+
+

कारागारबाट कसरी होटल पुगे सुडान घोटालाका दोषी ?

सई निलम्बित, ट्याक्सी चालकबाट खुल्यो रहस्य

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १६:०७
शम्भु भारती

२४ कात्तिक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले १९ चैत २०७४ मा कारागारमा रहेका केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लगिने गरेको खुलासा गरेका थिए । दोहोरी साँझदेखि विभिन्न ठाउँमा घुमाउन लैजाने गरेको रिपोर्ट आएको भन्दै उनले कारागार व्यवस्थापन विभागलाई छानविन गर्न निर्देशन पनि दिए ।

थापाले आफ्नो ८४ बुँदे गृह प्रशासन सुधार योजनामा पनि यो विषयलाई सम्बोधन गरे । तर, विभागले न त कसैलाई कारबाहीको दायरामा ल्यायो न त बादलले संकेत गरेको कैदी को थिए भन्ने नै सार्वजनिक भयो ।

तर, डेढ वर्षपछि बादलको भनाइलाई पुष्टि गर्ने गरी चर्चित सुडान घोटाला प्रकरणमा जेल सजाय भोगिरहेका ठेकदार शम्भु भारती होटलसम्म पुगेको रहस्य सार्वजनिक भएको छ ।

बादलले कारागारको बेथितिबारे बताएका वेला भारती पक्राउ परिसकेका थिएनन् । त्यसैले अन्य कैदीलाई पनि प्रशासन र प्रहरीको मिलेमतोमा कारागारबाट बाहिर लाने गरिएको हुनसक्ने देखिन्छ ।

सई निलम्बित

ठेकदार भारतीलाई कारागार प्रशासनका प्रहरीले उपचार गराइदिने वहानामा ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा पुर्‍याएको खुलेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘अहिले यो विषयमा छानविन भइरहेको छ । प्रहरी सहायक निरीक्षक (असई) प्रकाश ढाँट निलम्बनमा परिसकेका छन् ।’

घटनाको छानविनका लागि ललितपुर प्रहरी परिसर, जावलाखेलले पनि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा छानविन समिति बनाएको छ । कुपण्डोलमा भएको घटनाबारे लतिपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई रिपोर्ट बुझाउन समितिलाई म्याण्डेट दिइएको छ ।

सर्वोच्च अदालतबाट १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला सुनाइएका भारती १३ भदौमा पक्राउ परेका थिए । पक्राउपछि उनलाई फैसाला कार्यान्वयनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिल्लीबजार कारागारमा बुझाएको थियो ।

भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको प्रहरी बन्दोवस्तीको सामानमा अनियमितता भएको भेटिएको थियो ।

यसरी खुल्यो रहस्य

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार २१ कात्तिकमा हड्डी सम्बन्धी समस्याको उपचारका लागि भन्दै भारतीलाई वीर हस्पिटल भर्ना गर्न डिल्लीबजार कारागारले अनुमति दिएको थियो ।

जसअनुसार असई ढाँट र अर्का एक प्रहरी जवानलाई अस्पतालसम्म लैजाने जिम्मेवारी दिइएको थियो । तर, अस्पतालबाट फर्किने क्रममा डिल्लीबजार कारागार नभइ विपरित दिशातिर भारती र प्रहरी सवार ट्याक्सी मोडियो ।

कुपाण्डोलसम्म पुर्‍याएर भारती छाडिए । त्यसपछि राति नै उनलाई अर्को गाडीमा फर्काइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

‘उपचारका लागि ल्याइएको पूर्जी चाहिँ पहिलेकै ट्याक्सीमै छुटेछ’, ती अधिकृतले सुनाए, ‘ट्याक्सी चालक फर्किएर आउँदा प्रहरी र भारती फर्किसकेकाले उसले होटलको गार्डलाई कागज दिएर गएको देखिन्छ ।’

गार्डले ट्याक्सी चालकको नाम र नम्बर लेखेर कागज बुझेको भेटिएको छ । उनले त्यही वेला होटलमा खटिएका महागनरीय प्रहरी प्रभाग, पुल्चोकका अधिकृतलाई त्यो कागज दिएको बयान दिएका छन् । यसरी कागज प्रहरी कहाँ पुगेपछि भारतीलाई होटलसम्म ल्याएको रहस्य खुलेको देखिएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?