
१५ चैत, काठमाडौं । विश्वको सबैभन्दा ठूलो कन्डम निर्माताले विश्वभर कन्डमको अभाव चुलिएको बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण मलेसियाले गरेको लकडाउनको निर्णयले कारेक्स बीएचडीको उत्पादनमा असर परेको हो ।
मलेसियाको कारेक्स बीएचडीले विश्वको समग्र उत्पादनमध्ये पाँच भागको एक भाग कन्डम उत्पादन गर्ने गरेको छ । यो कम्पनीको तीनवटा कारखाना एक साताभन्दा लामो समयदेखि लकडाउनका कारण बन्द छन् ।
सामान्य रुपमा बजारमा बिक्री हुने गरेको भन्दा १० करोड कन्डमको कमी भइसकेको छ । कम्पनीले शुक्रबारबाट उत्पादन पुनः सञ्चालन गर्ने अनुमति पाएको छ । तर, उसले केवल ५० प्रतिशत जनशक्तिको मात्र प्रयोग गर्न पाउनेछ । कम्पनीले विशेष छुटमार्फत् यो अनुमति पाएको हो ।
कम्पनीका सीईओ गोह मियाह कियाटले आधा क्षमताबाट अहिलेको माग पूरा गर्न निकै कठिन हुने बताए । उनले विश्वभर देखिएको कन्डम अभावको कारण अफ्रिकाका धेरै मानवीय सहायताका कार्यक्रममा असर पर्नसक्ने चिन्ता व्यक्त गरे । साथै उनले यो अभाव एक/दुई साता मात्र नभई केही महिनासम्म नै चल्न सक्ने बताए ।
कन्डम उत्पादन हुने अर्को प्रमुख मुलुक चीन हो । चीनमा पनि कोरोना भाइरसको धेरै कारखाना बन्द छन् । त्यस्तै भारत र थाइल्याण्डमा पनि कारखानाहरु खुल्न सकेका छैनन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4