाको कुनै थारू परिवारकी किशोरी मङ्गलीसँग नायुमा र उसका बीच एकअर्काको भावना बुझ्ने वर्गीय प्रेम बस्न थालेको हुन्छ । बाबुलाई वार्षिक केही रुपैयाँ दिने गरी ल्याइएकी मंगलीलाई भने बचन दिए जसरी पढाउँदैनन् । मङ्गली हुर्कंदै जाँदा पूर्व उपसचिव पौडेलको एक्लो छोराको हवसको शिकार हुन्छे र आत्महत्या गर्छे । आत्महत्या गर्नुपूर्व उसले आफ्नो जीवनसँग खेलबाड गर्ने मालिकको छोरालाई दिन भनेर छाडेको पत्र पुलिसलाई दिएपछि लाहुरेनीेले नायुमालाई भकुर्छे ।
नायुमा आठ कक्षासम्म पढ्न थालिसकेकी थिई, हुर्केकी पनि थिई । जसको आश्रयमा गाउँ र आमा छाडेर आएको हो उसैले तथानाम कुटेपछि विद्रोही स्वभावकी नायुमा राति नै घरबाट भाग्छे । यो विशाल शहर र मानव बस्ती उसलाई शून्य लाग्छ, एक्लै हुन्छे नितान्त एक्ली । आफ्नो कक्षामा पढ्ने साथीकोमा एकरात बास बस्न पुग्छे । माओवादी विद्रोहीको स्थानीय कमाण्डर आउँछ, उसले ल्याएको पैसा ती महिलालाई राख्न दिन्छ, र साथीकी एकल आमा उक्त पुरुषका अभिसाररत छायाँ देखेर नायुमालाई उदेक लाग्छ । ठमेलको एउटा होटलमा काम पाउँछे, एउटी युरोपेली अधेडावस्थाकी महिलाले उसँग समलैंगिक बलात्कार गर्न प्रयास गर्छे । नायुमाले प्रतिरोध गरेर फुत्कन्छे र होटल छाडेर भाग्छे । केही बेर सडक बालकहरूसँग गुटमुटिन्छे । त्यहाँबाट भागेर एउटा घर निर्माण भइरहेको ठाउँमा पुग्छे । त्यहीं ज्यामी काम गर्ने दिलमाया माझीले उसलाई एक्लै देखेर दया देखाउँछिन् र मनेहरा सुकुम्वासी टोलमा रहेको आफ्नो टहरोमा आश्रय दिन्छिन् । अब नायुमा पनि उनीहरूसँगै मिलेर काम गर्न थाल्छे ।
त्यहीबेला डकर्मीको काम गर्ने र ठेकेदारलाई हिसाबकिताब राख्न, सहयोग गर्ने कृष्ण दनुवार र नायुमाको प्रेम हुन्छ । उही दु:ख, उही वर्ग र उही संघर्षका यी वनचरीहरूको प्रेम आदर्शमय छ ।
घरमा आमालाई आफ्नो कमाइबाट पैसा पठाउन खोज्दा थाहा हुन्छ कि आमा गाउँकै एक जना शिक्षकसँग घरजम गर्न गाउँ छाडेर हिंडिन् । नायुमा थप एक्लै हुन्छे ।
उता बिहे गर्ने तरखर गरिरहेकै बेला कृष्ण मारिन्छ । उसलाई मारिएको थाहा पाएपछि बेहोसीमै नायुमाले ठेकेदारलाई रडले हान्छे । ठेकेदारको हत्याको आरोपमा ऊ जेल पर्छे । जेलमा पुस्तक पढ्ने, ढाका कपडा बुन्ने गर्दै र अनेक महिला बन्दीका विना कसुरका जेल जीवनबाट आफ्नो जीवन पढ्छे ।
नायुमा १२ वर्षपछि जेलबाट निस्केर मनोहरा किनारको सुकुम्वासी बस्तीमा जान्छे जहाँ उसलाई आश्रय दिने ठूलीआमाहरू थिए । तर अहिले चैं मनोहरा किनारको सुकुम्वासी बस्ती उजाडिएको छ र त्यहाँ पार्क बनेको छ । ठूलीआमाहरूलाई खोज्ने, भेट्ने सम्भावना सकिएपछि नायुमा गाउँ जान्छे, खासमा उसलाई नागरिकता बनाएर विदेश जाने रहर छ । ऊ स्वतन्त्र हुन र आफ्नो खुट्टामा उभिन चाहन्छे । निम्नवर्गीय नेपाली युवतीले देख्नसक्ने सबैभन्दा ठूलो सपना नै त्यही पासपोर्ट, म्यानपावर, एयरपोर्टसम्मको सीमामा कैद छ ।
