
१८ मंसिर, चितवन । विश्वकै दुर्लभ एकसिङ्गे गैंडा मार्ने फरार अभियुक्तलाई निकुञ्ज प्रशासनले १५ बर्षपछि बिहीबार दिउँसो पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवनबाट २०६२ साल असारमा गैंडा मारेको अभियाेगमा १५ बर्ष कैद सजाय सुनाइएका साविक गुञ्जनगर गाविस ३ का ३६ वर्षीय सूर्य महताे भनिने सुरज चाैधरीलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लाेकेन्द्र अधिकारीले जानकारी दिए ।
उनलाई पूर्वी चितवनको राप्ती नगरपालिका खुरखुरेबाट पक्राउ गरिएको हाे ।
उनकाे समूहले निकुञ्जको सिसुवार पाेष्ट नजिक गैंडालाई तीन गाेली हानेर मारेकाे थियाे । उनीहरू खाग बेचेर फरार भएका थिए । पक्राउ परेका चाैधरीलाई शुक्रबार प्रहरीमा बुझाएर १५ बर्षकाे सजाय भुक्तानीका लागि कारागार चलान गरिने अधिकारीले बताए ।
पक्राउ परेका चाैधरी नेपाली सेनाका भगाैडा हुन् । गैंडा तस्करकाे समूहले उनलाई सार्पसुटरकाे रूपमा प्रयोग गरेका थिए ।
अदालतले सजाय सुनाए पछि उनी तीनपटक कतार पुगेर तीन ठाउँमा बसाइँ सरेका थिए । गुञ्जनगरबाट उनी बसाइँ सर्दै खुरखुरे गएका थिए ।
प्रतिक्रिया 4