+

सदस्य-सचिव सिलवाल, थापा र संगिना विभूषित

२०७८ वैशाख  १ गते १७:३२ २०७८ वैशाख १ गते १७:३२
सदस्य-सचिव सिलवाल, थापा र संगिना विभूषित

१ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने मानपदवीबाट बुधबार विभूषित भएका छन् ।

खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए ।

सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) शुरु हुन करिब साढे चार महिना मात्र बाँकी थियो । त्यो साढे चार महिनाको अवधिमा १३ औं साग सफल रुपमा सम्पन्न गर्न उनको योगदानको प्रशंसा हुने गरेको छ ।

सिलवालकै कार्यकालमा सागमा पदक विजेता खेलाडीले सरकारबाट पाउने पुरस्कार राशीमा पनि उल्लेख्य वृद्धि गरिएको थियो ।

थापा समारोह विज्ञका रुपमा परिचित छन् । उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह व्यवस्थापनमा मुख्य जिम्मेवारीमा रहेर काम गरेका थिए । मुख्य जिम्मेवारीमै रहेर थापासँग आठौं सागमा पनि समारोह समितिमा काम गरेको अनुभव छ । १३ औं सागमा थापाले समारोह समितिमा सविच र निर्देशकको भूमिका निर्वाह गरेका थिए ।

संगिना छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् । संगिनाले सन् २००४ मा ग्रीसमा भएको २८ औं संस्करणको ओलम्पिकमा छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

सागको दुई संस्करण आठौं र नवौंकी स्वर्णधारी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपको पनि स्वर्ण विजेता हुन् । रियो ओलम्पिक–२०१६ र १३ औं सागमा संगिना प्रशिक्षकको भूमिकामा थिइन् । नेपालले १३ औं सागको तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कास्य जितेको थियो । तेक्वान्दोमा सहभागी २९ खेलाडीमा सबैले पदक जितेका थिए ।

मानपदवी राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय