
३० असोज, सप्तरी । वैदेशिक रोजगारीबाट दुई हप्ताअघि घर आएका सप्तरी विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका २५ बर्षीय श्रवण मुखियाको उनकै साथीले हत्या गरेको खुलेको छ ।
२८ बर्षीय सुरेन्द्र यादवले श्रवणको हत्या गरेको गाउँको पञ्चायतीसमक्ष स्वीकार गरेका छन् ।
विदेशबाट घर आएका श्रवण असोज २४ गते शनिबार साथी सुरेन्द्रसँग घुम्न गएका थिए । पछि सुरेन्द्र घर फर्किएपनि उनको साथमा गएका श्रवण फर्किएनन् । श्रवणका परिवार र स्थानीयले धेरै सोधपुछ गर्दा पनि यादवले यसबारे बताएनन् ।
‘यसबारे मलाई केही थाहा छैन भन्दै यादव पन्छिरहे’ स्थानीय जिबछ दासले भने, ‘तर गाउँमा यही बिषयलाई लिएर दुई दिन पञ्चायती नै बसेपछि यादवले हत्या गरेको स्वीकार गरेका छन् ।’
स्थानीयका अनुसार यादव लागूऔषध सेवन गर्ने व्यक्ति हुन् । उनले मुखियाको हत्या गरेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएका छन् ।

पञ्चहरुका सामु यादवले आफू श्रवणलाई लिएर भारत गएको र उताबाट फर्केपछि बाटोमा भनाभन हुँदा कुटपिट गरी हत्या गरेको स्वीकारेका छन् । मुखियाको मोवाइल लिने बिषयमा विवाद हुँदा गत शनिबार राति हत्या गरेर डाक्नेश्वरी नगरपालिकाका–६ औरहीस्थित खडक नदीको खोलामा फालेको बयान दिएका छन् ।
फेला परेन शव
यादवले हत्या गरेर खड्क नदीमा फालेको बताएपछि पछिल्लो तीन दिनयता उनको शवको खोजी भइरहेको छ । शुरुमा स्थानीय आफैंले खोजेपनि फेला पार्न सकेनन् ।
त्यसपछि प्रहरीले पनि खोजी गर्यो । त्यति गर्दा पनि फेला नपर्दा गोताखोरको टोली मगाएर खोजी गरिएपनि फेला पर्न नसकेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।
‘हामी उनको लास अहिले पनि फेला पार्ने कोशिसमा छौं’ धमलाले भने, ‘हत्या गरेको बताउने यादवले भने अनुसारको ठाउँमा खोजी गर्दा पनि फेला पर्न सकेको छैन ।’
उनका अनुसार पछिल्लो तीन दिनयता मुखियाको शवको खोजी गरिएपनि फेला पर्न सकेको छैन् । स्थानीयका अनुसार खडक नदी गहिरो छ ।
परिवार शोकमा
मलेसियाबाट फर्केपछि आफ्नो परिवारसँग भेट्न पनि पाएनन् । माइतमा रहेकी श्रीमती अम्बिका देवी र ३ बर्षीया छोरीसँग भेट समेत गर्न पाएनन् । उनी आएपछि आफैं श्रीमतीलाई लिन जाने मनसाय बनाएको उनका बाबु मनोरथ मुखियाले बताए ।
‘छोरा घर आएपछि नै सुरेन्द्र उनको पछि लागेका थिए’ बाबु मनोरथले भने, ‘छोराले आफ्नो साथमा राखेको ६० हजार बोकेरै सुरेन्द्रसँग गएका थिए ।’
श्रवणको हत्या भएको सुरेन्द्रले बताएपछि उनको परिवारमा रुवाबासी चलेको छ । घरमा चार दिनयता खाना पाकेको छैन ।
जिल्लाका प्रहरी प्रमुख एसपी धमलाले शव फेला नपरेसम्म केही भन्न नसकिने बताए ।
प्रतिक्रिया 4