१ पुस, काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुई जनाको नाम नेपालबाट भइरहेको संगठित सुन तस्करीबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले बुझाएको प्रतिवेदनमा पनि भेटिएको छ ।
योसँगै चुडामणि उप्रेती ‘गोरे’ समूहले अघिल्लो वर्षको माघ पहिलो साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको सुन नै भारतबाट बरामद भएको हुनसक्ने दाबी बलियो भएको अधिकारीहरुले दाबी गरेका छन् ।
२१ मंसिरमा कोलकतामा सुनको ३३ वटा विस्कुटसहित राकेशप्रसाद र हेमकुमार शर्मा पक्राउ परेका थिए । समितिका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले प्रतिवेदनमा भएको नामसँग जुधाएर हेर्यौं । त्यसक्रममा राकेश र हेमकुमारको नाम पनि भेटिएको छ । त्यसवेला उनीहरुको वतन खुलेको थिएन ।’
स्रोतका अनुसार काठमाडौंको अनामनगरबाट ३३ किलो सुन गायब भएपछि खोज्ने क्रममा टर्चरका कारण ज्यान गुमाएका उर्लाबारीका सनम शाक्यको डायरीमा उनीहरुको नाम उल्लेख थियो । सोही आधारमा समितिले दुई नामलाई पनि अनुसन्धानको दायरामा ल्याएको थियो तर, उनीहरु फेला परेनन् ।
भारतमा समातिएका दुई जना व्यक्ति गोरेका भरिया मने भनिने मोहन काफ्लेको सहयोगी भएको समितिको दाबी छ । सुन हराएपछि भरियाहरुलाई टर्चर दिने क्रममा समेत गारेले मनेको पनि नाम लिएका थिए । हाल उनी जिल्ला कारागार कार्यालय, मोरङमा छन् । काफ्ले यो प्रकरणको प्रारम्भमा समातिएका व्यक्ति हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, काठमाडौंबाट डीएसपी प्रजित केसी (पछि सुनकाण्डमा पक्राउ परेर अदालतबाट छुटेका) को टोलीले १९ फागुनमा काफ्लेसहित टेकराज मल्ल र कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो ।
उनीहरु सवार गाडीमै सनमको शव भेटिएको थियो । त्यहीबाट सुरु भएको अनुसन्धानले चार वर्षमा गोरे समूहले ३८ क्विन्टल सुन तस्करी गरेको खुलेको थियो ।
भारतबाट सुन र मान्छे ल्याउन सम्भव छ ?
चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत, मोरङमा विचाराधीन छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङले प्रहरी उच्च अधिकारीहरुसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अहिले अभियुक्तहरु धमाधम उच्च अदालतबाट छुटिरहेका छन् ।
घटनामा संलग्न भएको आशंका गरिएका २ सय ९३ जना भने अझै फरार छन् । यतिवेला तिनै फरार मध्येका दुई जना सुनसहित भारतमा डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई) द्वारा पक्राउ परेका हुन् । दिल्ली–कलकता राजमार्गमा पार्ने दन्कुनी टोल प्लाजाबाट ‘मारुती स्वीफ्ट भिएक्सआर’ कारसहित उनीहरु समातिएका थिए ।
हेर्नुस् भिडियो
यो विषयले शनिबार नेपालमा सनसनी मच्चायो । तस्करी भएको ३३ किलो बरामद गर्न नसक्दा मुद्दा कमजोर भएको आरोप खेपिरहेको उच्चस्तरीय समितिले पनि राहतको सास फेयो । तर, भारतमा समातिएको सुन र दुई व्यक्ति नेपाल ल्याउन सम्भव छ ? अहिले यही विषयमा बहस भइरहेको छ ।
यसको जवाफ खोज्दै गर्दा विगतको एउटा घटनाबारे अध्ययन गर्नु उपयुक्त हुन्छः–
२३ कात्तिक ०६९ मा झुम्का कारागारबाट १२ जना कैदी सुरुङ खनेर भागे । फरार हुनेमा खुंखार डाँका धिरेन्द्र यादवसहित एक बंगालादेशी नागरिक लगायत थिए । यादवमाथि कृषि विकास बैंक, सप्तरीका तत्कालिन प्रमुख विक्रम शाहको हत्या, नक्कली नागरिकता, हातहतियार लगायतका मुद्दा थिए ।
बंगलादेशी नागरिक सुव्रत देन उर्फ सुब्रोलाई भने भारत र बंगलादेशमा पनि ‘मोस्ट वान्टेड’ अपराधी थिए । कोलकाता प्रहरीले ०६६ मा उनी नेपाल–भारत सीमा क्षेत्रमा रहेको सूचना पाएपछि निगरानी बढाएको थियो । एक दिन भारतीय प्रहरीले काँकरभिट्टामा उनलाई फेला पार्यो तर, स्थानीय प्रहरीसँग समन्वयविना नेपाल छिरेको कोलकाता प्रहरीको टोली स्थानीयवासीको घेराबन्दीमा पर्यो ।

नेपाल प्रहरीले सोधपुछ गर्ने क्रममा भारतीय प्रहरीले उनको बंगलादेशी नागरिकता देखाए भने उनी स्वयम्ले भने नेपाली नागरिकता । पछि नक्कली नागरिकता बनाएको केशमा उनीमाथि नेपालमै मुद्दा चलेको थियो ।
नख्खु जेल ब्रेक गरेको १८ दिनपछि उनी कोलकातामा पक्राउ गरेको खबर आयो । लगत्तै, नेपाल प्रहरीको विशेष अनुसन्धान टोलीले उनीमार्फत घटनाबारे सूचना प्राप्त हुनसक्ने आशंकामा नेपाल ल्याउन खोज्यो । तर, सम्भव भएन ।
बरु नेपाली र भारतीय प्रहरीको अनौपचारिक समन्वयबाट नेपाल प्रहरीको एउटा टोलीलाई भारतमै उनीमाथि सोधपुछ गर्न दिने सहमति भयो । नेपालबाट त्यहाँ गएर बंगलादेशी नागरिकसँग प्रहरीले बयान लियो र, जेल ब्रेकबारे सूचना पायो । त्यही सूचनाबाट घटनामा संलग्न अन्य व्यक्ति पनि पक्राउ परे ।
उनी बंगलादेशमा हत्या, अपहरण र फिरौती असुलीको घटनामा खोजीको सूचीमा थिए ।
यो घटनामा झैं सुनकाण्डमा समातिएका दुई जनालाई नेपाल ल्याउनुभन्दा नेपाली अधिकारीहरु भारतमा गएर दुई जनासँग सोधपुछ गर्नसक्ने एक उच्च प्रहरी अधिकारीले बताए । ‘त्यहाँ मुद्दा पनि चलिसकेको भएर तत्काल मान्छे ल्याउन सम्भव हुँदैन’, उनले अनलाइनखबरसँग भने, ‘बरु इन्टरोगेसन गर्नलाई त्यहाँ जान सकिन्छ । यसमा सरकारी तहबाट सहयोग भयो भने झन् सहज हुन्छ ।’
‘भारतमा रहेको नेपालको महावाणिज्य दूतावासमा पनि भारतीय पक्षले जानकारी गराएकाले यो अझै सहज हुनसक्छ’, उनले थपे, ‘तर, भारतीय प्रहरीको कस्टडीमा भएको व्यक्तिले हामीलाई कत्तिको कोअपरेट गर्लान् भन्ने कुरा मुख्य हो ।’
उनीहरुको बयानबाट यो सुन नेपालबाट गायब भएकै हो कि होइन भन्ने पुष्टि गर्न सकिने भए पनि प्रमाण भने नहुने ती अधिकारीले बताए । ‘कि त लुकाएर राख्ने समूहमा भएका अन्य व्यक्तिहरुबारे पनि खुल्नुपर्यो र उनीहरु समातिनु पर्यो’, उनले थपे ।
सुन समितिका एक अधिकारीले भने सरकारी तहमा आफूहरुले जानकारी गराइसकेको बताउँदै दुई जनामाथि अनुसन्धान गर्ने प्रयास गरिने बताएका छन् । सुनको हकमा भने नेपाल ल्याउन असम्भव झैं भएको उनले पनि स्वीकार गरेका छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4