+

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

२०८३ भदौ  २९ गते १०:१२ २०८३ भदौ २९ गते १०:१२
Shares
कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५ एमएमभन्दा साना पत्थरी धेरैजसो आफैं झर्छन्, तर ७ एमएमभन्दा ठूलो, संक्रमण भएको वा मिर्गौला फुलिएको अवस्थामा शल्यक्रिया चाहिन्छ।
  • पत्थरी रोकथामका लागि दिनमा २.५ देखि ३ लिटर पानी, कम नुन, कम गुलियो सेवन गर्नुपर्छ ।
  • एक पट्टक पत्थरी निकालेकाले चिकित्सकको सल्लाहअनुसार फलोअप जाँच गर्नुपर्छ।

नेपालमा हरेक १०० जनामध्ये एक जनाभन्दा बढी मानिसको मिर्गौलामा पत्थरी भेटिन्छ । धेरैका लागि यो एकपटक निकाले टुंगिने समस्या होइन । वर्षौंपछि फेरि फर्किएर आउँछ । पत्थरी कसरी बन्छ, कस्तो दुखाइ दिन्छ, कुन पत्थरी आफैं झर्छ, कुन पगालिन्छ र कस्तो खानपानले फेरि बन्नबाट बचाउँछ भन्ने जिज्ञासा धेरै हुन सक्छ ।

पत्थरी भनेको के हो ?

हाम्रा अस्पतालमा अल्ट्रासाउन्डको रिपोर्ट बोकेर आएका बिरामीको पहिलो प्रश्न नै यही हुन्छ । पिसाबमा क्याल्सियम, अक्सालेट, युरिक एसिडजस्ता रसायनहरू मिसिएको हुन्छ । सामान्यतया यिनीहरू पिसाबसँगै बाहिर निस्कन्छन् । तर शरीरमा पानीको कमी भयो वा पिसाब बाक्लो भयो भने यी रसायनहरू थिग्रिएर एक-अर्कामा टाँसिन थाल्छन् । सुरुमा साना क्रिस्टल बन्छन् र विस्तारै ती ठूला भएर पत्थरी बन्छन् । एक अध्ययनअनुसार नेपालमा देखिने पत्थरीमध्ये आधाभन्दा बढी क्याल्सियम अक्सालेटले बनेका हुन्छन् ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?

पत्थरीको चिनारी भनेकै एकाएक सुरु हुने, रोकिएर फेरि सुरु हुने असह्य दुखाइ हो। दुखाइ सामान्यतया कम्मर वा पिठ्यूँको एकैपट्टिबाट सुरु भई तल्लो पेट, काँछ र जननेन्द्रीयतर्फ ओरालो झर्छ, यसलाई चिकित्सकीय भाषामा रिनल कोलिक भनिन्छ । साथमा पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, पिसाबमा रगत आउने, वाकवाकी र बान्ता हुने पनि हुन्छ । कतिपय पत्थरी भने वर्षौंसम्म कुनै लक्षण नदेखाई बस्छन् र अरू कारणले गरिएको अल्ट्रासाउन्डमा संयोगवश मात्र भेटिन्छन् ।

नेपालमा समस्या कति व्यापक छ ?

यो विषयमा देशभरका मानिसलाई समेटेर गरिएको ठूलो अध्ययन खासै छैन । तर उपलब्ध आँकडाले यो ठूलो जनस्वास्थ्य समस्या बनिसकेको देखाउँछन् । ‘ग्लोबल बर्डन अफ डिजिज २०२१’ को अनुमानअनुसार नेपालमा करिब ३ लाख १० हजार मानिस पत्थरीबाट प्रभावित थिए । यो भनेको प्रति एक लाख जनसंख्यामा १,०७० जना, अर्थात् हरेक १०० मा एक जनाभन्दा बढी हो ।

धुलिखेल अस्पतालको आकस्मिक कक्षमा पेट दुखाइ लिएर आएका बिरामीमध्ये २.६१ प्रतिशतमा पत्थरी भेटिएको थियो । त्यसैगरी पूर्वी नेपालको एक अध्ययनमा उपचारका लागि आएका बिरामीमध्ये ७५.७ प्रतिशत तराई क्षेत्रका थिए । यो अस्पताल पुग्ने बिरामीमा आधारित आँकडा भए पनि तराईमा यो समस्या गम्भीर रहेको यसले संकेत गर्छ । सोही अध्ययनअनुसार पत्थरी काम गर्न सक्ने उमेर समूहमा बढी देखिएको छ।

तराईबासी र शारीरिक श्रम गर्नेहरूमा किन बढी ?

