१८ साउन, काठमाडौं । अञ्जु थापा मगर लाजिम्पाटको ‘थ्रि ब्रदर अपार्टमेन्ट’मा क्लिनरको रुपमा काम गरिरहेकी थिइन् । २९ मंसिर २०७६ मा कोठा नम्बर क्यू १ सफा गर्दा दराजभित्र आकर्षक ज्याकेट देखिन् । विदेशी नागरिक बसिरहेको कोठामा अरु ८ वटा ज्याकेट पनि थिए ।
उनलाई लाग्यो, एउटा लैजाँदा के थाहा होला र ! सुटुक्क एउटा पोका झोलामा हालेर रानीबारीस्थित कोठामा लगिन् । ज्याकेट धनी बोलिभियन नागरिक रोबटो कालोस चाहिँ ज्याकेट हराएपछि आत्तिए, कसैले पिछा गरिरहेको हुनसक्ने आशंकामा होटल लस्ट गार्डेन, लाजिम्पाट सरे ।
ज्याकेट चोरी भएको विषयमा भने उजुर गरेनन् । किनकि, ज्याकेटभित्र करोडौं रुपैयाँ पर्ने कोकिन लुकाएर राखेका थिए ।
०००
अञ्जुले ज्याकेट घरमा राखे पनि लगाएकी थिइनन् । अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र खड्काका अनुसार एक दिन ज्याकेटलाई प्याकेटबाट निकाल्दा गहुंगो लाग्यो । ‘केही भएजस्तो आवाज आएपछि खोलेर हेरिछिन्’ खड्काले सुनाए, ‘भित्र सेतो धुलोको प्याकेट देखेपछि उनले ५/७ दिन घरमा त्यत्तिकै राखेको पाइएको छ ।’
डीएसपी खड्का अनुसार केही दिनपछि अञ्जुले ज्याकेटमा भेटिएको धुलोबारे सोधिखोजी गर्न थालिन् । प्रहरीका अनुसार सुरुमा उनले रानीबारी नै बस्ने मुना तामाङलाई सेतो प्याकेटबारे जानकारी गराएकी थिइन् । उनीमार्फत रक्की आले र सुरोज गुरुङसम्म पुग्यो ।
‘बल्ल उनीहरुले त्यो लागूऔषध हुनसक्ने आशंका गरेछन् र, हो/होइन बुझ्न आले र गुरुङलाई पोखरा पठाएको खुलेको छ’ लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी हृदय थापा भन्छन्, ‘त्यहाँ एक जना गुण्डागर्दीमा संलग्न लागूऔषध प्रयोगकर्ताले नै कोकिन भएको कन्फर्म गरिदिएको पाइएको छ ।’
कोकिन भएको पुष्टि भएपछि आले र गुरुङ ग्राहकको खोजीमा लागको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । ‘सुरुमा भारतीय नागरिक सन्दिप पटेलसँग सम्पर्क गरेर लागूऔषध विक्री गरेको भेटिएको छ’ थापा भन्छन्, ‘मिराज ढकाल र मछिन्द्र धमलामार्फत सुदन शाक्य लगायतलाई कोकिन विक्री गरेको देखिएको छ ।’
त्यसो त अञ्जुले छोरी रयाल थापा मगर, मुना र रक्कीमार्फत पनि कोकिन विक्री गराइरहेकी थिइन् । ‘आएको पैसा सबैले बाँड्ने गरेको देखिएको छ’ थापाले अनलाइनखबरसँग सुनाए, ‘ज्याकेटमा भेटिएको कोकिनलाई लिएर मञ्जुले लागूऔषधको र्याकेट नै चलाएको देखिएको छ ।’

ब्युरोका एसपी जीवन श्रेष्ठका अनुसार उनीहरुले सुरुवातमा प्रतिग्राम ५ हजार रुपैयाँमा कोकिन विक्री गरेका थिए । तर महँगो पर्ने थाहा पाएपछि पछिल्लो समय १८ हजार रुपैयाँमा डिल गरेका थिए । त्यसो त नेपालमा कोकिन २२ देखि ३० हजार रुपैयाँ प्रतिग्राममा विक्री हुने गरेको बताइन्छ ।
०००
एसपी श्रेष्ठका अनुसार साउनको पहिलो साता दुई किलो कोकिन बजारमा रहेको सूचना प्रहरीलाई आएको थियो । त्यही आधारमा ब्युरोका अधिकृतहरु लागूऔषध खरिदकर्ता भएर परिचालित भएका थिए ।
होटल पक्नाजोलमा प्रहरी र कारोबारीबीच लागूऔषध खरिदको डिल पक्का भएको थियो । ब्युरोको टोली ७ साउनमा होटलमा पुग्दा चार जना कारोबारीले ५ सय ग्राम कोकिन देखाएका थिए । उनीहरुसँग कोकिन रहेको भेउ पाउने वित्तिकै ब्युरोका अधिकृतहरुले गोरखाका मुकुन्द खड्का, मन गुरुङ र रेशमबहादुर रानालाई पक्राउ गरे । सँगै रहेका एकराज गुरुङ चाहिँ फरार भए ।
‘गुरुङ मात्र पक्राउ नपरेको भए पनि धेरै कुरा खुल्न गाह्रो हुन्थ्यो’ एसएसपी थापा भन्छन्, ‘तर त्यही दिन साँझ उनलाई टोखाबाट पक्राउ गर्न सफल भयौं ।’ थापाका अनुसार मन गुरुङको कोठामा छापा हान्दा ४ सय ग्राम कोकिन र २ किलो नक्कली सुन पनि भेटियो ।
ब्युरोको टोलीलाई कोकिनको मुख्य कारोबारीसम्म पुग्नु थियो । त्यसैले उनीहरुलाई पक्राउ गरेको सूचनालाई गोप्य राखेर प्रहरीले कोकिन मुख्य कारोबारीको खोजी थाल्यो । मुकुन्दलाई सुरोज गुरुङ भन्ने व्यक्तिले कोकिन दिएको बयानबाट खुलेपछि प्रहरीले प्राविधिक विश्लेषणका आधारमा उनको खोजी सुरु गर्यो ।
अनुसन्धानका क्रममा उनी भागेर चितवन पुगिसकेको देखियो । त्यसपछि डीएसपी खड्का नेतृत्वको टोलीले चितवनको प्रेम वस्तीबाट उनलाई १० साउनमा पक्राउ गरेको एसएसपी थापाले बताए ।
‘गुरुङ पक्राउ परेपछि उनले गैरीगाउँमा लुकाएर राखेको ६८३ ग्राम कोकिन र डिजिटल तराजु पनि बरामद भयो’ थापा भन्छन्, ‘सँगसँगै उनको बयानबाट अञ्जु थापाले उनलाई कोकिन दिएको खुल्यो ।’ ब्युरोको टोलीले मगरलाई सोही दिन रानीबारीबाट पक्राउ गर्दा थप ३२९ ग्राम कोकिन र लागूऔषध विक्रीबाट आएको ७ लाख ५० हजार रुपैयाँ पनि बरामद भयो ।
मगर पक्राउ परेपछि कोकिन कारोबारीको एउटा सञ्जालकै सूचना प्रहरीले हात पार्यो । एसएसपी थापा भन्छन्, ‘सामान्यतया ब्युराले बाहिरबाट आउने सूचनाकै आधारमा कोकिन समात्ने गर्थ्यो, यसपालि चाहिँ आफैंले सूचना डेभ्लोप गरेर ठूलो गिरोहलाई समात्न सफल भयौं ।’
०००
एसपी श्रेष्ठका अनुसार मगरले पक्राउ परेपछि आफू होटलको क्लीनरको रुपमा काम गर्ने गरेको खुलाएकी थिइन् ।
त्यहीँ एउटा कोठाको खाटमुनि कोकिन भेट्टाएको दाबी गरिन् । ‘कसैले त्यति महँगो पर्ने कोकिन किन खाटमुनि राख्छ ?’ श्रेष्ठ भन्छन्, ‘उनको बयान विश्वास नलागेपछि थप केरकार गर्न थाल्यौं ।’ त्यसक्रममा उनले कोठाको दराजमा एउटा ज्याकेटभित्र कोकिन भेट्टाएको खुलाइन् ।
अझै अनुसन्धान अधिकृतले उनलाई पूर्णरुपमा विश्वास गरिसकेका थिएनन् । उनले भनेको अपार्टमेन्टमा गएर त्यहाँ बसेको विदेशी नागरिकको सूची मगाए । त्यसक्रममा नयाँ तथ्य खुल्यो, अञ्जुले भनेको कोठामा कोकिन कारोबारी कालोर्स बसेका थिए ।
उनलाई ब्युरोले ५ पुस २०७६ मा पक्राउ गरेको थियो । उनको साथबाट पनि उस्तै खाले ज्याकेट बरामद भएको थियो । कार्लोसले ब्राजिल–इथोपिया–भारत हुँदै नेपालमा ८ किलो कोकिन ल्याएका थिए । ज्याकेटमा लुकाएर ल्याएको कोकिन उनले बेलारुसी नागरिक एलिना एल्डोस्ना र पाबेल भासिल्यूलाई दिनुपर्ने थियो ।

तर विमानस्थलमा ब्युरोले दुवैलाई पक्राउ गरेर लस्ट गार्डेन होटलसम्म पछ्याएर ६ किलो कोकिनसहित कार्लोस र राहुन जम्ब्रानालाई पनि समातेको थियो । हाल उनीहरु केन्द्रीय कारागार, सुन्धाराको थुनामा छन् ।
ब्युरोले हालसम्म बरामद गरेको मध्ये सबैभन्दा बढी परिणाम कोकिन भेटिएको यो नै पहिलो घटना थियो ।
ब्युरोका पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार महँगो पर्ने भएकाले नेपालमा कोकिनको प्रयोग नगन्य थियो । पेरु, बोलिभिया र कोलम्बियामा उत्पादन हुने कोकिन नेपाल हुँदै विभिन्न मुलुक जाने गरेको थियो । तर पछिल्लो समय स्थानीय लागूऔषध कारोबारीसँग पनि कोकिन बरामद हुनुले नेपालमा पनि यसको प्रयोगकर्ता बढ्दै गएको देखिन्छ ।
‘पहिले चाहिँ ड्रग पार्टीमा भारतबाट ल्याउने गरेको देखिएको थियो’ ठकुरी भन्छन्, ‘अहिले एक खाले प्रयोगकर्ताले जतिसुकै वेला पनि कोकिन प्रयोग गर्न थालेको हुनसक्ने देखिन्छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4