+
+

एमाले नेताहरुले भने-जनतालाई थाल थाप्ने नबनाउँ  (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते १९:१२

२५ जेठ, (थाक्रे)धादिङ । सत्तारुढ नेकपा एमालेका नेताहरुले भूकम्प पीडित जनता परनिर्भर बन्ने खतरा बढेको भन्दै अब आफ्नो घर आफैं बनाउने र आफ्नो लागि आफैं श्रम गर्ने तर्फ जनतालाई प्रेरित गर्नुपर्ने बताएका छन् ।

isihor

धादिङको थाक्रे गाविसमा एमालेका स्वयंसेवकले बनाएका ९९ ओटा अस्थायी घर टहरा स्थानीयलाई हस्तान्तरण गर्दै एमाले महासचिव इश्वर पोखरेल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरुले स्वाभिमानी नेपालीहरु आशे बन्न थालेकोमा चिन्ता व्यक्त गरे ।

एमालेको राष्ट्रिय स्वयंसेवक अभियानका कमाण्डर समेत रहेका नेता गोकर्ण विष्टले भने-हाम्रा स्वयंसेवकहरुले सबैका घर बनाउन सम्भव छैन, हामीले जनतालाई उत्साह जगाउन खोजेका हौं, अब आफ्नो लागि आफैं गर्नुपर्छ । स्थानीय पार्टी कार्यकर्ताले जनताको अगुवाई गर्नुस् ।

विष्टले हाइटीमा सन् २०१० मा भूकम्प गएपछि पालमा बसेका मान्छेहरु ५ वर्षसम्म पनि पालभित्रै बसेर थाल थापेर खाने प्रवृति हुर्किएको भन्दै नेपालीमा त्यस्तो बानी सर्ने खतरा बढेको बताए ।

विष्टले भने-हाम्रा जनतामा थाल थापेर खाने प्रवृति नबनोस, अब निराशाबाट उठ्नुस, आफ्नो लागि आफैं गर्ने हो । लामो समयसम्म धेरै टाढाबाट आएका एमालेका स्वयंसेवकले तपाईहरुको लागि काम गर्न सक्दैनन् ।

धादिङ क्षेत्र नम्बर ३ का सभासद समेत रहेका एमालेन नेता राजेन्द्र पाण्डेले अहिले भूकम्प पीडितका नाममा नक्कली पीडितहरु खडा हुने विकृति एकातिर देखिएको र अर्कोतिर राहतले मान्छेलाई आशे बनाउन थालेको बताए ।

भिडियो हेर्नुहोस्

धादिङका प्रायः सबै बस्तिमा पुगिसकेका पाण्डेले भने-मधेशदेखि कर्णालीका भूभागबाट एमालेका स्वयंसेवक गाउँ बस्तिमा खटिएका छन् । तर घरधनीहरु खेताला जस्तै व्यवहार गर्छन् । आफ्नो घर आफैं नबनाउने, उल्टै मकै पनि गोडिदेऊ, घाँस पनि काटिदेऊ भन्ने प्रवृति देखियो ।

पाण्डेले अब जनतालाई धेरै आशे र परनिर्भर बनाउन नहुने भन्दै यहि प्रवृति रहे नेपाली जनता थाल थापेर माग्ने अवस्थामा पुग्ने चेतावनी दिए । ‘हामीले निराशामा भएका जनतालाई आशा जगाउन खोजेका हौं तर अब आफ्नो लागि आफैं गर्नुपर्छ, पार्टीका स्थानीय कमिटीले साथ दिनेछन्’ ।

एमालेका कोशी अन्चलका सुनसरी, धनकुटा लगायतका जिल्लाबाट आएका कार्यकर्ताले थाक्रेमा मात्रै ९९ ओटा अस्थायी घर बनाएर बुझाएका छन् । त्यस्तै १० ओटा धराप घर पन्छाउने र विद्यालय सफा गर्ने काम गरिएको कोशी अन्चलका स्वयंसेवक नेत्र निरन राईले बताए ।

uml

एमाले जनमुक्ति सेना जस्तै

सोही कार्यक्रममा महासचिव पोखरेलले एमालेले देशभरका १४ सय स्थानमा २८ हजार स्वयंसेवक परिचालन गरेको जानकारी दिए । आफू सिन्धुपाल्चोक पुगेका बेला नेपाली सेनाका एक अधिकृतले एमालेका स्वयंसेवक चीनिया जनमुक्ति सेना जस्तै साहसी भनेर प्रतिक्रिया दिएको पोखरेलले सुनाए ।

स्वयंसेवक अभियानमा एमालेका कार्यकर्ताहरु फौजी अनुशासनमा रहेर काम गरिरहेको र यस क्रममा धेरै कार्यकर्ताहरु घाइते भएको पोखरेलले बताए । ‘काठमाडौंको बुढानिलकण्ठस्थित डाँडागाउँमा मात्रै भग्नावशेष हटाउँदा हाम्रा आधा दर्जन कार्यकर्ता एकैपटक घाइते भए’ पोखरेलले भने ।

महासचिव पोखरेलले भने-एमालेले चाहदा गर्न सक्छ भन्ने सन्देश हामीले दिएका छौं । अरुले हल्ला मात्र गरे, एमालेले जनताका बस्ति बस्तिमा पुगेर एमाले के हो भन्ने प्रमाणित गरेको छ । अब हामी जनतालाई उत्साह जगाएर आ आफ्नो ठाउँमा फर्किनेछौं, असार १० पछि ।

गोकर्ण भन्छन्-माथिको आदेश नपर्ख

स्वयंसेवक अभियानका कमाण्डर गोकर्ण विष्टले भूकम्प पछि अब हुन सक्ने प्राकृति विपत्तिको बेलामा एमालेका कार्यकर्ताहरु सधैं चनाखो भएर बस्नु पर्ने भन्दै जनतालाई विपत पर्दा तुरुन्त मैदानमा खटिन निर्देशन दिए ।

gokarna dhading

विष्टले भने-प्राकृतिक विपत्तिको बेला जनतालाई सघाउनका लागि पार्टीको आदेश पर्खिनु पर्दैन, जहाँ जसरी सम्भव हुन्छ तत्काल स्थानीय कमिटी बसेर राहत तथा उद्दारमा खटिनुस । पार्टीलाई पछि जानकारी दिए हुन्छ ।

भूकम्पले थिलथिलो बनाएका ठाउँमा अब बाढी पहिरोको जोखिम रहेकाले एमालेले अब स्थायी प्रकारकै स्वयंसेवक टिम बनाएर परिचालन गर्नुपर्ने देखिएको नेता राजेन्द्र पाण्डेले बताए ।
सो अवसरमा एमाले केन्द्रीय सदस्य सूर्य थापा, ठाकुर गैरे, लेखा आयोगका अध्यक्ष पुष्प कडेल लगायतले स्वयंसेवकले बनाएका घर टहराको अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?