यसका पछाडि भौगोलिक, वातावरणीय र जीवनशैलीगत कारण मिसिएका छन् । गर्मी क्षेत्रमा खेतबारी वा निर्माण क्षेत्रमा काम गर्नेको शरीरबाट पसिनामार्फत धेरै पानी बाहिरिन्छ । समयमै पानी पुर्‍याइएन भने पिसाब बाक्लो भई पत्थरी बन्छ । धेरैको बानी तिर्खा लागेपछि मात्र पानी पिउने हुन्छ, जबकि तिर्खा लाग्नु भनेकै शरीरमा पानीको कमी भइसकेको संकेत हो।

यसबाहेक नुन बढी हुने अचार, चाउचाउ, जंक फुड, प्रशोधित खाना, चिनीयुक्त पेय पदार्थ, मोटोपन र दिनहुँ धेरै मासु खाने बानीले पनि पिसाबमा क्याल्सियम र एसिड बढाएर जोखिम थप्छन् । अर्को महत्वपूर्ण कुरा– पूर्वी नेपालको त्यो अध्ययनमा ३३.३ प्रतिशत सहभागीको परिवारमा पनि पत्थरीको समस्या थियो, जसले वंशानुगत कारण पनि उत्तिकै कारक रहेको देखाउँछ ।

सबै पत्थरीमा शल्यक्रिया चाहिँदैन

हो, सबै पत्थरीमा शल्यक्रिया चाहिँदैन । उपचारको छनोट पत्थरीको आकार, स्थान, लक्षण, संक्रमण र मिर्गौलाको कार्यक्षमतामा निर्भर हुन्छ । ५ एमएम भन्दा साना पत्थरी अधिकांश बिरामीमा बढी पानी पिउने र चिकिच्सकको निगरानीमा औषधि सेवन गर्दा आफैँ झर्छन् ।

५ देखि ७ एमएमको करिब आधाजति आफैं झर्छ। तर ७ एमएमभन्दा ठूलो पत्थरी भएमा, मिर्गौला फुलिसकेको, दुखाइ रोकिन नसक्ने वा संक्रमण भएको अवस्थामा भने शल्यक्रिया चाहिन्छ । त्यसैले अल्ट्रासाउन्डमा सानो पत्थरी देखिनासाथ आत्तिनु पर्दैन । आकार र अवस्था हेरेर कस्तो उपचार गर्ने भन्ने कुरा चिकित्सकले निर्धारण गर्छन् ।

कुन पत्थरी औषधिले पगालिन्छ ?

युरिक एसिडको पत्थरी मात्र औषधिबाट पगाल्न सकिन्छ तर सबै पत्थरी होइन । सिट्रेटजस्ता औषधिबाट पिसाबलाई क्षारीय अवस्थामा पुर्‍याउन सकिए युरिक एसिडको पत्थरी विस्तारै घुलेर हराउँछ — कहिलेकाहीं शल्यक्रिया नै नगरी । तर नेपालमा सबैभन्दा बढी हुने क्याल्सियम अक्सालेटको पत्थरी भने औषधिले पगाल्दैन; औषधिले गर्ने काम भनेको नयाँ पत्थरी बन्नै नदिनु हो । यही कारणले निकालिएको पत्थरीको जाँच गराउनु जरुरी हुन्छ– कुन प्रकारको पत्थरी हो, त्यहीअनुसार आगामी रणनीति निर्धारण गरिन्छ ।

निकालेपछि पनि किन दोहोरिन्छ ?

पत्थरी हटाउनु र पत्थरी बन्ने शरीरको आन्तरिक वातावरण सुधार्नु फरक कुरा हुन् । शल्यक्रियाबाट पत्थरी निकालेपछि मानिसहरू समस्या सकियो भनेर ढुक्क हुन्छन् । तर पानी कम पिउने बानी, नुन र जंक फुडको बढी सेवन, मेटाबोलिक गडबडी वा वंशानुगत जोखिम कायमै भएको अवस्थामा पुरानो पत्थरी निकालिए पनि शरीरले पुनः नयाँ पत्थरी बनाइहाल्छ । पत्थरी फाल्नु मात्र उपचार होइन; फेरि बन्न नदिने मूल कारण सुधार्नु नै असली उपचार हो ।

बारम्बार पत्थरी बने मिर्गौलामा दीर्घकालीन असर

एकपटकको सानो पत्थरीले सामान्यतया मिर्गौला बिगार्दैन । तर बारम्बार पत्थरी बनिरहने, पिसाबको बाटो थुनिरहने वा संक्रमण दोहोरिरहने भएमा बिरामीमा मिर्गौलाको भित्री भाग घाइते भई दाग बस्छ । समयक्रममा मिर्गौला कमजोर हुँदै जान्छ– जसले दीर्घकालीन मिर्गौला रोग गराउन सक्छ।

त्यसैले नियमित क्रिएटिनिन जाँच गराएर मिर्गौलाको कार्यक्षमता निगरानी गरिरहनुपर्छ । एउटा मात्र मिर्गौला भएका वा मधुमेह र उच्च रक्तचापका बिरामीले त यसमा झन् लापरवाही गर्नु हुँदैन । यसैगरी, दुखाइ कम गर्ने नाममा आफूखुसी बारम्बार पेनकिलर औषधि लामो समय खाने बानीले पत्थरीले भन्दा पनि सजिलोसँग मिर्गौला बिगार्न सक्छ । त्यसैले, यस्ता औषधि डाक्टरको सल्लाहमा मात्र खानुपर्छ ।

पत्थरी हुन नदिने के गर्ने ?

पत्थरी हुनबाट रोकथामका लागि सबैभन्दा सस्तो र प्रभावकारी औषधि पानी हो । दिनभरि यति पानी पिउनुपर्छ कि कम्तीमा २.५ लिटर पिसाब बनोस्; त्यसका लागि सामान्यतया २.५ देखि ३ लिटर पानी चाहिन्छ । पिसाबको रङ सफा वा हल्का पहेँलो हुनु पर्याप्त पानीको संकेत हो । तर मुटु वा मिर्गौलाका गम्भीर बिरामीले भने डाक्टरको सल्लाहअनुसार मात्रै कति पानी पिउने भन्ने तय गर्नुपर्छ ।

नुन दिनहुँ एक चिया चम्चाभन्दा कम सेवन गर्ने, गुलियो सफ्ट ड्रिंक्स र धेरै मासु कम गर्नुपर्छ । ‘क्याल्सियमले पत्थरी बनाउँछ’ भन्ने भ्रम धेरैमा हुन्छ । त्यही कारण दूध-दही पूरै छाड्ने पनि हुन्छन् । तर यो गलत हो । खानाबाट पाइने प्राकृतिक क्याल्सियमले आन्द्रामा अक्सालेटलाई बाँधेर बाहिर निकाल्छ, जसले उल्टै पत्थरी बन्नबाट जोगाउँछ । कागती पानी पिउनु पनि सिट्रेट बढाउन उपयोगी मानिन्छ ।

उपचारपछिको फलोअप र जाँच

निकालिएको पत्थरी सम्भव भए प्रयोगशालामा पठाएर कुन प्रकारको हो पहिचान गर्नुपर्छ । बारम्बार पत्थरी हुने, कम उमेरमा हुने वा दुवै मिर्गौलामा हुने बिरामीको २४ घण्टाको पिसाब र रगतको विस्तृत जाँच गराउनुपर्छ । रोकथामका लागि पिसाबमा क्याल्सियम बढी हुनेमा थायोजाइड समूहका औषधि, सिट्रेट कम हुनेमा पोटासियम सिट्रेट, युरिक एसिड बढी हुनेमा एलोप्युरिनोल औषधि सुरु गर्न सकिन्छ ।

युरोपेली मूत्ररोग विशेषज्ञ संघको दिशानिर्देशनअनुसार ८ देखि १२ हप्तामा पहिलो र त्यसपछि वार्षिक रूपमा २४ घण्टाको पिसाब जाँच गरी औषधिको प्रभावकारिता हेर्नुपर्छ । कहिलेकाहीं पत्थरीको मूल कारण अर्कै रोग पनि हुन सक्छ । प्याराथाइराइड ग्रन्थीको गडबडी, गाउट, मोटोपन यस्ता समस्यामा पनि पत्थरीको जोखिम हुन्छ ।

त्यस्तो अवस्थामा त्यस रोगको उपचार नै मुख्य हुन्छ । साथै डाक्टरको परामर्शमा नियमित अल्ट्रासाउन्ड र क्रिएटिनिन जाँच पनि गराइरहनुपर्छ।

कस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाने ?

पत्थरीले पिसाबको बाटो थुनियो वा संक्रमण भयो भने केही घण्टामै अवस्था बिग्रन सक्छ । त्यसैले पत्थरीको दुखाइसँगै काप्ने गरी ज्वरो आएमा, पिसाब पूरै रोकिएमा, पिसाबमा रगत देखिएमा वा लगातार वाकवाकी र बान्ता भइरहेमा ढिला नगरी नजिकैको अस्पताल पुग्नुपर्छ ।

पत्थरीलाई एकपटक निकाले पुग्ने ढुंगाजस्तो मात्र सम्झनु हुँदैन । यो जीवनशैली सुधार्नुपर्ने संकेत हो ।

पत्थरी निकालिसकेपछि निरन्तर पानी पिउने, धेरै नुन र चिनीयुक्त खानेकुरा नखाने, प्रशोधित खानेकुराबाट टाढा रहने गर्नुपर्छ । चिकित्सकले कुनै औषधि सिफारिस गरेका छन् भने त्यसलाई नछुटाइ तोकिएको अवधिसम्म सेवन गर्नुपर्छ ।

समय–समयमा जाँच गरेर पत्थरी फेरि बनेको छ कि छैन भनी मूल्यांकन गरिरहनुपर्छ ।

पत्थरी मिर्गौला शल्यक्रिया
डा. दीपक शर्मा
लेखक
डा. दीपक शर्मा
मिर्गौला रोग विशेषज्ञ

डा. दीपक शर्माले काठमाडौं विश्वविद्यालयबाट नेफ्रोलोजी डीएम गरेका छन् । उनी हाल धुलिखेल अस्पतालमा कन्सल्टेन्ट नेफ्रोलोजिस्टका रूपमा कार्यरत छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय