१३ चैत, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि १० शय्याको आईसीयू सञ्चालन गर्ने भएको छ ।
अस्पतालको बिहीबार बसेको बैठकले अहिले चलिरहेको न्यूरो वार्डलाई खाली गरी १० शय्याको आईसीयू सेवा सञ्चालन गर्ने निर्णय गरेको अस्पतालका मेडिसिन विभाग प्रमुख प्रा.डा. प्रकाश खतिवडाले जानकारी दिए ।
त्यसका लागि अस्पतालले १० वटा भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । अस्पतालले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि उपलब्ध गराइदिन मन्त्रालयलाई आग्रह गरेको छ ।
अस्पतालले १९ शय्या रहेको आइसोलेसन कक्षलाई विस्तार गरी ३० शय्याको बनाउने भएको छ । सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालका क्याविनहरुलाई आइसोलेसन वार्डमा रुपान्तरण गरिएको छ ।
अस्पतालले कोरोना रोकथाम र नियन्त्रणमा खटिने चिकित्सक तथा सबै स्वाथ्यकर्मीको जीवन रक्षाका लागि ठोस रुपमा ध्यान दिन र जीवन बीमा गरिदिन पनि स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।
चितवनमा भरतपुरको कोरोना विशेष अस्पतालले शंकास्पद बिरामीको सुरुवाती चेकजाँच गरी आइसोलेसनमा राख्ने र जटिल अवस्थाको विरामी भरतपुर अस्पतालमा उपचार हुनेछ ।