९ साउन, काठमाडौं । आगामी अक्टोबरमा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को हालै सम्पन्न साधारणसभाले नेपालमा भएको चुनावी प्रक्रियाको समीक्षा गरेको थियो । ‘यहाँ भएको प्रगतिप्रति आईसीसी खुसी छ’ स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले अनलाइनखबरसँग भनेका छन् ।
बैठकले नेपालको निर्वाचन प्रक्रिया पूरा भए निलम्बन फुकुवा गर्न बोर्डलाई म्याण्डेट दिएको छ । यसको पुष्टि गर्दै स्वतन्त्र समितिका सदस्य रइस थापाले अनलाइनखबरसँग भने, ‘अब आईसीसीको साधारणसभा बसिरहनु पर्दैन, बोर्डले नै निलम्बन फुकुवा गर्न सक्छ ।’
आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्नेछ ।
त्यसअघि नेपाल क्रिकेट संघको जिल्ला, प्रदेशसँगै केन्द्रको चुनावी प्रक्रिया भने पूरा हुनुपर्नेछ । अहिलेसम्म ३९ मध्ये ३७ जिल्लाको चुनाव भइसकेको छ । काठमाडौं, बाँके र पर्साको चुनाव हुन बाँकी छ ।
काठमाडौं जिल्ला संघको विवाद सर्वोच्च अदालतमा तर अन्तरिम आदेश नदिएकाले चुनावी प्रक्रिया अगाडि बढ्नसक्छ । पर्साको सदस्यता विवाद मिलाउने प्रयास जारी छ ।
बाँकेको पनि विवाद अदालतमा छ । निर्वाचित क्यानका उपाध्यक्ष विनोद मैनाली आफूले केन्द्रीय प्रतिनिधि हुन पाउनुपर्ने माग गर्दै सर्वोच्च गएपछि आन्तरिम आदेश भएको छ ।
स्वतन्त्र समितिले हालै मात्र केन्द्रीय प्रतिनिधिको विवाद भएकाले प्रदेश प्रतिनिधिलाई मान्यता दिने गरी पत्र पठाएको छ । यससँगै प्रदेश ५ को चुनावको बाटो खुलेको छ ।
सम्भवतः साउन ३२ मा प्रदेश ५ को चुनाव हुनेछ ।
प्रदेश ७ को चुनाव पर्सि साउन ११ गते डडेलधुरामा हुनेछ । गण्डकी प्रदेशको १७ गते र प्रदेश १ को २५ गते तोकिएको छ ।
‘अगष्टभित्र प्रदेशको चुनाव गरिसक्ने कार्यतालिका छ’ स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले भने, ‘त्यसपछि केन्द्रको चुनाव हुन्छ ।’
आगामी सेप्टेम्बरसम्म नेपाल क्रिकेट संघ (क्यान) को सम्पूर्ण संरचना तयार गर्ने कार्यतालिका छ । आईसीसीले सेप्टेम्बर अन्तिमसम्म केन्द्रको चुनाव गरिसक्न भनेको छ ।
त्यसो भएमा निर्वाचन क्यानले नयाँ कार्यसमितिले कार्यभार हस्तान्तरण गरेपछि अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्नसक्नेछ ।
प्रतिक्रिया 4