गाउँमा पाएको सूचना पछ्याउँदै आमा खोज्न धरान पुग्छे । धरानमा पुगेपछि थाहा हुन्छ आमालाई भगाएर ल्याउने राई मास्टरले उहिल्यै छाडेर हिंडे । आमा केही वर्ष काम गर्दै लखतरान परेर मरिन् । भाइ पनि केही वर्ष पत्रपत्रिका बेचेपछि अचानक बेपत्ता भयो । यहाँ एउटा खाजा खाने होटल चलाएर बस्ने महिलाले यी कुरा बताइदिन्छिन् । नायुमाको नागरिकता बनाउने आधार पनि सकिन्छ । सानोमा सौतेनी आमाको दमन सहन नसकेर घरबाट भागेर जीवन खोज्न हिंड्दा यो रिक्सावाल मगरसँग भेट भएर जीवन साटेकी यी फुपूले आफू जस्तै ठानेर उसलाई सहारा दिन्छिन् ।
ऊ पनि होटलको काम गर्दै बस्छे, आफ्ना पत्रकार ग्राहकको सहयोगमा पत्रिकाको अफिसमा काम पाउँछे । तर एकदिन कार्यकारी सम्पादकले उसलाई जबर्जस्ती अँगालो हाल्छ र ओठमा मुख जोत्छ । नायुमाले प्रतिकार गरेपछि ऊ पत्रिकाबाट राजीनामा दिएर गायव हुन्छ । नायुमा काममा जान छाड्छे ।
एउटा विधुर बुढो लाहुरेले आश्रयदाता फुपू मार्फत नायुमालाई बिहेको प्रस्ताव पठाउँछ । नायुमा यहाँबाट पनि भाग्छे ।
कुनै मुस्लिम युवाले बिहे गरेर पनि उसले छाडेपछि धरानमा जीविका गर्दै आएकी इन्द्रमाया राजवंशी र उसको छोरासँग परिवारकै सदस्य भएर बस्छे । गरिबको सहारा गरिब नै त हुन्छ । केही दिन पछि उसको भेट वासुदेव नेपालसँग हुन्छ । ऊ बैकुण्ठ कोलोनीमा दूध पुर्याउन आउने गर्थ्यो, र पूर्वतिरकी भएकाले नायुमालाई बहिनी भनेर माया गर्थ्यो । जसलाई एकपटक ट्यापेहरूले लुटपिट गरेर ज्यानै लिन खोजेको बेला नायुमाले बचाइदिएकी थिई । वासुदेवले बहिनीकै रूपमा घरमा लैजान्छ माया मान्छ, एउटा पसल खोलिदिन्छ र बुढासुब्बाको मन्दिर छेउ पसल चलाउँदै नायुमा, इन्द्रमाया र उसको छोराका दिनहरू बित्दै जान्छन् । अन्तिममा एकापसमा आतुरतासाथ प्रेम आलिंगनमा बाँधिएका नायुमा र इन्द्रमाया सलहमा परिवर्तन भएर मर्छन् । कथा यति हो र उपकथा त चाहिने भन्दा निकै बढी छन् ।
कथामा राजनीतिक रूपले माओवादी युद्ध र त्यसका नेताहरूले शान्ति प्रक्रियामा आइसकेपछि आफ्नै वर्गलाई दिएको धोकाको चर्चा छ । लेखकले एकठाउँ गगन थापालाई जबर्जस्ती घुसाएका छन् । राजनीतिका समकालीन अरू प्रवृत्ति पनि सामेल छन् तर कथा भुइँमान्छेहरूले भोगिरहेका नेपाली समाजको वर्तमान यथार्थताको चित्रणमा केन्द्रित छ ।
सिस्टर क्यारीसँगको (अ)समानता
बाढीले बगाएर ल्याएको मुढो झैं कहिले यो भित्तामा र कहिले ऊ भित्तामा ठक्कर खाँदै हिंडिरहेकी नायुमाले एकपटक क्रान्तिकारी विचार भएको, संगठनमा लागेको र आफ्नै वर्गको माझी युवा कृष्णसँग प्रेम गर्छे । आफूलाई समर्पित गर्छे । माओवादीहरू शान्तिप्रक्रियामा आएपछि अनेक खालका ठग तर धन भएकाहरू अचानक कमरेडका रूपमा, नेताका रूपमा देखापर्छन् । नायुमाको बिहे हुन नपाउँदै कृष्ण आफ्नै नवप्रवेशी धनाढ्य कमरेडहरूको षडयन्त्रको शिकार बनेर मारिन्छ । त्यसपछि ऊ कुनै पुरुषलाई प्रेम गर्दिनँ । सानोमै आफूले हुर्काइरहेको भाइ जस्तो देवादेमाको छोरो प्रभुहाङ एकोहोरो प्रेममा परेर अँठ्याउन खोजेको हुन्छ ।
अर्को पटक अन्तिम समयमा उसको दाजु बनेको साह्रै माया मानिरहेको वासुदेवले रक्सीको मातमा नायुमा र इन्द्रमायाको छातीमा हात पुर्याउँछ । अन्तिम एपिसोडको अन्तिम दृश्यमा अधबैंसे दुई महिलाहरू समागमरत देखिन्छन् । यो कुरा चैं सिस्टर क्यारी र उसकी जुनियर कलाकार लोला ओसबोर्नेको नदेखाइएको तर संकेत गरिएको प्रेमसँग मेल खान्छ । महिलाहरू स्वतन्त्रताको खोजीमा कुन हदसम्म जान सक्छन् भन्ने यसको सन्देश हो ।
उपन्यासको कथा वर्गले र शक्ति संरचनाले सीमान्तीकरणमा परेका नेपालीको कथा हो । जनजातिहरूको कथा हो, र पहिचानको खोजीको कथा पनि हो । वर्गका हिसाबले घरबारको ठेगाना गुमाइसकेका, नागरिकता बनाउन चाहिने कानूनले तोेकेका टेक्ने समाउने हाँगा गुमाइसकेको, जरो उखेलिएका र पनि आपसमा प्रेम गर्न सक्ने, सहयोग गर्न सक्ने भावना भएका, मार्क्सेली भाषामा भन्नुपर्दा चैं वर्गप्रेम भएकाहरूका कथा । जस्तो यसमा जेजति सीमान्त पात्र छन् तिनीहरू राई, थारू, माझी, दनुवार, विश्वकर्मा, तामाङ, मगर, राजवंशी, मुश्लिम बढी छन् । विजुवा र मुन्धुम छन् जसलाई लामा र बौद्ध धर्मभन्दा विशिष्ट बनाइएको छ । पहिचानकै खोजी त हो यो ।
सुवेदार र सुवेदारनीको असहायहरूलाई देखाउने प्रेम । राई साइँला र माइली, नायुमा र मङ्गली, दिलमाया ठूलीआमा र धरानकी फुपू, इन्द्रमाया र कृष्ण अथवा सडकमा भेटिएका बालबालिका सबै श्रमिक हुन् र यो देशका सन्दर्भमा अर्ध सर्वहारा हुन् । यिनै त हुन् यतिबेला बागमती, विष्णुमती र मनोहराका किनारबाट, बल्खु र थापाथलीबाट लघारिएका, होल्डिङ सेन्टरमा होल्ड हुन नसकेपछि आत्महत्या गर्न विवश भएका । यसरी हेर्दा नेपालका सन्दर्भमा वर्तमान राज्यप्रणालीले, सामाजिक आर्थिक तथा शक्ति संरचनाले पिंधमा परेकाहरू र तिनका संघर्षको कथा हो सलह ।
लेखक भन्छन्: संसारको सारा दु:खको जड नै असमानता हो, अज्ञानता हो र आजसम्म नमिलेको हिसाब पनि यही हो (पेज ४१७) । असमानतालाई समस्याको जड मानेका उपन्यासकारले त्यसको समाधानका लागि कहिले आनी र लामाहरू, कहिले विजुवाहरूलाई अघि सारेका छन् र कहिले कृष्ण र नायुमाको विद्रोहलाई । लेखक अलि अलमलमा छन् । उनलाई हाम्रा विगतका राजनीतिक परिर्वतनले कामदार वर्गलाई धोका दिएकोमा आपत्ति छ र विद्रोहका कुरा गर्न छाडेका छैनन् तर विद्रोह विकल्प हो कि मुन्धुम र आध्यात्म भन्नेमा दोधारमा परेका देखिन्छन् ।
उनले चित्रण गरेको समय र समाज
