Comments Add Comment

ज्ञानेन्द्र शाही कुटिएको घटनालाई साझाले भन्यो- सत्ताधारी दलका कार्यकर्ताको दम्भ

आक्रमणकारीलाई कारबाही गर्न माग

१२ असोज, चितवन । साझा पार्टी चितवनले ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ । यो आक्रमणलाई साझाले ‘सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भ र गैरकानुनी’ भनेको छ ।

साझा पार्टी, चितवनका संयोजक भुपेन्द्र बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न हामी सरकारलाई जोडदार आग्रह गर्दछौं । साथै सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भसहितको गैरकानुनी र उद्दण्ड व्यवहारलाई बेलैमा नियन्त्रण गर्नसमेत सरकारलाई सचेत गराउन चाहन्छौं ।’

‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता शाहीमाथि शनिबार चितवनको चौबिसकोठीमा निर्घात कुटपिट भएको थियो । त्यसअघि नेकपाका कार्यकर्ताहरुले प्रहरीले उद्धार गरी शाहीलाई उपचार गर्न काठमाडौं पठाइएको छ ।

घाइते ज्ञानेन्द्र शाही

अभियानले चितवनको भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सम्बोधन गर्ने बताइएको थियो । मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेकपा सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थल पुग्यो । उनीहरुले ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजावादीलाई बहिष्कार गरौं’लगायतका नारा लगाए । कार्यक्रमस्थल नजिकै रहेको प्रहरी तत्काल पुगेर मानिसहरुलाई तितरवितर बनायो ।

स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटे । घटना केही साम्य भए जस्तो भयो । केही अभियन्ता हवाईजहाज चढेर काठमाडौं फर्किए भने शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा पुगेको बेला त्यहीँ युवाहरुको एक समूहले आक्रमण गरेको थियो ।

कुनै पनि नागरिकले संविधान प्रदत्त हक प्रयोग गर्न पाउनु नैसर्गिक अधिकार हो भन्दै साझा पार्टीले सार्वजनिक रुपमा आफ्ना दृष्टिकोणहरू राख्न चितवन आएका शाहीमाथि उनको संवैधानिक अधिकारमाथि नै धावा बोल्ने र डरधम्की देखाउने उद्देश्यका साथ निर्घात कुटपिट गर्नुलाई निन्दनीय भनेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘फरक विचारकै कारणले सत्ताको आडमा गरिएको निषेधात्मक उर्दी र कुटपीटले लोकतन्त्रको धज्जी उडाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment