+
+

नुनको मूल्य बढाउने तयारी, किलोको २५ रुपैयाँ पुर्‍याउन प्रस्ताव

साल्ट ट्रेडिङले ३५ करोड अनुदान पाए नबढ्ने

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ माघ १५ गते १४:३३

१५ माघ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ ।

नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा अब नुनको मूल्य १८ रुपैयाँबाट बढेर प्रतिप्याकेट २५ रुपैयाँ हुनेछ ।

आपूर्ति मन्त्रालयमा साल्ट ट्रेडिङले नुनको मूल्य लागतभन्दा कम हुँदा संस्थानलाई वर्षमा ३५ करोड रुपैयाँ घाटा भइरहेको जानकारी गराएको छ । तर, सरकारले यसबारे औपचारिक निर्णय भने गरेको छैन ।

आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएकाले त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयका सहसचव तथा प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘नुन उपभोग्य वस्तु भएकाले यसको मूल्य बढाउनुअघि आवश्यक अध्ययन गर्नुपर्छ’ श्रेष्ठले भने,’यसको आवश्यकता, औचित्य हेरेर आवश्यक निर्णय हुन्छ ।’

किलोमा ५ रुपैयाँ घाटा

नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धिको बाध्यता सिर्जना भएको प्रवक्ता कुमारराज भण्डारीले अनलाइनखबरसँग बताए ।
उनले खरिद तथा आयात लागत बढेकाले मूल्य बढाउनुपरेको भन्दै नागरिकलाई न्युनतम् मूल्यमा नुन उलपब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको दावी गरे । साल्ट ट्रेडिङलाई नुन किलोमा झण्डै ५ रुपैयाँ घाटा छ ।

‘अहिले नुन भित्र्याउँदा प्रतिप्याकेट २१ रुपैयाँसम्म लागत परिरहेको छ । तर, डिलरलाई १६ रुपैयाँ ५० पैसामा नुन दिइरहेका छौं । १८ रुपैयाँ ५० पैसासम्म उपभोक्ता मूल्य छ ।’ राजभण्डारीले भने,’नुनको मूल्य अस्वभाविक रुपमा बढ्नु हुँदैन । तर, संस्थान नै घाटामा बसेर नुन कारोबार गर्न नसकिने अवस्था आएकाले प्रस्ताव अघि बढाइएको हो ।’

‘३५ करोड पाए बढ्दैन’

उनले सरकारले घाटा बराबरको अनुदान साल्ट ट्रेडिङलाई उपलब्ध गराए मूल्य बढाइरहनु नपर्ने बताए । ‘वर्षको ३५ करोड रुपैयाँ सरकारले साल्ट ट्रेडिङलाई अनुदान दिने हो भने नुनको मूल्य बढाउनैपर्छ भन्ने पनि छैन’ राजभण्डारीले भने,’ मूल्य बढाउनभन्दा राज्यले अनुदानबाटै यसलाई पूर्ति गर्न सके राम्रो हुन्छ ।’

साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि उसलाई किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेेअनुसार मूल्य बढेमा उसलाई किलोको १.५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।

अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेटि्रक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?