कविको छवि भएका श्रवण मुकारुङको आख्यानात्मक अवतारका रूपमा आएको सलह उपन्यास नेपालको अहिलेको सामाजिक चरित्र चित्रण गर्ने कथा हो ।
उनको यो कथाले अधकल्चो पराश्रित पूँजीवादी विकासको चरणमा रहेको नेपालको कथा भन्छ । ग्रामीण क्षेत्रमा रहेको सामन्तवाद भत्केको, तोडिएको छ । परम्परागत मूल्य प्रणालीमा एकआपसमा सम्बन्धमा रहेको समाजलाई जोड्ने तन्तुहरू चुँडिएका छन् । ग्रामीण समाजको तीव्र विघटन भएको छ । कृषि अर्थतन्त्रको विघटन, बसाइँसराइको व्यापक हलचल, थातथलोबाट बाहिरिनुपर्ने बाध्यता, निर्वाहमुखी अर्थतन्त्रको अवसान र औद्योगिक पूँजीवादको विकास नभएको कट्मिरो समाज । औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र बलियो रहेका, बाँच्नैका लागि विदेशिनुपर्ने बाध्यता र नियतिलाई स्वीकारेको पुस्ता हुर्किरहेको समाज हो यो । र अविकसित समाजमा हुने षड्यन्त्र, जालझेल, महिलामाथिको विभेद हाम्रो समाजको निम्न आय भएको वर्गले व्यहोर्नुपर्ने दैनिकी हो । क्रान्ति र लोकतन्त्रका विम्बहरूको विघटन र सपनाहरूको मृत्यु हाम्रो समयको क्रूर यथार्थ हो । र विनोदविक्रम केसीले भनेको जस्तो कवि श्रवण मुकारुङले भोजपुरबाट काठमाडौं झरेको ४० वर्ष हुनलाग्दा पनि राम्रो ओत बनाउन नसक्ने यथार्थताले हामी सबै मध्यम वर्गको मुटु–कलेजा खाइरहेको समय पनि हो यो । हाम्रो समयको यो अर्काे ठूलो त्रासदी हो । नयाँ समाज र सभ्यतासँगको व्यापक अन्तरक्रियाले भत्काएका जीवनदर्शन र मूल्यहरूलाई फेरि जगाउने लेखकको प्रयास राजनीतिक रूपले सही देखिए पनि ऐतिहासिकतासँग भने मेल खाँदैन भन्ने मेरो निष्कर्ष हो ।
एउटा प्रश्न भने उपन्यासमाथि मज्जाले उठ्छ : सिस्टर क्यारी गरिबीबाट, गाउँको पिछडिएको या सानो शहर बजारको जीवनबाट चकाचौंध आधुनिकता र महानगरमा सुखभोग गर्दै गई । नायुमा किन जहिले पनि गरिबी र श्रमतिर, भयानक दु:खको घनचक्करतिर गई ? शहरमा आएर हुर्कने अवसर पाइसकेकी नायुमा सुखभोग र स्वतन्त्रताको पूँजीवादी परिभासतिर किन गइन् र श्रमिक वर्गको हितमा नारा लगाउन संगठित यात्रमा निस्की ? सिस्टर क्यारीको समय पनि वर्गसंघर्ष तीव्र भएर दमन भएको समयसँग जोडिन्छ । ऊ आफ्नो वर्गका सीमा नाघेर पुरुषको कामवासना र समयले दिएका अवसर उपयोग गर्दै प्रगति गर्छे र सम्पन्नता र स्वतन्त्रता पाउँछे ।
नायुमाले आफ्ना सपनाहरू किन साना–साना चटक्क मिलेका सीमाभित्र, आफ्नो वर्ग र नियतिको सीमाभित्र मात्र कैद गरी राखी ? काठमाडौंमा आफ्नो भाग्यलाई आफ्नै यौवन र चेतना, साहस र प्रतिरोधी विचारको शक्तिलाई प्रयोग गरेर पैसा कमाउने र सिंढी चढ्दै जाने बाटो किन समातिन । जहिले पनि गरिबहरूकै आश्रय खोज्दै किन लम्की ? विस्तारै आध्यात्मिक सुखतिर, निर्दयी समाजलाई माफी दिने र आफ्ना दु:खहरूलाई पचाइदिने बाटोमा हिंडेर उसले स्वतन्त्रता पाई कि गुमाई ?
