+
+
Shares

बूढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ : ‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’

गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएर बहाव थुनिएको एकिन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ११:५८
बूढीगण्डकी बाढी । बूढीगण्डकीको उपल्लो क्षेत्र इन्सेटमा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुब्री–३ स्थित बूढीगण्डकी नदी सुक्खा पहिरोले थुनिएर खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ।
  • बाढीले न्याकचेत–सिर्दिबास र माछिखोला–केरौजा जोड्ने दुई झोलुंगे पुल तथा गोरखा–आरुघाट–धादिङ पक्की पुलको गोरखातर्फको भाग बगाएको छ।
  • धार्चे–३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घर बगाएको तथा ६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो ।

श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५:५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।

त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो ।

नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो ।

बूढीगण्डकीको बहाव बन्द भएको भनिएको फिलिम लगायतका क्षेत्र रातो घेरामा

अनलाइनखबरलाई प्राप्त माथिल्लो भेगको हवाई फोटोमा पनि गहिरो र साँघुरो खोँचमा गेग्रान बगेको देखिन्छ । त्यो खोँचको छेउँबाट पहिरो खसेको जस्तो पनि देखिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढी र अहिलेको बूढीगण्डकी बाढीको प्रकृति हेर्दा उस्तै खालको देखिएको बताउँछन् । तर बाढीको उद्गम भने अझै अस्पष्ट छ ।

बूढीगण्डकीको उपल्लो क्षेत्र । फोटो सौजन्य : सुशील थापा

भिडियो फुटेजहरुमा बूढीगण्डकीमा लेदो माटो र गेग्रानसहितको कालो बाढी आएको देखिन्छ । बूढीगण्डकीमा बाढीको एकिन कारण पत्ता लगाउने प्रयास भइरहेको उनले बताए । ‘हाम्रो टोली ड्रोनसहित बूढीगण्डकीको माथिल्लो क्षेत्रमा परिचालित भएको छ,’ डा. उप्रेतीले भने,  ‘केहीबेरमा बाढीको वास्तविक कारण पत्ता लाग्छ ।’

रसुवा–भोटेकोशीमा तिब्बत क्षेत्रमा हिमनदीको ठूलो भाग खसेर बाढी आएको थियो । त्यस बाढीबाट ठूलो मानवीय क्षति भए पनि बूढीगण्डकी बाढीबाट हालसम्म मानवीय क्षतिको खबर आएको छैन । तर भौतिक क्षति भने भएको छ ।

बाढीबाट गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल बगेका छन् । गोरखा–आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बगेको छ ।

बाढीले गोरखाको धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसहित दुईवटा झोलुंगे पुल पनि बगाएको छ । बाढीबाट एउटा कच्ची घर बगेको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री–३ को जगतबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?