२४ असार, चितवन । पश्चिम चितवनको जगतपुर क्षेत्रमा हात्ती आतंक रोक्न संयुक्तरुपमा रात्री सुरक्षा गस्ती सञ्चालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीजंग गणको पहलमा सुरक्षा गस्ती सञ्चालन गरिएको हो ।
श्रीजंग गण, केरुङ्गा उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाइको संयुक्त टोली बनाएर रात्री गस्ती सुरु गरिएको गणका गणपति माधव थापाले जानकारी दिए ।
‘जगतपुर घैलाघारी तथा आसपासका इलाकामा सुरक्षा व्यवस्था मिलाई जनधनको क्षती हुन नदिन नेपाली सेनाले सुरक्षात्मक काम सुरु गरेको हो,’ उनले अनलाइनखबरसँग भने । गणबाट दैनिक रुपमा गरिने रातको पट्रोलिङ टोलीमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाइका व्यक्तिहरुलाई समेत सम्मिलित गरी संयुक्त रुपमा रात्री सुरक्षा गस्ती सञ्चालन गरिएको छ ।
हात्तीले क्षति पुर्याएका घरका धनीहरु र आक्रमणमा घाइते भएकाहरुलाई नियमअनुसार क्षतिपूर्तिको व्यवस्था मिलाउनेबारे पनि काम भइरहेको थापाले जानकारी दिए ।
साथै हात्ती छिर्नसक्ने संवेदनशील स्थानहरु पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाई स्थानीय जनताको जनधनको सुरक्षामा अहोरात्र खटिएको गणका मेजर निराजन कटुवालले जानकारी दिए ।
जंगली हात्तीले गत सातादेखि सो क्षेत्रमा आतंक मच्चाइरहेपछि स्थानीय त्रसित भएका छन् ।
प्रतिक्रिया 4