जसरी सिस्टर क्यारीले एउटा धनाढ्य पुरुषको रखैल भएर आफ्ना दिदी भिनाजुको संघर्षरत सर्वहारा जीवनबाट मुक्त भई, त्यो धनाढ्य पुरुषकै सहयोगमा नाटकमा प्रवेश गरी र नाम र दाम कमाई । अर्को पुरुषको सहयोगमा झन् बढी सफलता हासिल गरी र उसबाट पनि स्वतन्त्र भई । गरिबीमा डुबेर आत्महत्या गर्न पुगेको लोग्नेलाई बचाउनुको साटो त्यागेर हिंडी । ऊ स्वतन्त्र भई कि नायुमा स्वतन्त्र भई ! आजको मूल्यले नायुमा चिन्छ कि सिस्टर क्यारी ?
उपन्यासले यी प्रश्नहरू उठाउँछ र दुर्भाग्यवश म त्यसको उत्तर दिने स्थानमा छैन । कुनै प्रसंग आयो भने अवश्य पनि श्रवणलाई यी प्रश्न म सोध्ने नै छु ।
दुवैको अन्त्यका भिन्नता ? नायुमाले गाउँदेखि शहरसम्म हरेक पटक कोही न कोही दयालु, सहयोगी, माया गर्ने मान्छे भेटी, अन्तिममा बैनी मानेर माया मान्ने वासुदेव दाइ र भाउजु पनि भेटी । यो लेखकको राई गाउँसँगको नोस्टाल्जिया हो कि समाजको वास्तविकता ? यसले हाम्रो समाज अझै पनि गाउँको भत्किसकेको पुराना विम्ब बोकेर शहरमा गाउँ खोज्दै हिंडिरहेको अस्वाभाविक कथ्य निर्माण गर्न खोजेको त होइन ? के यो निख्रँदो सामन्तवाद र हुर्कंदो पूँजीवादी चरित्रको अभिव्यक्ति हो ? किन कविलाई अझै गाउँकै चरा, फूल, वन र पाखा, गोरेटा र बारीका पाखाहरू सम्झनामा आइरहन्छन् ? लेखकमा चालीस वर्ष लगभग शहरमा विताएर, गाउँ जान फर्कन नसक्ने निश्चित भइसकेपछि पनि, शहरको हुन नसकेको पीडा किन छ ?
मैले कतै यिनकै मुखबाट सुनेको जस्तो लाग्छ यी कुनै बेला रेडियो नाटक या कुनै सिरियलका लेखक थिए । यो उपन्यासको कथा भन्ने पारा, घटनाको उठान र बैठान हेर्दा साना–साना खण्ड र एपिसोडमा बाँडेर टेलिसिरियल बनाउने जस्तो संरचना छ उपन्यासको । यी पूर्व प्राज्ञ (प्राज्ञ र प्रज्ञा पूर्व हुँदैनन् थाहा छ, यहाँ पदको कुरा मात्र गर्न खोजेको)लाई यो उपन्यासका लागि बधाई । एक जना साथी छन् युमा, असल पाठक र अल्प कवि पनि । उनले चिया गफमा भनेको कुरा शेयर गरौं : उपन्यासलाई अलि छोटो बनाउन सकिन्थ्यो । पढेपछि मलाई पनि यसमा समर्थन जनाउन मन लाग्यो ।
अन्त्यमा, अरूका उपन्यासको बखान खुब गरियो । शहरमा विद्यमान यावत् अवसरहरूका बावजुद आफ्नो भाते कर्मका पछि लाग्दालाग्दै मेरो पनि कुनै बेला उपन्यास प्रकाशित भइसकेको थियो भन्ने झण्डै मैले नै बिर्सन थालिसकेछु । यो उपन्यासले त्यसलाई सम्झायो, त्यसका लागि कवि तथा नव उपन्यासकार श्रवणलाई धन्यवाद !
प्रतिक्रिया 4