+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

गलत सूचनाले संक्रमित व्यक्ति रिपोर्ट नआउँदै समुदायमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १४:१६

२९ जेठ, गोरखा । गोरखामा क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना संक्रमण पुष्टि नहुँदै घर पठाएको खुलेको छ । भारतबाट आएका तीन पुरुष र चितवनको भरतपुर अस्पतालबाट आएकी एक महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई गाउँपालिकाको स्वास्थ्य महाशाखाले रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको थियो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले स्वास्थ्य कार्यालय गोरखाले रिपोर्ट नेगेटिभ आयो भन्ने जानकारी दिएकाले घर पठाएको बताए ।

‘स्वास्थ्य कार्यालयले उनीहरुको रिपोर्ट नेगेटिभ आयो भन्नुभयो,’ उनले भने, ‘भेरिफाइ गरेरै भन्नुभएको होला भनेर उनीहरुलाई घर जान भनियो, तर पछि रिपोर्ट पोेजेटिभ भन्ने थाहा भयो ।’

बुधबार भीमसेन थापा गाउँपालिकाको मसेल, बगुवा र अश्राङ र झिंगटेका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जेठ २१ गते भीमसेन थापा गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा बसेका ११ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पटाइएको थियो । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय आउँदा ती सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी पाएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।

भीमसेन थापा गाउँपालिका-६ अश्राङकी संक्रमित महिला भाउजुको उपचार गरेर चितवनबाट यही जेठ ८ गते फर्केकी थिइन् । भाउजुसहित उनी दुवै जना जनशक्ति निमाविको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । तर पालिकाले रिपोर्ट नेगेटिभ आयो भनेपछि वुधबार उनी माइतीमा पुगेर आफ्नो छोरी र अन्य आफन्तजनसँग भेटघाट गरेको स्थानीय बताउँछन् ।

त्यस्तै रिपोर्ट नेगेटिभ आएको खबर सुनेपछि होम क्वारेन्टिनमा बस्दै आएका झिंगटेका एक पुरुषले पनि परिवारका अन्य सदस्यसँग भेटघाट गरे । गाउँ डुल्न समेत निस्किएको स्थानीय बताउँछन् ।

मसेलको कनकामना आधारभूत विद्यालय र बगुवाको एकीकृत मिलन वस्तीको क्वारेन्टिनमा बसेका संक्रमितहरु भने क्वारेन्टिन स्थलबाट बाहिर नगएको स्वास्थ्य शाखा प्रमुख खनाल दावी गर्छन् ।

‘दुई जना क्वारेन्टिनमै हुनुहुन्थ्यो, बाँकी दुई जना चाहिँ निस्कनुभएछ, उहाहरुलाई पनि हामीले पुनः क्वारेन्टिनमा ल्याएर राखिसक्यौं,’ उनले भने । बाहिर निस्केका संक्रमितहरुले भेटघाट गरेका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।

संक्रमितलाइ जिल्ला अस्पताल गोरखाको आइसोलेशन वार्डमा ल्याउने तयारी भइरहेको उनले जानकारी गराए । स्वास्थ्य कार्यालयको लापरवाहीका कारण अहिले सो क्षेत्रका स्थानीयहरु त्रसित छन् । स्वास्थ्य कार्यालयको गैरजिम्मेवारीपनका कारण समस्या भएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ‘नेगेटिभ आयो भनेर उहाँहरुले नै क्वारेन्टिनबाट संक्रमितहरुलाइ डिस्चार्ज गर्नुभएको हो,’ उनले भने ।

स्वास्थ्य कार्यालय प्रमुख बिद्या तामाङ आफूहरुले सबैको रिपोर्ट नेगेटिभ आएको भन्ने कुरा नभनेको दावी गर्छिन् । ‘११ जनामध्ये ७ जनाको नेगेटिभ भनेका थियौं उहाँहरुले के सुन्नुभयो मलाइ थाहा भएन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?