+

दशैं यात्रा : झोलामा के-के औषधि बोक्ने ?

२०८३ असोज  २६ गते १४:२२ २०८३ असोज २६ गते १४:२२
Shares
दशैं यात्रा : झोलामा के-के औषधि बोक्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं यात्रामा ज्वरो, वाकवाकी, पखाला, अपच र एलर्जीका लागि आवश्यक औषधि र प्राथमिक उपचार सामग्री बोक्नुपर्ने सुझाव दिइएको छ।

दशैंमा परिवारसँग भेटघाट गर्न गाउँघर फर्किने र लामो दूरीको यात्रा गर्नेको संख्या बढ्छ । यात्राका क्रममा ज्वरो आउने, टाउको दुखाइ, वाकवाकी, पखाला वा सामान्य चोटपटकको समस्या हुन सक्छ । त्यसैले यात्राको तयारी गर्दा कपडा र उपहारसँगै आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री पनि बोक्नु आवश्यक छ ।

तर औषधि झोलामा राख्नु मात्र पर्याप्त हुँदैन । कुन औषधि आवश्यक छ, कसरी प्रयोग गर्ने र कुन अवस्थामा स्वास्थ्यकर्मीसँग परामर्श लिने भन्ने जानकारी पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यात्रामा निस्कनुअघि तपाईको झोलामा हुनैपर्ने औषधिहरूको सूची र तिनको प्रयोग गर्ने तरिका

१. गाडी लाग्ने वा वाकवाकी लाग्ने समस्याका लागि

धेरैजसो यात्रुलाई घुमाउरो वा पहाडी बाटोमा गाडी चढ्दा टाउको दुख्ने, चक्कर लाग्ने, अमिलो पानी आउने र बान्ता हुने समस्या हुन्छ । यसले यात्रालाई निकै कष्टकर बनाउँछ।

के औषधि प्रयोग गर्ने ?

प्रोमेथाजिन

कसरी प्रयोग गर्ने ?

गाडी चढ्नुभन्दा ठीक आधा घण्टा पहिले यो औषधिको सेवन गर्दा यात्राभर बान्ता हुने वा वाकवाकी लाग्ने समस्याबाट बच्न सकिन्छ।

२. झाडापखाला र जलवियोजनका लागि

दशैंमा बाटोका होटल वा पसलहरूमा राखिएका खुला खानेकुरा, बढी चिल्लो र दूषित पानीका कारण पेट बिग्रने, ‘फूड पोइजनिङ’ हुने र झाडापखाला लाग्ने जोखिम उच्च हुन्छ।

औषधि तथा औषधिजन्य सामग्री

जीवनजल, लोपेरामाइड वा मेट्रोनिडाजोल

कसरी प्रयोग गर्ने ?

पखाला लागेमा शरीरमा पानी र आवश्यक लवणको मात्रा कम हुन नदिन जीवनजल पानीमा घोलेर निरन्तर पिउनुपर्छ । पखाला रोक्न डाक्टर वा फर्मासिस्टको सल्लाहअनुसार लोपेरामाइड वा मेट्रोनिडाजोलको प्रयोग गर्न सकिन्छ।

३. अपच, ग्यास्ट्रिक र छाती पोल्ने समस्या

दशैं खानपानको चाड हो । यस बेला मासुका विभिन्न परिकार, मसलादार खानेकुरा र मिठाई बढी खाइने हुँदा पेट फुल्ने, ग्यास्ट्रिक हुने वा छाती पोल्ने समस्या धेरैलाई हुन्छ ।

औषधिको नाम

प्यान्टोप्राजोल वा ओमेप्राजोल र एन्टासिड जस्ता चक्की वा झोल।

कसरी प्रयोग गर्ने ?

बिहान खाली पेटमा वा बढी चिल्लो तथा मसलादार खानेकुरा खानुअघि यी औषधिको सेवन गर्दा अमिलो पानी आउने र छाती पोल्ने समस्या कम हुन्छ।

४. अचानक आउने ज्वरो र दुखाइ

यात्राको थकान, चिसो हावा वा कतै ठोक्किएर जीउ दुख्ने, टाउको दुख्ने वा अचानक ज्वरो आउन सक्छ।

औषधिको नाम

प्यारासिटामोल र आइबुप्रोफेन ।

कसरी प्रयोग गर्ने ?

ज्वरो आउँदा वा सामान्य जिउ तथा टाउको दुखाइमा प्यारासिटामोल सबैभन्दा सुरक्षित औषधि हो । कडा दुखाइ वा मांसपेशी सुन्निएको अवस्थामा आइबुप्रोफेन लिन सकिन्छ।

५. एलर्जी र रुघाखोकी

यात्रा गर्दा बाटोको धुलो, धुवाँ वा चिसोका कारण आँखा चिलाउने, लगातार हाछ्युँ आउने, नाक बन्द हुने र शरीर चिलाउने एलर्जीको समस्या देखिन सक्छ।

औषधिको नाम : सिट्रीजिन वा लिभोसिट्रीजिन ।

कसरी प्रयोग गर्ने ?

एलर्जीका लक्षणहरू देखिएमा राती सुत्ने बेला सिट्रीजिन लिनु उपयुक्त हुन्छ, किनकि यो औषधिको सेवनपछि सामान्य निन्द्रा लाग्न सक्छ।

६. प्राथमिक उपचारका सामग्रीहरू

लामो यात्राका क्रममा सानातिना चोटपटक लाग्ने, काटिने वा स्क्र्याच हुने सम्भावना सधैँ रहन्छ । यसका लागि ड्रेसिङ सामग्री साथमा हुनुपर्छ ।

–ब्यान्डेज, बाँध्ने पट्टी

–घाउ सफा गर्न उपयुक्त एन्टिसेप्टिक सामग्री

–सफाइ गज र डिस्पोजेबल पन्जा

–डिजिटल थर्मोमिटर

–चिम्टी र सानो कैंची

–हात सफा गर्ने स्यानिटाइजर वा साबुन

–आवश्यकता अनुसार मास्क र लामखुट्टे भगाउने सामग्री

साथै, जोर्नी वा मांसपेशी मर्किएमा दुखाइ कम गर्ने क्रिम वा स्प्रे पनि साथमा राख्नु राम्रो हुन्छ ।

एन्टिबायोटिक र दुखाइ कम गर्ने औषधि मनपरि प्रयोग नगर्ने

यात्राका लागि औषधि बोक्ने नाममा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक, स्टेरोइड, निद्रा लगाउने औषधि वा शक्तिशाली दुखाइ कम गर्ने औषधि राखेर आफूखुसी सेवन गर्नु उचित होइन ।

ज्वरो आउँदैमा एन्टिबायोटिक आवश्यक हुन्छ भन्ने छैन । धेरैजसो सामान्य रुघाखोकी भाइरसका कारण हुने भएकाले एन्टिबायोटिकले लाभ गर्दैन । अनावश्यक प्रयोगले औषधिप्रति जीवाणुको प्रतिरोध क्षमता बढ्ने समस्या निम्त्याउन सक्छ।

त्यस्तै, पखाला रोक्ने औषधि सबै अवस्थामा उपयुक्त हुँदैन । विशेष गरी रगत मिसिएको दिसा वा उच्च ज्वरोसँगै पखाला लागेको अवस्थामा चिकित्सकीय सल्लाहबिना यस्तो औषधि प्रयोग गर्नु हुँदैन । औषधि पसलबाट औषधि किन्दा लक्षण र प्रयोग गरिरहेका अन्य औषधिबारे फार्मासिस्टलाई स्पष्ट जानकारी दिनुपर्छ।

औषधि सुरक्षित राख्ने तरिका पनि उत्तिकै महत्त्वपूर्ण

औषधि राख्ने झोला सफा, सुख्खा र सजिलै निकाल्न सकिने हुनुपर्छ । औषधिलाई अत्यधिक गर्मी, प्रत्यक्ष घाम, चिस्यान वा बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्छ। सवारीसाधनभित्र लामो समय तातो हुने ठाउँमा औषधि राख्नु हुँदैन ।

सम्भव भएसम्म औषधि यसको मूल प्याकेट वा लेबलसहित राख्नुपर्छ । नाम, मात्रा र म्याद नबुझिने गरी औषधि छुट्टाछुट्टै पोका बनाएर राख्नु जोखिमपूर्ण हुन्छ । म्याद गुज्रिएका, रङ वा स्वरूप परिवर्तन भएका अथवा प्याकेट बिग्रिएका औषधि प्रयोग गर्नु हुँदैन ।

नियमित औषधि, चिकित्सकको प्रेस्क्रिप्सन, औषधिबाट हुने एलर्जीको विवरण र आवश्यक स्वास्थ्य अभिलेखको प्रतिलिपि साथमा राख्नु उपयोगी हुन्छ । औषधि हराएमा वा स्वास्थ्य समस्या उत्पन्न भएमा यसले स्वास्थ्यकर्मीलाई सही निर्णय लिन सहयोग गर्छ ।

ध्यान दिनैपर्ने ३ महत्वपूर्ण कुरा:

१. दीर्घरोगीहरू विशेष सजग बनौँ

यदि तपाईं मधुमेह , उच्च रक्तचाप, दम वा थाइराइड जस्ता रोगको नियमित औषधि सेवन गरिरहनुभएको छ भने, यात्राको अवधिभन्दा कम्तीमा एक हप्ता बढी पुग्ने गरी औषधि बोक्नुहोस् । यी औषधिहरू ठूलो झोलामा नभई सजिलै निकाल्न मिल्ने ह्यान्डब्यागमा राख्नुहोला।

२. औषधिको म्याद

झोलामा औषधि राख्नुअघि तिनको म्याद बाँकी छ या छैन भनेर अनिवार्य रूपमा जाँच गर्नुहोस् । म्याद नाघेका औषधिले सही काम नगर्न सक्छ ।

३. विज्ञको सल्लाह

गर्भावस्थामा रहेका महिला, बालबालिका र वृद्धवृद्धाका लागि औषधिको मात्रा र प्रकार फरक हुने भएकाले यात्रामा निस्कनुअघि एकपटक चिकित्सक वा फर्मासिस्टको सल्लाह लिनु बुद्धिमानी हुन्छ।

चाडपर्वको खुसीयाली स्वास्थ्य संकटका कारण खिन्न नहोस् भन्नका लागि यी ससाना तयारीले ठूलो भूमिका खेल्छन् । स्वास्थ्य चेतना नै सुरक्षित यात्राको पहिलो पाइलो हो।

औषधि दशै‌ं यात्रा
कृष्ण नन्दन मेहता
लेखक
कृष्ण नन्दन मेहता
फार्मासिस्ट

कृष्ण नन्दन मेहता जिल्ला अस्पताल, डोल्पामा फार्मेसी शाखा प्रमुखका रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय